PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'सिङ्घम' बनेका हवल्दार भन्छन्- ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ’



सविन ढकाल

'सिङ्घम' बनेका हवल्दार भन्छन्-  ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ’

काठमाडौँ : आगोको मुस्लो बलेको बम आउँदै थियो, भूइँमा खस्न नपाउँदै च्याप्प समातेर सुरक्षित ठाउँमा अर्कोले फ्यालिदियो।

सुन्दा साउथ इन्डियन फिल्मको दृश्य जस्तो लाग्ने यो घटना आज बिहान साढे नौ बजे दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय, प्रतापकोट, अम्बासमा भयो। 

यो मतदान केन्द्रको सुरक्षामा केही दिनदेखि खटिएका थिए प्रहरी हवल्दार दुर्गाबहादुर राना। 

हजारभन्दा बढी मतदाता भएको यो केन्द्रमा बिहानैदेखि मतदाताको भिड थियो।  सुरक्षामा खटिएकै बेला कसैले ढुङगा हानेको जस्तो आवाज उनले सुने। उनी भन्छन्, 'यसो हेरेँ, देखेँ, आगोको मुस्लो बलेको बम। बम पड्किएको भए धेरैको ज्यान जाने जोखिम थियो।' 

ड्युटीमा रहेका राना आफ्नो सुरक्षाका लागि भागेनन्। उनका अनुसार उनी अगाडि बढे र हावामै बम च्याप्प समातेर नजिकैको जंगलतिर हुर्‍याइ दिए। फालेको केही सेकेन्डमा नै बम विस्फोटन भयो।  

‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो। त्यसैले बम समातेर फालेको हुँ’, ड्युटीमा खटिएकै अवस्थामा पहिलोपोस्टसँग फोनमा कुराकानी गर्दै रानाले बताए। 

करिब १६ वर्ष अगाडि प्रहरीमा भर्ना भएका रानाले आउँदो मंसीर महिनामा अवकाश पाउँदैछन्।  'बम समातेर फालेपछि सबैले धन्यवाद र माया दिनुभयो’, उनले भने, ‘एकदमै खुसी लागेको छ।' 

केही वर्षअगाडि बम डिस्पोजलसम्बन्धी तालिम लिएको कारणले पनि बम समातेर फ्याँक्न सकेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell