PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुग्लिन–नारायणगढ सडकखण्डमा प्रहरी भ्यान पुरियो: दुई प्रहरीको मृत्यु, दुई अझै बेपत्ता



राजेन्द्र आचार्य

मुग्लिन–नारायणगढ सडकखण्डमा प्रहरी भ्यान पुरियो: दुई प्रहरीको मृत्यु, दुई अझै बेपत्ता
तस्बिर : विनोद श्रेष्ठ

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले प्रहरी भ्यान पुर्दा बेपत्ता भएका दुई प्रहरीको शव भेटिएको छ। दुई जना बेपत्ता छन्।  

कालीखोला चारकिलो नजिकै प्रहरीको ना १ झ १३९३ नम्बरको भ्यान पहिरोले पुर्दा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।  

जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको बेपत्ता भएकोले खोजी भइरहेको थापाले जानकारी दिए। पहिरोसँगै खोलामा खसेको प्रहरी भ्यान देखिएको छैन्। भ्यान नदेखिँदा खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ। प्रहरी भ्यानसँगै पहिरोमा एक ट्रक पनि खोलामा खसेको छ। ट्रकको भने केही भाग देखिएको छ। ट्रकका सहयोगीलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । गएराति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक पुरेको थियो ।

राससका अनुसार रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ। सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो ।

सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो ।

घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन्। पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन्।  सडक खण्डमा विभिन्न ठाउँहरुमा पनि पहिरो खसेकोले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। गाडीको जाम भरतपुरसम्म पुगेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell