PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो



रासस

डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

डडेल्धुराः दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ। 

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता दिइराखेका छन्।

दलका नेता तथा कार्यकर्ताले आ–आफ्ना पार्टीका गीत बजाउँदै घर घरमा गई आ–आफ्ना एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छन्। 

उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान महत्वका साथ गरिरहेको नेपाली काँग्रेसबाट अजयमेरु गाउँपालिकाकाका उपाध्यक्ष पदका उम्मेदवार कमला विष्टले बताइन्। 

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा १३ वटा राजनितिक दल दर्ता भएका छन्। तीमध्ये आठ राजनीतिक दलले मात्र चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन्।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला भएकाले पनि कांग्रेसले यहाँका अधिकांश स्थानीय तहमा विजय हासिल गर्ने लक्ष्यका साथ अगाडी बढेको छ भने नेकपा एमाले पनि २०५४ सालको इतिहास दोह¥याउने दाउमा लागि परेका छन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि डडेल्धुरामा पार्टीका उम्मेदवारलाई विजयी बनाउने अभियानमा लागेका छन् भने अन्य साना दलले पनि आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलो अभियानमा व्यस्त रहेको देखिन्छ। 

जिल्लाका ग्रामीण क्षेत्रसम्म सडकको पहुँच भएकाले दल र त्यसका उम्मेदवारले यातायातका सवारी साधनमा आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह र माइकलगाएर प्रचारप्रसार गरिरहेका छन्। लामो समयसम्म विकास हुन नसकेकाले अव विकास गर्नसक्ने सक्षम उम्मेदवारलाई मात्रै मतदान गर्ने अमरगढी नगरपालिकाका मतदाताको भनाइ छ। 

मतपत्र, मतपेटीकालगायत निर्वाचन सामग्रीसहित कर्मचारी आफूलाई खटाइएको मतदानस्थलमा जान सुरु गरेका छन्। आजसम्म सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिए। 

निर्वाचनको मिति नजिकिएसँगै जिल्लाका सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ। सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थललाई विभाजन गरी सोहीअनुसार सुरक्षा निकायलाई परिचालन गरिएकाले ढुक्कसँग मतदान गर्न डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले सबै मतदातामा आग्रह गरे। 

दुई नगपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन्। जसमा निर्वाचन प्रयोजनका लागि ८६९ कर्मचारी खटाइएको छ। ५२ वडा रहेको डडेल्धुरामा २७४ पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनबाट दुई नगर प्रमुख, दुई उप प्रमुख, पाँच गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, ५२ जना वडा अध्यक्ष र दुई सय आठ जना वडा सदस्य निर्वाचित हुनेछन्। 

कुल ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ३८ हजार ५२६ महिला र ३७ हजार २४५ पुरुष मतदाता छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell