PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भलिबल खेलाडी प्रतिभा र प्रशिक्षक कुमार राईलाई शेरबहादुर खड्का खेलकुद अवार्ड



पहिलोपोस्ट

भलिबल खेलाडी प्रतिभा र प्रशिक्षक कुमार राईलाई शेरबहादुर खड्का खेलकुद अवार्ड

काठमाडौं : राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यू डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई 'शेरबहादुर खड्का स्मृति खेलकुद अवार्ड' बाट सम्मानित भएका छन्।

राष्ट्रिय टोलीकी प्रमुख स्पाईकर माली र रार्ईलाई बुधबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो। न्यू डायमण्ड अध्ययन गर्ने माली र राई गुरु चेली हुन्।

घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएकी प्रतिभाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को हालै सार्वजनिक नतिजामा ३.५ जीपीए अर्थात ग्रेड ए ल्याएकी छिन्। खेलकुदसँगै पढाइमा पनि अब्बल नतिजा ल्याएककी प्रतिभा मालीलाई नगद ५० हजारसहित सम्मान गरियो।

यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका राई नगद २५ हजार रुपैयाँबाट सम्मानित भए। उनलाई शैक्षिक क्षेत्रलगायत महिला भलिबलको विकास र विस्तारका साथै खेलाडी उत्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

प्तिष्ठानका अध्यक्ष रञ्जन खड्काले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाईलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरेको बताए। यसैगरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका राईले महिला भलिबलको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरेको बताए।

राष्ट्रिय खेलाडी माली र प्रशिक्षक राईलाई बहुराष्ट्रिय कम्पनी कन्साई निरोल्याक पेन्ट (केएनपी) जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सिता खड्कालगायतले सम्मान गरे।

कार्यक्रममा राष्ट्रिय खेलाडी मालीले खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रण गरिन्। यस्तै प्रशिक्षक राईले आफू बाचुञ्जेल प्रतिभावान खेलाडी उत्पादनमा लागिरहने प्रतिवद्धता जनाए। उनले विद्यालयदेखि नै भलिबल खेलको विकास र विस्तारका लागि कर्पोरेट हाउसले सहयोग गर्नुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell