PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर, वार्षिक सात करोडको दूध बिक्री



रासस

अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर, वार्षिक सात करोडको दूध बिक्री

सन्धिखर्क : अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ। यहाँका युवा व्यावसायिक रुपमा गाईभैंसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो।

जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। 

व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ता रहेका छन्। जिल्लामा वार्षिक करिब सात करोड मूल्य बराबरको दूध उत्पादन हुने गरेको छ।

तीमध्ये अधिकांश दूध जिल्लामै खपत हुने गरेको र बाँकी छिमेकी जिल्ला पाल्पा र गुल्मीमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिए। 

जिल्लाका विभिन्न ठाउँमा रहेका दुग्ध संकलन केन्द्रमा दैनिक चार हजार लिटर दूध संकलन हुने गरेको र पशुपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले विभिन्न अनुदान तथा प्राविधिक सेवामा निरन्तर सहयोग गरेको कार्यालयले जनाएको छ।

अर्घाखाचीको किमडाँडा, मेरङ अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिकालगायतका क्षेत्रमा दूध संकलन गरी बिक्री हुँदै आएको छ।

सन्धिखर्कमा मात्रै दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ। मेरेङ अर्घातोषको दूध गुल्मी निर्यात हुन्छ भने पटौटी पणेनाको दूध पाल्पा निर्यात हुन्छ।

सदरमुकाम सन्धिखर्कमा बढी मात्रामा दूध उत्पादन भएपछि यहाँका कृषकले चिलिङ भ्याट (चिस्यान केन्द्र) स्थापना गरेर दूध संकलन गर्न थालेका छन्। 

चिस्यान केन्द्र स्थापना भएपछि यहाँ कृषक खुसी भएका छन्। चिस्थान केन्द्र नहुँदा कृषकले दूध स्टक गरेर राख्न पाएका थिएनन्। अब भने सन्धिखर्कको दूग्ध चिस्यान केन्द्रमा जम्मा गरेर कपिलवस्तु निर्यात हुनथालेको छ। 

पशुसेवा कार्यालयको एक लाख अनुदान र लक्ष्मी गाईपालन तथा दुग्ध उत्पादन बिक्रीवितरण संस्था किमडाँडाको एक लाख गरी दुई लाख रुपैयाँको लागतमा स्थापना भएको चिस्यान केन्द्र पाँच सय लिटर क्षमताको छ। यसमा ७२ घण्टासम्म दूध राख्न सकिन्छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell