PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सहिदलाई पत्र - ह्याप्पी बर्थ डे निर्गुण !



सहिदलाई पत्र - ह्याप्पी बर्थ डे निर्गुण !

  • बिकिल स्थापित -
चार दिन पछि बैङ्कक जाँदै थियौ तिमी। डलर साट्न नयाँ सडक गयौ अनि सायद त्यहीँ तिमीले आउँदै गरेको प्रजातन्त्र देख्यौ। हैन भने किन राम्रो पाइन्ट लगाएर चिटिक्क भई आन्दोलनमा होम्मिन्थ्यौ? त्यो पाइन्ट जुन तिमीले भोजभतेरमा मात्रै लगाउँथ्यौ, त्यसको सुट त कति वर्षसम्म आमाले साँचेर राख्नुभएको थियो। तिमी फर्किने आश तिमीले छोडेर गएको हप्तौंसम्म पनि छिनछिनको बेहोशीबाट उठ्नु भएपछि आमाले गरिराख्नु हुन्थ्यो।

हजुरआमाको श्राद्धको लागि घरमा तयारी चलेको थियो। भ्याइनभ्याइ हुने नै भयो। आमाले तिमीलाई एक्लै नजानको लागि कति कर गर्नुभयो कति। जाने भए सँगै जाउँ भनेर नि भन्नुभयो। अहँ! कुरा सुनेको–नसुनेको झैँ गरी तिमी एक्लै घरबाट निस्कियौ। आन्दोलन चर्किंदै गएको ०४६ सालको चैत २४ गतेको दिन थियो। बिहान चिया पिएर गएको तिमी दिनभर आएनौ। दिउँसो ३ बजे तिम्रो खबर आयो। 

“गोली चल्यो रे। निर्गुणलाई गोली लाग्यो भन्ने सुनियो। घरमा छन् कि छैनन्” भनेर सोधे कसैले। रुँदै बाहिर दौडन खोज्नुभएको आमालाई बाटैमा रोकियो। आमा बेहोश हुनुभयो। अर्को दिन तिम्रो अन्त्येष्टि भयो आमाको बेहोशी र कर्फ्यु बीच। 

एउटी आमाले छोरा गुमायो। तर नेपाली समाजले शहिद पायो। तिमी गुमेको पर्सिपल्टै नेपालले पुनः बहुदलीय प्रजातन्त्र पायो। सबैको मुहारमा खुशी स्वाभाविक थियो। तिमीले तिम्रो बलिदानीको लागि ताली पायौ। अझै धेरै माया पायौ। तिम्रो नाममा तिम्रो टोलको सडकको नामाकरण गरियो। छरछिमेकले देख्ने गरी तिम्रो घर बाहिर चौबाटोमा र साथीहरुले देख्ने गरी क्याम्पस प्रांगणमा तिम्रो अर्धकदका दुईवटा सालिक ठड्याइए। तिमीले सम्मान पायौ। यति धेरै सम्मान पायौ कि तिमीलाई पहिले तिम्रो बाजेको नामसँग जोडेर चिन्थे भने आजभोलि तिम्रो बाजेलाई तिम्रो नामसँग जोडेर चिन्दछन्।

दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न तिमीले दिएको प्राणको आहुतिको बलमा प्रजातन्त्र आयो। तिमीले न देख्न पायौ न भोग्न। तिमीले झैं नेपाली जनताले पनि खासै प्रजातन्त्रको स्वाद चाख्न पाए भन्ने लाग्दैन। राजसंस्था कै मातहतमा हुर्काउन खोजिएको प्रजातन्त्र पूर्ण थिएन भन्दै एक वर्ष बित्न पाउँदा नपाउँदै जनयुद्ध थाल्ने योजना बुन्न थालियो। २०४८ मा बुनेको योजना २०५२ साल फागुनबाट विकट गाउँघरबाट सुरु भयो। दश वर्ष चलेको सशस्त्र जनयुद्धको बलमा लोकतन्त्र ल्याइयो। प्रजातन्त्रभन्दा अलिक राम्रो। अलि धेरै बलिदानीले भिजेको। त्यसलाई जनयुद्धको अन्त्य पछि गणतन्त्र बनाइयो। अझै दमदार र नयाँ। हजारौं शहिदले सजिएको गणतन्त्रको परीक्षण कालमै छौं हामी। तिमीले ल्याइदिएको प्रजातन्त्र २७ वर्ष पुरानो भइसक्यो। समय कालखण्ड बद्लिए, तन्त्र बद्लिए तर यी तन्त्रहरुको व्याख्या अपव्याख्या गर्ने पात्रहरु भने सदियौं देखि उही नै रहे। जसरी गाउँघरमा मुखियाको अधिनमा गाउँलेका लालपुर्जाहरु हुन्छन्।

निर्गुण, तिमीलाई गोली हान्न आदेश दिनेहरु अझै पनि नेपाली राजनीतिमा सक्रिय नै देखिन्छन्। अझ लोकतान्त्रिक  गणतान्त्रिक आन्दोलन दबाउन सिधासिधा बन्दुक दाब्नेहरु ससम्मान पदकबाट विभूषित भएका छन्। तक्मा दिनेहरु तिनै पात्र हुन् जसले यिनै आन्दोलनहरुको नेतृत्व गरेको दावी गर्छन्। यो सबै देख्न सक्ने हुँदो हो त तिमीलाई पश्चाताप लाग्दो हो तिम्रो मृत्यु। एक तन्त्रबाट अर्को तन्त्रको फड्को मात्र एक शब्दको सट्टा अर्को शब्द चयन जस्तो भएको छ। व्यवस्था बद्लिएको छैन। बद्लिने छाँटकाँट पनि छैन। बद्लिएका फगत यी शब्दहरुको पनि अनेक अर्थ खोजिंदैछन्। हरेक व्यक्तिले अनेक अर्थ लगाउन सक्ने धमिलो खोला बनेको छ गणतन्त्र जहाँ सबै घाटका पानी मिसिन्छन्। 

तिम्रो जन्मदिन आज। ह्याप्पी बर्थडे। बाँचेको हुँदो हो त भेटेरै शुभकामना दिन्थें होला। मेरै छिमेक नारायण दास बाजेका नाति भनेर तिमीलाई चिन्ने थिएँ। टोलको दाजुको स्तरमा हाम्रो देखादेखि हुन्थ्यो होला। तर तिम्रो बलिदानीका कारण नै तिमी चिरपरिचित भएका छौ। तिम्री आमा मैँया स्थापित समाजसेवी भन्दापनि शहिद निर्गुणका आमा भनेर चिन्छु म। तर यतिसम्म पनि चिरपरिचित छैनौ कि तिमीले ल्याइदिएको प्रजातन्त्रले तिमीलाई सदैव सम्झिरहोस्। प्रजातान्त्रिक सेनानीहरु गणतान्त्रिक सेनानीमा स्वघोषित बढुवा भई रहँदा तिमी जस्ता शहिदहरुको सम्झना पनि गरिराख्नु पर्छ भन्ने कसैलाई लागेन। तिम्रो सम्झना चैत २४ गते र असार २५ गते भित्ताको क्यालेण्डरमा सीमित भएको छ। तिम्री ममतामयी आमाले भने आँशु बगाई हरेक दिन सम्झनुहुन्छ तिमीलाई। अझै पनि तिम्रो कुरा चल्दा आमाको मुटु यति जोडले चल्छ कि कुरा मोडिएपछि मात्र शान्त हुन्छन् ती धड्कन। आमालाई आँसुको अनन्त भेल बाहेक तिमीले अरु केही दिएनौ जस्तो लाग्छ। सात महिनामा आमाको कोखबाट यो धर्तीमा आउँदा बाँचुला कि मरुँलाको संघारबाट बचाएर हुर्काएको तिमीले जे दियौ सबै यो मुलुकका लागि दियौ। तिमीले यो मुलुक हाँक्ने कथित पात्रहरुलाई दिएको प्रजातन्त्र र त्यसको जगमा पलाएको गणतन्त्र पनि तिम्रो बाल्यकाल जस्तै जीवन मरणको लुकामारीमा भुलेको छ। भूमण्डलीकरणका कारण घिस्रँदै अघि बढेको अहिलेको शासनले समृद्ध शासनको संज्ञा पाउने पक्कापक्की छ। तर मलाई विश्वास छ तिमीले नयाँ सडकमा देखेको प्रजातन्त्रको सपना यस्तो थिएन। न तिमीले ल्याइदिएको प्रजातन्त्र हुर्केको, बढेको, फलेको, फूलेको हेर्न चाहने तिम्रो आमाको आशा यस्तो थियो। तिमी लोभिएको त्यो प्रजातन्त्र कुनै सदाबहार रुखभन्दा कम थिएन होला। त्यही सालिन रुखको शान्त सितल अजंगको छहारीमा समृद्ध नेपाल हुर्केको सपना देखेका थियौ होला। अनि त हत्तारिएर निरंकुश व्यवस्था ढाल्न कालो झण्डा फर्फराउँदै गोली खान अघि सर्‍यौ।

मेरो चित्त दुखाई तिम्रो बलिदानीमा हुनु हुँदैन थियो। तर यो २७ वर्षे राजनीतिक संक्रमणकालको प्रत्यक्षदर्शीका नाताले मनका काँडा बिजेको
छ। चित्त दुखेको छ। तिम्रो भर्भराउँदो जीवन अनाहक मै तिमीले तिलाञ्जली दियौ कि? भन्ने प्रश्न सोध्न मन लागेको छ। तिमीले देखाएको आशा मरेको छैन। सपना पूरा भएका छैनन्। त्यो सपना पनि टाढा छैन, यो पक्का हो। पूरा गर्न हाम्रै जीवनकालमा युवाहरु फेरि पनि उद्देलित हुनेछन्, यसमा पनि कुनै शंका रहेन। तर बलिदानीको कोटा चुकाउन अघि सर्ने निर्गुण स्थापितहरुको सपनाको बेवास्ता र अनादर नगरियोस् भन्ने चाहेको छु। सबै शहिदका परिवारले चाहने कुरा पनि यहि नै हो।

तिम्रो त्याग निरर्थक थिएन। ती सपनाहरु पुरा हुनेछन्। ह्याप्पी बर्थडे वान्स अगेन।

तिम्रो अपरिचित साथी,
बिकिल


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell