PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यस्तो देखियो आकाशबाट हेर्दा वाग्मतीमा मानव साङ्लो, हेर्नुस् फोटो र भिडियो



यस्तो देखियो आकाशबाट हेर्दा वाग्मतीमा मानव साङ्लो, हेर्नुस् फोटो र भिडियो

  • उमेश श्रेष्ठ/ऋषिकेश दाहाल-
काठमाडौँ : सुन्दरीजल बजारबाट ३ सय मिटरजति तल एउटा पुल छ। मेलम्ची खानेपानी आयोजनाले बनाएको यही पुलमुनि मुख्यसचिव लीलामणि पौड्याल उपस्थित थिए। वाग्मतीमा मानव साङ्लोको सुरुवात गर्न उनी बिहान सखारै सुन्दरीजल पुगेका हुन्। सभासद रामेश्वर फुयाँल पनि वाग्मतीको किनारामा पुगिसकेका थिए।

उनीहरुले बिहान ७:३० बजे 'हामी वाग्मती नदी सफा गर्छौं। गर्छौं, गर्छौं, गर्छौ' भन्दै मानव साङ्लोको सुरुवात गरे। वाग्मती किनारमा उभिएका मानिसलाई वाग्मतीमा आउन र साङ्लोमा समाहित हुन पौडेललेले आग्रह गरिरहेका थिए।

भिडियो रिपोर्ट हेर्नुस्-


नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीले वाग्मती सफाइ अभियानलाई सघाइरहेको देखिन्थ्यो। राजधानीका विभिन्न ठाउँबाट बस-बसमा मानिसहरु वाग्मती पुगेका थिए। बस व्यवसायीहरुले निःशुल्क बस सेवा पनि सञ्चालन गरिरहेका थिए। तर अचम्म स्थानीयको सहभागिता भने ज्यादै न्यून देखिएको थियो।

मुख्य सचिवले 'हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ?' भन्ने नारा लगाउँदै वाग्मतीको प्रवाहसँगै मानवसाङ्लोमा यस नारालाई प्रवाह गर्न लगाए। त्यसएपछि विस्तारै तलतिर यो नारा सर्दै गयो।

आज वाग्मतीमा पानीको केही बहाव पनि थियो। माथि थुनेर राखिएको पानीको ड्याम खोलिएकाले वाग्मतीमा पानीको भेल बढेको हो।

सुन्दरीजलको पुलबाट सुरु भएको आजको वाग्मती सफाइ अभियानले चोभारसम्मै निरन्तरता पाएको छ। सरकारका सचिवहरु, राजनीतिक दलका नेताहरु सबै यो अभियानमा समाहित भएका थिए। यो सँगै वाग्मती सफाइ महाअभियानको १ सय साता पनि पूरा भएको छ। एक सय साता पूरा हुँदा वाग्मतीको पानीमा शुद्धता त भेटिएको छैन तर वाग्मती सफा गर्नुपर्छ भन्ने चेतना भने स्थापित गरेको छ।

वाग्मती किनारामा रहेका फोहरहरु संकलन गरिएका छन्। ती फोहर हटाउँदामात्रै पनि वाग्मतीको रुप फेरिएजस्तै लाग्छ। तर मुहानैदेखि वाग्मतीमा ढल हाल्ने क्रम भने जारी छ।

वाग्मती सफाइमा आएका एक स्थानीय मुख्य सचिव  पौड्याललाई 'स्रोतमै फोहर छ' भनेर गुनासो गर्दै थिए। 'आज जे कामका लागि आएका छौं त्यही गरौं,' पौड्यालले उनलाई सम्झाउँदै भने, 'यो त सुरुवातमात्र हो। सबैकुरा एकैपटक गर्न सकिने होइन। अहिले जेका लागि आएका हौ त्यही गरौं।' उनको जवाफपछि ती स्थानीय सन्तुष्ट देखिए।

मुख्यसचिवले अभियानको विसर्जन पनि सुन्दरीजलबाटै सुरु गरे। त्यसपछि उनी गोकर्णेश्वर मन्दिरभन्दा ३ सय मिटरजति माथि रहेको उत्तरबाहिनी पुगे। त्यहाँ पनि मानिसहरु साङ्लो बनाएर नदीका दुवैतिर उपस्थित थिए। त्यसपछि गोकर्णको ड्यामबाट मुख्यसचिवले फोहर उठाइरहेका सेना प्रहरी र स्थानीयको सहभागितालाई अवलोकन गरे। वाग्मती किनारै किनार उनी सफाइ अभियान हेर्दै तिलगंगा पुगे। त्यहाँ प्रदुषण नियन्त्रणका लागि बनाइएको मोबाइल एप्लिकेसनको उद्घाटन गर्ने कार्यक्रम थियो।

वाग्मती सफाइ महाअभियानमा सरकारी कर्मचारी अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको थियो। स्थानीय सामाजिक संस्था र क्लबहरु पनि सक्रिय देखिए। अभियानमा सबैभन्दा धेरै भूमिका भने नेपाली सेना र प्रहरीले नै निर्वाह गरेको देखियो।

मुख्य सचिव पौड्यालको अभियानका रुपमा स्थापित भएको वाग्मती सफाइ कार्यक्रम उनको अनुपस्थितिमा के हुन्छ अन्यौल नै छ। नीति बनाएर कार्यान्यवयन गराउने र नगरेमा दण्डित गर्नुपर्ने ठाउँमा रहेका पौडेल आफै वाग्मतीको दुर्गन्धमा हेलिएको एक सय साता पूरा भयो। तर यसले एउटा जटिल प्रश्न उठाएको छ : उनी पदमा नरहँदा पनि के सरकारी कर्मचारी, सेना र प्रहरीले यो अभियानलाई यसैगरी निरन्तरता देलान्? 











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell