PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो मह महोत्सव सुरु



रासस

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो मह महोत्सव सुरु

काठमाडौँ  : महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि दोस्रो मह महोत्सव सुरु भएको छ। महोत्सवको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरे। 

व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन्। महोत्सव अवधिमा झन्डै ५० लाख रुपैयाँ बराबरको महको कारोबार हुने अपेक्षा गरिएको छ। 

नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास भएपनि २० वर्षसम्म प्रयोगशाला स्थापना नहुँदा महको अन्तर्राष्ट्रिय व्यापार गर्न सकिएको थिएन।

 व्यावसायिक किट विकास निर्देशनालयका निर्देशक हरिहर अधिकारीले सरकारले मौरी व्यवसाय विकासका सहयोग पुर्याउन उपकरण खरिदमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालीम मौरी, घार तथा अन्य उपकरणमा अनुदान दिएको जानकारी दिए।

एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ। वार्षिक दुई अर्बको मह निर्यात र १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उल्लेख छ। 

मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उल्लेख छ। सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषण गरेको छ। 

नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गर्छ। विश्वमा ८० जातका माहुरी छन्। विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ। त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ। 

सबैभन्दा महंगो मह भिरमौरीको हो। जुन प्रतिकेजी दुई हजार ५०० देखि तीन हजारमा र केरेनाको ७०० देखि एक हजार र मेलिफेराको ४०० देखि ५०० सम्ममा बिक्री हुँदै आएको छ। 

विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो। त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन्। नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ।

नेपालीको औसत प्रतिव्यक्ति ५० ग्राम मह खाने आदत छ। यद्यपि प्रत्येक नेपालीले दैनिक ७५ ग्राम मह खाने हो भने हाल उत्पादन भइरहेको महले धान्न सक्दैन। महोत्सव असार २९ गतेसम्म सञ्चालन हुनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell