PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टीको होइन, जनताको सिपाही भएकाले एमाले छाडेँ : नेपालगञ्जका निर्वाचित मेयर राणा



आकाश क्षेत्री

 पार्टीको होइन, जनताको सिपाही भएकाले एमाले छाडेँ : नेपालगञ्जका निर्वाचित मेयर राणा

नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका उम्मेद्वार धवल शम्शेर राणाले अन्य ठूला दलका उम्मेदवारलाई ठूलो मतान्तरले हराए। २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जमा मेयर जितेका उनी २०७० सालको संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट कांग्रेस सभापति सुशील कोइरालासँग झिनो अन्तरले हारेका थिए। नेपालगञ्जका नवनिर्वाचित मेयर राणासँग पहिलोपोस्टका आकाश क्षेत्रीले गरेको कुराकानी: 


तपाईँले यतिधेरै मत पाउनुको कारण के होला? 

नेपालगञ्जका जनता अन्य ठाउँका जनता भन्दा धेरै जाने बुझेकै छन्। त्यसैकारण उनीहरुले आफ्नो उपमहानगरपालिकाको लागि एउटा  सक्षम प्रतिनिधि छान्नमा कसैले सिकाइरहनु परेन। मलार्इ आफ्नो उपमहानगरपालिकामा एउटा सक्षम प्रतिनिधि नै मानेर यति धेरै मत दिएको हुनुपर्छ। जनताहरु एउटा असल,  इमान्दार र कर्मव्यनिष्ठ प्रतिनिधिको खोजी गरिरहेका हुन्छन्। मैले नेपालगञ्जका जनता र नेपालगञ्जका जनताले मलार्इँ राम्रोसँग चिनेका छन्। यस ठाउँमा म एक पटक मेयर भएर केही गरिसकेको मान्छे पनि हुँ। सायद यहाँका जनताले मलार्इ यही कारणले यति धेरै मत दिए।   

मेयर पदमा निर्वाचित भएपछि तपाईँका योजना के के हुन्? 

म २०५४ सालमा नेपालगञ्ज नगरपालिकाको मेयर हुँदा केही काम गरेको छु। मलार्इ लाग्छ, अहिलेको नेपालञ्ज उपमहानगरपालिकामा मैले गर्नुपर्ने कामहरु धेरै छन्।  

म यस ठाउँको मेयर भएपछि नेपालगञ्जमा विभिन्न खाले संरचनाहरु निर्माण भएका थिए। रानी तलाउ, महेन्द्र पार्क, वाटर पार्क, न्यू रोड आदि मेरै कार्यकालमा बनेका हुन्। ती संरचनाहरु पहिले जस्ता छैनन्। रानी तलाउ सुकेको छ। वाटर पार्क भैसी आहल बस्ने ताल बनेको छ भने महेन्द्र पार्क पनि अस्तब्यस्त छ। नेपालञ्जलार्इ चिनाउले यस्ता स्थलहरुलार्इ पुनर्निर्माण गर्नु मेरो पहिलो प्रथामिकतामा हुनेछ। 
साथै ढलको अस्तब्यस्तता र वर्षायामको डुवान यहाँको मुख्य समस्याको रुपमा देखा परेको छ। ढल निकासका लागि आवश्यक काम कारबाही पनि मेरो पहिलो काम हुनेछ। 

एमालेबाट मेयर भएको मान्छे राप्रपामा किन लाग्नुभयो? 

त्यसका विभिन्न कारणहरु छन्। एउटा मुख्य कारण भनेको मलार्इ एमालेको क्रियाकलाप मन नपरेरै राप्रपामा लागेको हुँ। मान्छेले पार्टीमा इमान बेचेको हुँदैन। पार्टीबाट केही पाउने होइन। हामी जस्ता मान्छेले पार्टीलार्इ केही दिन्छौं भनेर पार्टीमा लागेका हुन्छौं। 

तत्कालीन एमाले र त्यहाँका नेतासँग चित्त बुझेन। त्यसैबेला राप्रपाका नीति नियम पनि राम्रो लाग्यो। अनि मात्र राप्रपाका प्रवेश गरेको हुँ। फेरि हामी जस्ता ब्यक्ति पार्टीका सिपाही भन्दा पनि जनताका सिपाही हुन्छौं। त्यसैकारण मैले एमाले छोड्नु परेको हो। हामी जनताका सिपाही भएका कारण पनि पार्टीभन्दा जनतालार्इ महत्व दिन्छौं। सायद, त्यसैले हामीलार्इ जनताले मन पराउँछन्। 


त्यसो भए नेपालगञ्जका जनताले तपार्इँलार्इ भोट दिए कि राप्रपालार्इ त?

जनताले भोट दिँदा केही मात्रामा मलार्इँ हेरे भने केही मात्रामा पार्टीलार्इ पनि हेरेको मैले महसुस गरेको छु। मानिसहरुलार्इ लागेको हो - म पहिला पनि मेयर भएको मान्छे, करबलले केही भोट जान्छ भन्थे। तर यत्तिका भोट पाएँ। अर्कोतिर नेपालगञ्ज राप्रपाको राम्रो भोट भएको गढ पनि हो। कुनै बेला राप्रपाले नेपालगञ्जका तीनवटै निर्वाचन क्षेत्र जितेको थियो। त्यसैले मानिसहरुले यस क्षेत्रलार्इ राप्रपाको किल्ला पनि भन्ने गर्दछन्। 

अहिले यति धेरै भोट ल्याउनुभयो, २०७० सालमा संविधानसभाको निर्वाचनमा हार्नुको कारण के जस्तो लाग्छ?  

सबैभन्दा मुख्य कारण त म सुशील कोइराला जस्तो राष्ट्रिय छवी बनाएको नेतासँग चुनाव लडेको थिएँ। ठूला नेतासँग चुनाव लड्नु भनेको हार बेहोरिहाल्नु भने होइन। तर, सुशील कोइरालालार्इ विभिन्न राजनीतिक दल लगायत विदेशी र धनाड्य मानिसले सहयोग गरेका थिए। 
यसरी निर्वाचनमा सबै पार्टी र पावरवाला मानिस एकातिर म मात्र एकातिर भएकै कारण मैले संविधानसभाको चुनाव हारेको थिएँ। 

अन्य ठूला दलले जितेका वडामा पनि तपार्इँको अग्रता देखियो। कसरी?

यो कुराले के प्रस्ट हुन जान्छ भने नेपालगञ्जका जनताले पार्टीलार्इ हेरेर मतदान गरेनन्। यहाँका जनताले आफूलार्इ विश्वास दिलाएको एउटा असल प्रतिनिधिलार्इ मतदान गरेका छन्। त्यसैले सम्पूर्ण नेपालगञ्ज उपमहानगरपालिकाका जनतालार्इ मेरो धन्यवाद छ। मैले ३ महिनाभित्र नेपालगञ्जमा विकासको ढोका खोल्दैछु। नेपालगञ्जलार्इ सुशासन युक्त भ्रष्टाचार रहित र ब्यवस्थित शहर बनाउनेछु। मलार्इ विश्वास गर्नुभएको छ। तपार्इँहरुको विश्वासको कदर गर्दै म नेपालगञ्जलार्इ नमुना शहर बनाउनेछु। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell