PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

क्‍यानाडाको लोभ देखाएर सशस्त्र प्रहरीलाई समेत यसरी ठग्न भ्याए एन्फाका पूर्व महासचिवले



सविन ढकाल

क्‍यानाडाको लोभ देखाएर सशस्त्र प्रहरीलाई समेत यसरी ठग्न भ्याए एन्फाका पूर्व महासचिवले

काठमाडौँ : ‘अहिलेलाई साढे दुई लाख रुपैयाँ बुझाउनू, तपाईँहरु क्यानाडा जाने पक्का’, अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाही भन्दै थिए, ‘हामी खेलाडी बनाएर तपाईँहरुलाई क्यानाडा पुर्‍याउँछौँ। १० दिन फुटबल खेल्नु, त्यसपछि उतै बस्ने व्यवस्था मिलाइ हाल्छौँ। 

आइस हक्की संघका अध्यक्ष समेत रहेका शाहीको आत्मविश्वासपूर्ण भनाई सुनेपछि राजीव ढकाल (नाम परिवर्तन) विश्वस्त भए। 

२०६३ सालमा सशस्त्र प्रहरीको जवानमा भर्ना भएका ढकालको जीवन सुखसाथ नै बितिरहेको थियो। तलब, सुविधा खासै नराम्रो थिएन। थप १० वर्ष प्रहरीमा नै काम गरिरहेका भए उनी पेन्सन पकाएर जीवन बिताइरहेका हुन्थे। अहिले भने पेन्सनको साटो टेन्सन शुरु भइसकेको छ। 

नक्कली खेलाडी बनाएर क्यानाडा लैजाने भन्दै ठगी गरेको आरोपमा शाहीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। ढकाल जस्तै २५ जना युवाको क्यानाडा जाने सपना खरानी मात्र भएन उनीको लगानी पनि बालुवामा पानी झैँ भएको छ। 

राजीवलाई उनको एक जना साथीले काठमाडौंको दरबारमार्गमा रहेको शाहीको स्पोर्टस फर अल नामको कार्यालयमा ल्याएर भेटाइदिएका थिए। उनीसँगै सशस्त्र प्रहरी बलमा कार्यरत अरु तीन जना साथीहरु पनि क्यानडा जाने आशमा शाहीलाई भेट्न पुगेका थिए। 

उनीहरुले शाहीले भने अनुसार साढे २ लाख रुपैयाँ उनको बैँक खातामा जम्मा गरिदिए। 

राजीव भन्छन्, ‘उनले बाँकी १० लाख रुपैयाँ क्यानडा गएर तिर्नुहोला भनेका थिए।‘  

शाहीले उनीहरुलाई विश्वास दिलाउन यसअघि धेरैलाई अमेरिका र क्यानडा पठाएको भन्दै फोटो देखाउने गर्थे। ‘हामी त्यही हेरेर विश्वस्त थियौँ’, उनले सुनाए। 

‘क्यानाडाको टोरन्टोमा मे १५ देखि २५ सम्म फुटबल खेल हुन्छ,  तपाईँहरु केही दिन अगाडि नै पुग्नुपर्छ, सबै प्रकृया भइसक्न लाग्यो’ भनेपछि राजीवसहित अन्य तीन जनाले सशस्त्र प्रहरीबाट राजीनामा दिए। 

तर केही दिनमा नै खबर गर्छु भनेका शाही हप्ता दिनसम्म बेपत्ता भए। उनीहरुको मनमा चिसो पस्यो। उनीहरु आफैले सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि उनीहरुलाई आफूहरु ठगिएको महसूस भयो। 

त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए। यता प्रहरी शाहीको खोजी गरिरहेको थियो, उता यी भूपू सशस्त्र प्रहरीहरु पनि आफ्नै हिसाबले शाहीको ‘सर्च’ गरिरहेका थिए।   

बिहीबार बिहान शाही धापासीको चिरायु रेस्टुरेन्टमा भएको खबर उनीहरुले पाए।  

‘त्यसपछि हामीले प्रहरीलाई बोलाएर पक्राउ गराएका हौँ’, पीडित ढकाल भन्छन्, ‘खाइपाइ आएको जागिर पनि गयो। क्यानाडा पनि पुगिएन। घर न घाटकै भइयो।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell