PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​किन बन्द भयो रिचार्ज कार्डबाट एडिएसएलको महसुल तिर्ने सेवा ?



​किन बन्द भयो रिचार्ज कार्डबाट एडिएसएलको महसुल तिर्ने सेवा ?

काठमाडौँ : नेपाल टेलिकमको एडिएसएल इन्टरनेटका एक लाख २८ हजारभन्दा बढी ग्राहक महसुल तिर्न टेलिकमको काउन्टर वा बैँकमा जान बाध्य छन्। यसअघि उपभोक्ताले रिचार्ज कार्ड र एमपिओएस पिनलेसबाट महसुल तिर्न सक्ने भए पनि साउन ३१ देखि यो सुविधा रोकेको छ।

किन रोकियो त यो सुविधा ?

टेलिकम स्रोतले रिचार्ज सिस्टममा नै खराबी आएपछि टेलिकमले रिचार्ज कार्डबाट महसुल तिर्न सकिने व्यवस्थालाई रोकेको बताएको छ।

'१४१३ डायल गरेर रिचार्ज गर्दा एउटाभन्दा बढी नम्बरमा रिचार्ज हुने समस्या आएको थियो', टेलिकमका एक इन्जिनियरले भने, 'एउटै रिचार्ज कार्डले एडिएसएलको महसुल पनि तिर्न सकिने र मोबाइलमा पनि रिचार्ज गर्न सकिने भएपछि टेलिकमले एडिएसएलको महसुल रिचार्जबाट गर्न नमिल्ने व्यवस्था गरेको हो।'

उनका अनुसार यस्तो कमजोरी टेलिकमले धेरै समयपछि मात्रै थाहा पाएको थियो।

टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले पनि यस्तो समस्या आएको हुनसक्ने बताइन्। उनले भनिन्, 'एडिएसएलको सिस्टम ढिलो हुँदा यस्तो खालको समस्या आएको हुन सक्छ। एडिएसएलमा रिचार्ज गर्‍यो ढिला हुन्छ। त्यही रिचार्ज पिन नं मोबाइलमा गर्दा पनि रिचार्ज हुने समस्या आएको हो।'

टेलिकमले रिचार्ज कार्डबाट एडिएसएल इन्टरनेटको महसुल तिर्न नमिल्ने बनाएपछि उपभोक्ताहरुले अब सम्बन्धित काउन्टर वा बैंकमा नै धाउनु पर्ने भएको छ। 

प्रवक्ता प्रधान भन्छिन्, 'अहिले समस्या आएपछि रिचार्ज र एमपिओएस पिनलेसबाट महसुल तिर्न बन्द गरेका हौँ। सिस्टम अपग्रेडपछि उपभोक्ताले पुरानै तरिकाले महसुल तिर्न सक्छन्।'

इसेवा, हेल्लो पैसा र पेविल जस्ता इलेक्ट्रोनिक माध्यमबाट भुक्तानी गर्दै आएका ग्राहक पनि यसको मारमा परेका छन्।

इसेवाले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै भनेको छ, 'टेलिकममा आएको प्राविधिक समस्याले गर्दा इसेवाबाट एडिएसएलको महिसुल भुक्तानी गर्न असमर्थ छौँ।'

इसेवा, हेल्लो पैसा र पेविलबाट रिचार्ज गर्न मिल्ने नमिल्ने आफूलाई थाहा नभएको प्रवक्ता प्रधानले बताइन्।

उनले भने, 'पिन नं बाट रिचार्ज हुने हो भने भएन तर बैंकिङ सेवाबाट तिर्ने भए सकिन्छ।'

टेलिकमले ६ वर्षअघि सुरु गरेको एडिएसएल इन्टरनेट सेवा सस्तो भएका कारण देशभर लोकप्रिय भएको थियो। तर वैशाख १७, २०६५ देखि सुरु भएको यो सेवाको सिस्टम अपग्रेड हुन नसक्दा धेरै समस्या उपभोक्ताहरुले भोग्नु परिरहेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनामा जारी गरेको एमआइएस प्रतिवेदन अनुसार देशभर एडिएसएलका ग्राहकको संख्या एक लाख २८ हजार २१ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell