PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

संसदमा शीर्ष तीन नेताको घोचपेचका ६ रोचक प्रसंग



मनोज सत्याल

संसदमा शीर्ष तीन नेताको घोचपेचका ६ रोचक प्रसंग

काठमाडौँ :  संसदको मंगलबार दुई बैठक बस्यो। पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवा र विपक्षी नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे। नेतात्रयबीच वाकयुद्ध नै चल्यो। दोश्रो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढ्यो। र कांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मतका साथ प्रधानमन्त्री निर्वाचित भए। संसदको पहिलो बैठक नेतात्रयको घोचपेचले निकै रोचक बन्यो। के भएको थियो त बैठकमा?
 

देउवा र प्रचण्डको टिपोट

संसदको बैठकमा सबैभन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरे। लगत्तै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले टिपोट सुरु गरे। ओलीले सम्बोधन गरिरहँदा उनीहरु कहिले गम्भीर देखिए त कहिले टिपोटमा जुटे। 
ओलीले प्रचण्डलाई सोधे – किन राजीनामा दिनु भएको? झन्झट लागेर हो कि? नसकेर हो कि? दोश्रो चुनाव गराउन नसकेर हो कि? सहयात्रीले काम गर्न नदिएर हो कि? कि अरु कसैलाई हुन हतार हो?

ओलीले दिएको क्रिकेटको गलत उदाहरण 

ओलीले भरपुरको मतगणनाम देवी ज्ञवालीको अग्रता रहेका बेला मतपत्र च्यात्ने काम भएको उल्लेख गर्दै भारत र श्रीलङ्का बीच भएको खेलको उदाहरण दिए। 

उनले भने – 'एक पटक भारत र श्रीलंकाका बीचमा क्रिकेटको सेमिफाइनल भइराखेको थियो। कोलकाताको इडनवर्ग रंगशालामा। त्यसमा भारतले २५२ रनको लक्ष्य श्रीलंकालाई दियो। श्रीलंकाले ५२ रन पुर्‍याउन पाउँदा नपाउँदा भारतका पक्षबाट आफ्नो रंगशालामा दर्शकले होहल्ला आदिइत्यादी अनेक चिज गरेर खेल हुन दिएन। भारतमा खेल भएको, श्रीलंकालाई डिस्टर्ब गरिएको, खेल्न नदिइएको हुँदा २५२ रनको लक्ष्य छोडेको भारतले हार स्वीकार गरेको र ५२ रनमात्रै भएको श्रीलंकाले जित्छ भन्ने भएर डिस्टर्ब गरेको हुनाले श्रीलंकालाई सेमिफाइनलमा विजयी घोषणा गरियो।'

तर १९९६ को विश्वकप सेमिफाइनलको खेल उनले भने जस्तो भएको थिएन। खेलमा भारतले श्रीलंकालाई २५२ रनको लक्ष्य दिएको हैन श्रीलंकाले पहिला ब्याटिङ गरी २५१ रन बनाएको थियो। श्रीलंकाले ५२ रन बनाउँदा खेल रोकिएको हैन कि भारतले १२० रन बनाउँदा ८ विकेट क्षति भएपछि भारतीय दर्शकको होहल्लाका कारण खेल रोकिएको थियो। 

ओलीको प्रचण्डलाई व्यङ्ग्य - जुँगामा ताउ 

भरतपुरको मतपत्र च्यातिएको विषयमा आफूले देउवासँग सोध्दा थाहै छैन भन्ने जवाफ पाएको ओलीले बताए। ‘उहाँले ‘बुझ्न त पाउन पर्‍यो यार’ भन्नुभयो।‘ कांग्रेस आजकाल धेरै विषयमा बोल्न छाडेको उनले बताए। ओलीले प्रचण्डलाई पनि सोधेको तर कानुन अनुसार हुने जवाफ पाएको बताए।  प्रचण्डले मतपत्र च्यातिएको विषयमा दृषिकोण दिन नसकेको बताए। 

ओलीले आफ्नो सरकारले ल्याएको बजेट र कार्यक्रमका कारण आर्थिक वृद्धिदर भएको दावी गरे। अनि प्रचण्डले त्यसमै जुङ्गामा ताउ लगाएको आरोप लगाए। अनि संसदको रोष्टमबाट जुङ्गामा ताउ लगाएर देखाउँदै प्रचण्ड माथि व्यङ्ग्य गरे।

देउवाको ओलीलाई जवाफ 

कांग्रेस सभापति शेरबहादुर देउवाले भने राष्ट्रियताको सवालमा आफ्नो पार्टीलाई प्रश्न नसोध्न चेतावनी दिए। पार्टीको आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद रहेको उल्लेख गर्दै त्यसमा प्रश्न नगर्न उनले भने,  ‘पाठ पढाउनुपर्ने आवश्यकता छैन।‘

अनि भरतपुरका विषयमा निर्वाचन आयोगको निर्णय मान्ने बताए। अहिले यो विषय अदालतमा रहेकोले अदालतको कार्यक्षेत्रको विषयमा आफूले नबोल्ने उनले भने। 

प्रचण्डको ओलीलाई काउन्टर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सेना समायोजन गरेको, १२ बुँदे हुँदै शान्ति प्रक्रियामा आएको र संविधानसभामा तेश्रो हुँदा समेत स्वीकार गरेको उदाहरण दिँदै भरतपुर घटना केवल अपवाद भएको बताए। अपवादको घटनालाई लिएर कति पटक – कति प्रमाण चाहियो भन्दै प्रश्न गरे। 

‘यही नेतृत्वले सेना समायोजन गर्‍यो। कति प्रमाण चाहियो? भरतपुरको एउटा घटनालाई लिएर लोकतन्त्र प्रतिको आस्थामा प्रश्न उठाउने?’ १२ बुँदेदेखि अहिलेसम्म कति प्रमाण चाहियो? तपाईँहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिकरणमा?’

प्रचण्डले भरतपुरको मतगणनाबारे भित्र-भित्र कुनै खेल नभएको दावी गरे। ओलीलाई जवाफ दिने क्रममा उनले भने – ‘अरु भित्र भित्रै छ भन्नुभयो। केपी जी भन्नुहोस्। तपाँइलाई के लाज। गर्नेलाई हो लाज। यति त भनिहाल्नुभयो अब बाँकी छ भने पनि भन्नुहोस्।‘ 

प्रचण्डले केपी ओली नेतृत्वको सरकारले सबै काम गरेको भन्ने टिप्पणीको समेत प्रतिवाद गरे।  ‘तपाईँले भन्नुभयो। हामीले ठिक पार्दियौँ। अनि जुङ्गामा ताउ। अलिक बढी दम्भ भयो कि?  भन्ने लागेको छ। प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छ भन्ने लागेको छैन। 
अस्ति नै सबै हामीले गरेको हामीले टुटी खोल्यो भन्दिनुभयो। टुटी मात्रै खोलेको हो त? आज यस्तो यस्तो (जुङ्गामा ताउ) लगाएर देखाउनुभयो। म त त्यस्तो गर्न चाहेको छैन।‘  
 

बाबुरामलाई प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्र छाडेका नेता डाक्टर बाबुराम भट्टराई प्रति पनि प्रचण्डले आरोप लगाउन भुलेनन्।  बाबुरामले मतपत्र च्यातिएको विषयमा ट्विटरमा कडा टिप्पणी गर्दै आएका छन्। तर प्रचण्डले दोश्रो संविधासनभामा मतपत्र च्यात्न र जलाउन बाबुराम भट्टराईले निर्देशन गरेको बताए।

‘संविधान दोश्रोमा अनपेक्षित पराजयको चुनाव परिणाम आउँदै गएपछि तत्कालीन पार्टीका वरिष्ठ नेता, अहिले जो माओवादी केन्द्रमा हुनुहुन्न, उहाँहरुले आवेगमा अन्य नेताहरुलाई मतपत्र च्यात, जलाऊ, हामीले यस्ती चुनाव मान्न हुन्न भन्नुभएछ। 

मैले यो बिल्कुल गलत हुन्छ। हामी शान्ति प्रक्रियामा छौँ। मतपत्र च्यातेर निस्क भन्नु लोकतन्त्र र रुपान्तरणमा प्रश्न पूरा विश्वले लगाउँछ भनेर अब मतपत्र च्यात्ने तर्फ लाग्ने होइन भनेर भनेँ। राति ३ बजे।‘ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell