PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एसियन कप छनोट : नेपाल र यमनले बाँडे अंक, के भन्छन् प्रशिक्षक?



गोविन्दराज नेपाल

एसियन कप छनोट : नेपाल र यमनले बाँडे अंक, के भन्छन् प्रशिक्षक?

काठमाडौं : सन् २०१९ मा युएइमा आयोजना हुने एएफसी एसियन कपको छनोट चरण अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग बराबरी खेल्दै अंक बाँडेको छ।

मंगलबार घरेलु मैदान हलचोकमा भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका हुन्।

खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि गोलमा परिणत गर्न भने सकेनन्।

बराबरीपछि २ खेलबाट समूह 'एफ'मा यमनले ४ अंक जोडेको छ। समूहको पहिलो खेलमा यमनले ताजिकिस्तानलाई पराजित गरेको थियो। यता पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले पनि अंकको खाता खोलेको छ। नेपालले २ खेलबाट १ अंक जोडेको छ। समूह एफ अन्तर्गत आजै ताजिकिस्तानले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ।

नेपालले यमनसँग अवे म्याच सन् २०१८ को मार्च २७ मा खेल्नेछ। यस्तै नेपालको अर्को खेल ताजिकिस्तानसँग यही वर्ष सेप्टेम्वर ५ मा घरेलु मैदानमा खेल्नेछ।

हलचोकस्थित एपीएफको मैदानमा खेलको चौथो मिनेटमै यमनका अहेमद नविल हाजाइएले डि बक्स बाहिरबाट गरेको सशक्त प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले क्याच गर्दै रोकेका थिए। त्यसको ३ मिनेटपछि नै नेपालले पनि आक्रमण सुरु गर्‍यो। भरत खवासको क्रसमा नवयुग श्रेष्ठले गरेको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो। १२औं मिनेटमा यमनका नविल हजाइएको डि बक्स भित्रको प्रहार किरणले नै बचाए।

यस्तै २७औं मिनेटमा अन्जल बिष्टको कर्नर प्रहारलाई पोष्ट निजकै रहेका नेपालका अनन्त तामाङ, सुजल श्रेष्ठ र भरत खवासले गोलमा परिणत गर्न सकेनन्।

४३ औं मिनेटमा अन्जनकै कर्नरलाई भरतले सहि प्रहार गर्न सकेनन्। नेपालले सुरुवाती १५ मिनेटपछि घरेलु मैदानमा यमन विरुद्ध लगातार आक्रमण बनाए पनि गोल गर्न भने सकेन। ४८औं मिनेटमा सुजलको कर्नरमा अनन्तको प्रहार पोष्ट निजकैबाट बाहिरियो। यस्तै ५५औं मिनेटमा यमनका नविल हजाइएको प्रहार पनि पोष्ट नजिकैबाट बाहिरिएको थियो।

६६ औं मिनेटमा भरत खवासले प्रहार गरेको बल डिफ्लेक्स भएपछि त्यसैमा अन्जन बिष्टले गरेको प्रहार यमनका गोलरक्षक अयासले बचाए।

७८औं मिनेटमा रोहित चन्दले डि एरिया बाहिरबाट गरेको प्रहार यमनका डिफेण्डर र गोलरक्षकलाई लाग्दै बाहिरियो।

नेपालका गोलरक्षक किरण चेम्जोङले पनि यमनका खेलाडीहरुको केही प्रहार बिफल पारे। किरण नै खेलको 'म्यान अफ दी म्याच' घोषित भए।

नेपालले यमन विरुद्ध गोल गर्न नसके पनि यसअघिका कप्तान अनिल गुरुङले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै नेपालका लागि ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरे। अनिल नवयुग श्रेष्ठको स्थानमा इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए।

बराबरीपछि नेपालका जापानिज प्रशिक्षक योतुकु कोजीले नतिजाबाट आफू खुशी रहे पनि सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिए। 'यो नराम्रो नतिजा होइन। म खुशी नै छु तर हामीले अवसर पाए पनि सदुपयोग गर्न सकेनौँ।'

उनले यमन नेपालभन्दा बलियो रहेको स्वीकार गर्दै गोल गर्न नसक्नु नै नेपालको समस्या भएको दोहोर्‍याए।

उनले यस वर्ष नेपालले खेलेका सबै खेलहरु गाह्रो भएको र अब हुने ताजिकिस्तान विरुद्धको खेल पनि गाह्रो हुने बताए। 'तर हामी राम्रो खेल्ने प्रयास गर्नेछौँ,' कोजली भने।

नेपाल यमनसँगको खेलको तयारीका लागि भारतसँग एक साता अघि मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसमा २-० ले पराजित भएको नेपालले यमन विरुद्ध केही हदसम्म सुधारिएको खेल खेल्यो। खेल हुनुअघि कोजीले यमनसँग सकेसम्म राम्रो खेल्ने बताएका थिए भने कप्तान विराज महर्जनले जित्नकै लागि खेल्ने र जित्न नसको गोल नखाने बताएका थिए।

नेपालका गोलकिपर किरणले आफ्नो प्रदर्शनबाट खुशी रहेको बताउँदै भारत विरुद्को मैत्रीपूर्ण खेलले यमनसँगको खेलमा धेरै सहयोग पुगेको बताए। 'फिलिपिन्सबिरुद्ध खेल्नुअघि हामीले मैत्रीपूर्ण खेल खेल्न पाएका थिएनौँ। तर यमनसँग खेल्नुअघि भारतसँग खेल्न पायौँ। त्यसबाट हामीले गल्तीहरु सुधार गर्ने अवर पायौँ,' उनले भने, 'एउटा गोलरक्षकको लागि गोल नखानु नै सबैभन्दा ठूलो कुरा हो। मैले नेपालको लागि गोल हुन नदिएर आफ्नो जिम्मेवारी पूरा गरेजस्तो लाग्छ।'

यता ३ अंक जोड्न आएको यमनका इथिपियाली प्रशिक्षक इब्राहिम मेब्रातुले अंक बाँड्नु परे पनि आफूहरु खुशी रहेको बताए।

'हामी १ अंकमा पनि खुशी छौँ। हाम्रो खेलाडीहरुले आज राम्रो खेले तर नेपालको किपरले राम्रो प्रदर्शन गरेका कारण गोल गर्न सकेनौँ।'

उनले अब हुने फिलिपिन्स विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने र यमनको लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए। 'हामी फिलिपिन्स विरुद्ध राम्रो खेल्ने प्रयास गर्नेछौँ। अझै पनि छनोट हुने हाम्रो सम्भावना कायम छऽ' यमनी कोच मेब्रातुले भने, 'हाम्रो लक्ष्य भनेको यमनको इतिहासमा पहिलो पटक एसियन कपमा छनोट हुनु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell