काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछाको आँधीको यात्रा शीर्षकको कविता पहिलो भएको छ।
शुक्रबार भएको कार्यक्रममा सहभागी ३२ कविहरुमध्ये भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो र दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तेस्रो भएको हो।
यस्तो छ प्रथम भएको कविता
‘आँधीको यात्रा’
हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु अाँधीको यात्रा … ।
सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।
मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।
म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।
एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।
साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।
जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।
काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।
मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।
आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्याउँदै
एकदिन –
ल्याइपुर्याउनेछ मलाई तिम्रो काखमा ।