PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रञ्जु झै राजनीतिमा शिवकुमारीको 'डेब्यु' 



सविन ढकाल

रञ्जु झै राजनीतिमा शिवकुमारीको 'डेब्यु' 

काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकमा मेयरको उम्मेद्वारी दिएकी रञ्जु दर्शना निकै चर्चामा रहिन। उनको २१ वर्षे उमेर र मेयर पदमा उम्मेदवारीले उनलाई एकाएक समाजमा सेलिब्रिटी नै बनाइदियो। चर्चित राजनीतिज्ञभन्दा कम सेलिब्रेटी रोलामा रहिनन् उनी। चर्चाअनुसार उनले मत पनि ल्याइन् तर मेयरको कुर्सी भने टाढै रह्यो। उनी मत परिणाममा तेस्रो पोजिसनमा सीमित भइन्।  

मनोनयन दर्ता अगाडिदेखि नै पश्चिम तराईमा रञ्जु जस्तै चर्चामा छिन् शिवकुमारी थारु। उनलाई 'तराईकी रञ्जु' समेत भन्ने गरेका छन्। राजधानीभन्दा दुर दराजमा रहेकाले उनी रञ्जुजति मिडियाको नजरमा भने परेकी छैनन्।  

तर, निर्वाचन मिति नजिकिएसँगै उनको समुदायमा चर्चा चुलिँदो छ। कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयरकी उम्मेद्वार हुन् शिवकुमारी। उमेरले २३ वर्षमात्र। सम्भवत कान्छी उपमेयर उम्मेद्वार हुन् यिनी। २३ वर्षीय भए पनि धेरैले उनलाई रञ्जु सगै दाँजेर २१ वर्षीया भन्ने रहेछन्। 

पहिलोपोस्टसँगको कुराकानीको सुरुमा नै उनले प्रस्ट पारिन्, 'म २१ वर्षकी हैन है २३ वर्ष टेकेको छु है।' 

नेकपा एमालेबाट उपमेयरमा टिकट पाएकी शिवकुमारीको अहिले दैनिकी फेरिएको छ। उम्मेद्वारी दर्ताकै दिनदेखि उनलाई खान समेत फुर्सद छैन। घरदैलो पुगेर भोट माग्न ब्यस्त छिन् यतिखेर। 

'निर्वाचनमा यसरी लागेको छु कि ५ मिनेट पनि समय निकाल्न गाह्रो पर्दो रहेछ,' उनले भनिन्। 

शिवकुमारीको राजनीतिमा डेब्यु हो यसपालाको चुनाव। यसअघि उनी कुनै राजनीतिक दलमा आवद्ध थिइनन्। 

'यो नै मेरो पहिलो हो। यसअघि मैले कुनै राजनितिक दलको सदस्यता लिएको र खुलेर लागेको थिइन,' उनले सुनाइन। 

थारु समुदायमा जन्मेकी शिवकुमारी उपमेयरको टिकट पाउनु अगाडि स्थानीय सरस्वती निमाविमा शिक्षिका थिइन्। तर अहिले उनको बाटो नै फेरिएको छ। अब शिवकुमारी नेतृत्व पदमा पुगेर समाज परिवर्तन गर्ने सोचमा छिन्। 

भन्छिन्, 'थारु समुदायको प्रतिनिधित्व गरेर समाजमा भएका अन्यायहरु हटाउने मेरो प्राथमिकता हो। थारु समुदायभित्र अशिक्षा, बेरोजगारी व्याप्त छ यसलाई हटाउने गरी लाग्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell