PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२ अर्बको मतदाता शिक्षा : काठमाडौँमै एउटै भोट कामै नलाग्ने गरी बदर हुने मत ३ प्रतिशतभन्दा बढी



२ अर्बको मतदाता शिक्षा : काठमाडौँमै एउटै भोट कामै नलाग्ने गरी बदर हुने मत ३ प्रतिशतभन्दा बढी

काठमाडौँ : निर्वाचन आयोगले २ अर्ब रुपैयाँभन्दा बढी बजेट मतदाता शिक्षाका लागि छुट्याएको भए पनि सबैभन्दा शिक्षित मतदाताको संख्या रहेको ठानिने राजधानीको काठमाडौँ महानगरपालिकामा नै एउटै भोट काम नलाग्ने गरी बदर हुने मत तीन प्रतिशतभन्दा बढी रहेको छ। 

काठमाडौँ महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले सम्पूर्ण रुपमा बदर मतको प्रतिशत ३.१३ रहेको बताए। 

काठमाडौँ महानगरपालिकामा कूल मतदाता संख्या २ लाख ७९ हजार ३०६ भएकोमा १ लाख ९७ हजार २२७ मत खसेको थियो। यसमा पूर्ण रुपमा बदर मत संख्या ६ हजार १८३ रहेको जानकारी उनले दिए।
 
पूर्ण रुपमा बदर मतको अर्थ सात पदका लागि सात भोट दिनुपर्नेमा सातै भोट बदर भएको अवस्था हो। 

कुनै पदका लागि दुई स्थानमा मतसंकेत गरेको भए त्यो पदको मात्र भोट बदर हुने गर्छ। राप्रपा र एमालेको गठबन्धनका कारण एमालेले उपमेयरमा उम्मेदवार उठाएको थिएन। तर मतपत्रमा उपमेयरको लहरमा सूर्य चिह्न पनि थियो। उम्मेदवार नभएको सूर्य चिह्नमा छाप परेका कारण बदर भएका मतको संख्या सम्पूर्ण रुपमा बदर मतको संख्यामा राखिएको छैन।

त्यसैगरी उम्मेदवारी दर्ता गर्नुअघि नै छापिएको मतपत्रमा उम्मेदवार नभएका चिह्न प्रशस्तै थिए। त्यसमा  दिइएका भोट पनि बदर नै हुने हुन्। तर त्यसलाई सम्पूर्ण बदर मतको संख्यामा राखिएको छैन। यसरी आंशिक रुपमा बदर भएको मत र उम्मेदवार नभएको चिह्नमा कति भोट पर्‍यो भन्ने तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छैन। 

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २ अर्बभन्दा बढीको बजेट छुट्याएको भए पनि खर्च गर्न सकेको थिएन। मतगणनाका क्रममा बदर मतको संख्या धेरै भएको भन्दै समाचार आएपछि आयोगले खण्डन निकाल्दा सम्पूर्ण रुपमा मत बदर भएको संख्याको मात्र तथ्याङ्क सार्वजनिक गरी आफ्नो बचाउ गरेको थियो। 
 
कुन कुन अवस्थामा मत बदर हुन्छ त?

•    सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, औठा छाप लगाइ वा तोकिएको छाप बाहेक अन्य चिह्न वा छाप लगाइ मत संकेत गरिएमा।
•    मत संकेत चिह्न नबुझिने गरी लतपचिएको वा च्यातिएको भएमा। 
•    उम्मेद्वारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मतसंकेत गरिएको भएमा। 
•    उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मतसंकेत गरेमा। 
•    निर्वाचित हुने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मतसंकेत गरेमा।
•    एक भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिह्न पर्नेगरी मत संकेत गरिएमा। 
•    मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा।
•    कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएमा। 
•    आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा।
•    मत पेटिका भन्दा बाहिर मतपत्र राखिएमा। 
•    जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell