PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२४ घण्टामै युटर्न भयो सरकार, स्थगित भयो क्लिन फिड (विज्ञापनरहित) टिभी प्रसारण प्रक्रिया



२४ घण्टामै युटर्न भयो सरकार, स्थगित भयो क्लिन फिड (विज्ञापनरहित) टिभी प्रसारण प्रक्रिया

काठमाडौँ : क्लिन फिड अर्थात् विज्ञापन बिनाको विदेशी टेलिभिजन च्यानल प्रसारण गर्नुपर्ने नियम लागू गर्ने कि नगर्ने भनी दुई पक्षीय बहस भइरहेकै बेला असार २९ गते बिहीबार सरकारी अखबार गोरखापत्रको पहिलो पृष्ठमै सञ्चार मन्त्रालयको एउटा विज्ञापन छापियो।

विज्ञापनमा २०७४ साउन १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने व्यवस्था विज्ञापनरहित नीति, २०७३ मा गरिएकोले.. सो नीति अनुरुप विज्ञापन रहित प्रसारण गर्न भनिएको थियो। 

यो विज्ञापनले सरकार क्लिन फिड नीति लागू गर्न कस्सिएर लागेको देखिएको थियो। सरकारलाई खुट्टा नकमाउन मिडिया सोसाइटी, नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्तिबाट आग्रह गरेको थियो। उता डिटिएच र केबल टिभीहरुको संस्थाले भने यो नीति तत्काल लागू नगर्न माग गरेको थियो। भारतीय टेलिभिजन प्रसारक संघलेसमेत केही दिन अघि क्लिन फिड नेपाललाई दिन नसकिने बताएको थियो। 

तर २४ घण्टा बित्दा नबित्दै शुक्रबार राति सूचना तथा सञ्चार मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना अपडेट गर्दै क्लिन फिड तत्काल लागू नहुने बतायो। सूचनामा यो नीति कहिलेदेखि लागू हुने समेत उल्लेख छैन। 



के हो क्लिन फिड?
अहिले केवल र डिसहोमको माध्यमबाट तपाईँको टेलिभिजन सेटमा दर्जनौं स्वदेशी र विदेशी च्यानल प्रशारण भइरहेका छन्। क्लिन फिड नीति अन्तर्गत यसरी तपाईंको टेलिभिजनमा आइरहेका स्वदेशी च्यानलमा कुनै पनि प्रभाव पर्ने छैन् तर दर्जनौं विदेशी च्यानल (हिन्दी तथा अंग्रेजी) च्यानल भने यसबाट प्रभावित हुनेछन्। 

क्लिन फिड लागू भएको भए साउन १ गतेदेखि विदेशी च्यानल प्रसारण हुँदा त्यसमा कुनै पनि विज्ञापन देखाउन पाइने थिएन। जस्तो तपाईं अहिले भारतबाट प्रसारण हुने सोनी टेलिभिजन हेर्नुहुन्छ भने कार्यक्रमसहित बीचमा आउने विज्ञापन पनि हेर्नुपर्छ तर पूर्ण रुपमा क्लिनफिड लागू भएपछि तपाईंले सोनीमा र बीचबीचमा आउने विज्ञापन नहेरी कार्यक्रम मात्रै हेर्न पाउनुहुन्छ । 
 
 
के त्यो सम्भव हुन्छ?
यो असम्भव भने छैन। जस्तो अहिले डिसहोमबाट प्रसारण हुने एचबिओ च्यानल क्लिन फिडमा छ। अर्थात त्यस च्यानलको कुनै पनि कार्यक्रममा एचबिओले आफ्नो इनहाउस कार्यक्रमको विज्ञापनवाहेक अन्य कमर्सियल विज्ञापन राख्दैन।
 
अहिले सरकारले लागू गर्न लागेको क्लिन फिड पनि त्यही हो। अहिले केवल, डिस होम, आइपिटिभि, एमएमडिएसले विदेशी च्यानलको नेपालमा डाउनलिंक गरेर प्रसारण गर्नका लागि सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्छ। अर्थात भारतको कलर्श च्यानल स्काई केवलमा देखाउने हो भने स्काइ केवलले सञ्चार मन्त्रालयबाट त्यसको डाउनलिंक अनुमति लिनुपर्छ।
 
तर क्लिन फिडको विषय जति सहज देखिन्छ, त्यति सहज भने छैन।
 
कारण के हो?
अहिले भारतबाट प्रसारण हुने मनोरञ्जन, समाचार र खेलकुद सम्वन्धी च्यानलले भारतसँगै  नेपाललाई पनि एउटै बास्केटमा राखेर प्रसारण गरिरहेका छन्। र अहिले त्यो च्यानल विज्ञापनमा आधारित 'रेभेन्यु मोडल'मा सञ्चालित छ। 
 
जब च्यानल क्लिन फिडमा लगिन्छ, त्यतिवेला भारतका यी च्यानलको रेभेन्यु मोडल विज्ञापनबाट सीधा उपभोक्तामा सर्छ।अर्थात अहिले स्टार स्पोर्टस च्यानलले कुनै फूटबल कार्यक्रम प्रसारण गर्छ भने त्यो फूटबल कार्यक्रमको बीचबीचमा प्रसारण गर्ने विज्ञापन उसको आम्दानी हो। त्यो विज्ञापनको रेट तय गर्दा स्टार स्पोर्टसले नेपालका फूटबल दर्शकलाई समेत जोडेर आफ्नो 'भ्युअरसिप रिच' तय गर्छ। 
 
मल्टिनेशनल कम्पनी जसका उपभोक्ता नेपालमा पनि छन्, उनीहरुले त्यसका लागि नेपालका समेत दर्शकलाई जोडेर विज्ञापनको अधिक मूल्य चुकाउँछ। नेपालीले त्यो विज्ञापन हेरिदिएवापत स्टार स्पोर्टसले नेपालमा च्यानल वितरण गर्ने डिटिएच, केवल लगायतलाई आफ्नो च्यानल सस्तोमा उपलब्ध गराउँछ।
 
जस्तो भारतबाट प्रसारण हुने अधिकांश समाचार च्यानल यही कारण नेपाली केवल अपरेटर तथा डिटिएचले सित्तैमा डाउनलिंक गर्न पाउँछन् भने स्पोर्टस च्यानल र मनोरञ्जन च्यानलहरु कलर्श, सोनी, जी लगायतका च्यानल पेड भए पनि न्यून मूल्यमा उनीहरुले केवल र डिटिएचका सञ्चालकलाई उपलब्ध गराउँछन्।
 
यही कारण अहिले डिटिएचअन्तर्गत डिसहोमका ग्राहकले साढे दुई सय रुपैयाँदेखि प्याकेज पाउँछन्। झण्डै सयभन्दा बढी च्यानलसहित २० वटाभन्दा बढी एचडी च्यानल डिसहोमले सात सय रुपैयाँको प्याकेजमा उपलब्ध गराउँछ।यसरी विज्ञापनबाट सब्सिडाइज भएका च्यानलहरु यदी क्लिन फिडमा हेर्नु पर्यो भने त्यसको सिधा लागत च्यानल कम्पनीले उपभोक्ताबाट उठाउँछन्। च्यानल स्थापना तथा सञ्चालनको लागत हुन्छ, यदी त्यो लागत विज्ञापनबाट सब्सिडाइज गर्न सकिन्न भने त्यो सिधा उपभोक्तामा सार्नुपर्ने हुन्छ। 
 
यसको अर्थ अहिले केवल र डिटिएचलाई मासिक थौरै रकम तिरे पुग्थ्यो भने क्लिन फिडबाट हेर्दा उपभोक्ताले अहिले हेरेका च्यानल नै हेर्नका लागि कम्तीमा तीन गुणा बढी रकम तिर्नुपर्छ। त्यसबाहेक भारतबाट प्रसारण हुने केही च्यानलसँग मात्रै क्लिन फिडमा च्यानल उपलब्ध छन् धेरै च्यानल क्लिन फिडमा छैनन्, त्यसको अर्थ क्लिन फिडमा नभएका च्यानल हेर्नबाट नेपाली उपभोक्ता बञ्चित हुनुपर्छ। 
 
च्यानल सञ्चालकहरुको संस्था इन्डियन ब्रोडकास्टिङ फाउण्डेशन(आइबिएफ)ले प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि क्लिन फिड च्यानल दिन नसकिने स्पष्ट पारेको छ। जी, स्टार, कलर्श, सोनी जस्ता च्यानल सञ्चालन गर्ने कम्पनीहरुको छाता संगठन आइबिएफले नेपालको सानो बजार, च्यानलका लागि औषत प्रतिव्यक्ति आम्दानी(एआरपियु), उपभोक्ताको खर्च गर्ने क्षमतालाई हेर्ने हो भने क्लिन फिडबाट नेपालमा कुनै व्यापारिक सेन्स नहुने दावी गरेको छ।
 
कसलाई के फाइदा?
क्लिन फिडको मार केवल र डिटिएचका उपभोक्तालाई पर्ने छ भने त्यसको सिधा लाभ भने नेपालका मिडिया र विज्ञापन एजेन्सीलाई हुनेछ। अहिले कतिपय बहुराष्ट्रिय कम्पनीले भारतीय च्यानलमा गरेकै विज्ञापनका भरमा नेपालमा विज्ञापन गरेका हुँदैनन्। 
 
क्लिन फिड लागू भएपछि त्यसरी गरिने विज्ञापन सीधा नेपालमा गर्नुपर्ने हुनसक्छ। त्यहाँबाट नेपाली मिडिया र एजेन्सीले लाभ उठाउन सक्छन्। यसले नेपालको विज्ञापनको बजार ठूलो आकारमा बढ्ने सम्भावना रहन्छ। विज्ञापनको बजार बढ्दा त्यसको सिधा लाभ विज्ञापन एजेन्सीले पाउनेछन्।
 
सीधा असर केवल र डिसहोमलाई
क्लिन फिडमार्फत केवल र डिटिएचमा भारतीय च्यानलको सहज प्रवेशलाई नेपालले रोके पनि भारतीय डिटिएचलाई भने नेपालले रोक्न असम्भव जस्तै छ। नेपालको केवल र डिटिएचको तुलानामा धेरै च्यानल कम मूल्यमा दिंदा अहिले पनि नेपालभर भारतीय डिटिएचका दुई लाखभन्दा बढी ग्राहक छन्। 
 

क्लिन फिड लागू गरेपछि अधिक च्यानल र कम मूल्यका लागि थप नेपाली भारतीय डिटिएचतर्फ आकार्षित हुने सम्भावना रहन्छ। यस्तो अवस्थामा नेपालका केवल व्यवसायी र डिटिएच सेवाप्रदायक डिसहोमलाई यसको सिधा असर पर्नेछ।
 
त्यही कारण क्लिन फिड लागू गर्न मिडिया सोसाइटीले दबाब बनाइरहँदा नेपालका केवल र डिटिएच सेवा प्रदायक डिसहोमले साउन १ गतेदेखि कुनै पनि च्यानल प्रसारण गर्न नसकिने जानकारी दिएका थिए। कुनै सहमति नभएको भए साउन १ गतेदेखि विदेशी च्यानल त उपभोक्ताले हेर्न पाउने थिएनन् नै क्लिन फिडका लागि दवाव दिने नेपाली मिडियालाई पनि उनीहरुले आफ्ना सेवाबाट हटाउने चेतावनी दिएका थिए। यसको अर्थ साउन १ गतेदेखि उपभोक्ताको टेलिभिजन स्क्रिन कालो हुने थियो? तर सञ्चार मन्त्रालयले अहिलेलाई कुनै बीचको बाटो खोजेपछि यो सम्भावना टरेको छ। जसरी वैशाख १५ गतेदेखि डिजिटल टिभी अनिवार्य भनी हौवा पिटिएको थियो र त्यो बिनाका केबल टेलिभिजनको प्रसारण पनि जारी थियो, त्यसरी नै क्लिन फिड पनि हौवामा मात्रै सीमित भएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell