PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२४ वर्षमै गाउँपालिका उपाध्यक्ष जितेकी सृजना अधिकार बुझ्न काठमाडौँमा किताब खोज्दै



सविन ढकाल

२४ वर्षमै गाउँपालिका उपाध्यक्ष जितेकी सृजना अधिकार बुझ्न काठमाडौँमा किताब खोज्दै

काठमाडौं : गाउँलेहरुले विजयोत्सव धित मर्ने गरी मनाएकै थिएनन्। गला छोपिनेगरी लगाइएको फूलका माला नओइलिँदै र अनुहारको रङ नपुछिँदै सृजना भने काठमाडौंतिर लागिन्। सृजना अर्थात् पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकी कान्छी उपाध्यक्ष। उमेर २४ वर्ष। पूरा नाम सृजना तामाङ। 

बौद्धमा हामीसँगको भेटमा उनी अझै पनि आफू संविधानले शक्तिशाली बनाएको गाउँपालिकाको उपप्रमुख भए/नभएको पत्याउनै नसकिरहेको बताउँदै थिइन्। तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ वर्षका लागि चुनिइसकेकी छिन् उनी। नेकपा एमालेबाट उम्मेद्वारी दिएकी उनले केही दिनअघि सम्पन्न भएको मतगणनामा २७ सय ८६ मत ल्याइन्। 

चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै गरेकी उनी विजय उत्सव नमनाउँदै काठमाडौं आउनुको हतारो के रहेछ त? हाम्रो पहिलो प्रश्न यही भयो उनलाई। 

गाउँकी उपाध्यक्षले आउँदै गरेको परीक्षाको फर्म भर्न आएको बताइन्। कुरा गर्दै गएपछि खै के भयो कुन्नि! उनले विस्तारै कुरा मोडिन्। 
'चुनाव त जितेँ अब संविधानमा के छ? अधिकार के-के हुन्छ बुझ्नु पर्योत नि, त्यसैले संविधान र कानुनका किताब किन्न आएको,' उनकै मुखबाट 'राज' खुल्यो। 

तर, उनलाई यस्ता किताब कहाँ पाइन्छन् भन्ने पनि थाहा रहेनछ। 'दिनभरि घुम्दा पनि किताब पाइन,' सुनाइन्।

जिम्मेवारी भने ठूलो छ। संविधानले गाउँपालिका उपाध्यक्षलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक बनाएको छ। अर्थात् सजिलो भाषामा भन्दा स्थानीय न्यायपालिकाका 'मुख्य न्यायाधीश' सरहको अधिकार।

तर उनलाई थाहा रहेनछ उनी देशकै कान्छी उपाध्यक्ष। त्यसो त कम उमेरकाले टिकट पाउनु चानचुने कुरा होइन। ठूला दलदेखि साना दलसम्म परिपक्व नभएकाले उम्मेदवार बन्ने अवसर नै पाएनन्। यिनी परिन्, अपवादकी।

सुरुमा त उनलाई पार्टीका नेताले टिकट दिन किन मान्थे। 

'योसित पैसा नि छैन, चुनाव जित्दिन। टिकट किन दिने? कसरी जित्छे? भन्थे,' उनले उमेरमाथिको विभेदको पोल खोलिन्।
उनले टिकट पाउने/नपाउनेमा गाउँमा बहस नै चलेछ। केहीले त टिकट पाउने र नपाउने भन्दै ५० हजार रुपैयाँसम्म बाजी नै थापे। अन्तमा उनले टिकटमात्र पाइनन् जितकै टीको लगाइन्। बाजी थाप्नेहरुले पैसा लिए/लिएनन् उनको चासोको विषय रहेन।

उनी जन्मेर हुर्किँदै गर्दा देशमा माओवादीले सशस्त्र आन्दोलन थालेको थियो। माओवादीको भाषामा त्यो 'जनयुद्ध'ले उनलाई पनि लपेट्न नखोजेको होइन। ७ कक्षा पढ्दा नै उनलाई माओवादीमा लाग्न उक्साउनेहरु धेरै थिए। तर, मानिनन्। पढाइ छाडिनन्। 

२०६७ सालमा गुम्बा गाविसबाट एसएलसी पास गर्ने पहिलो किशोरी बनिन्। उनी त्यहाँबाट एसएलसी पूरा गर्ने किशोरी थिइन् जहाँ महिलाले चुलोचौकोको सीमाबाट बाहिरिनु करिब-करिब असम्भव थियो। राजनीति त टाढाको विषय। हुँदैन र सम्भव पनि छैन भन्ने सोच भएको ठाउँमा उनले जित हात पार्नु फलामको च्युरा चपाउनु भन्दा कष्टकर थियो। 

उम्मेदवार बन्ने उनको चाहनामा परिवार नै साथ थिएन। सृजना भन्छिन्, 'छोरी भएर राजनीति गर्नु हुँदैन। पैसा छैन, टिकट पाए पनि नलिनु भन्नुहुन्थ्यो।' 

साथीभाइले पत्याउने कुरै थिएन। तर, उनले अठोट गरिसकेकी थिइन्। 'जसरी भए पनि चुनावमा भिड्छु। पैसा जुटाउँछु। ५ मतमात्रै बढी ल्याएर भए पनि जित्छु,' भनेपछि पार्टीले पत्याएर टिकट थमायो। 

टिकट पाएपछि उनको कलिलो काँधमा गह्रुँगो भारी थपियो। प्रचारप्रसार, खाजाखर्च, मोटरसाइकलमा पेट्रोल। उनीसामु सोच्दै नसोचेको खर्चको बोझ। 

'मलाई चुनाव जसरी पनि जित्नु थियो। त्यसैले आफ्नो, भाइ र बहिनीको जागिर खाएर जम्मा गरेको ३ लाख रुपैयाँ खर्च गरेँ। धेरैलाई त भेटेर नै मनाएँ। त्यसैले खर्च कम नै थियो,' उनले सुनाइन्। कति सही र कति झुटो बोलिन् उनै जानुन्। 

'१० देखि १२ जना पुरुष कार्यकर्ताको बीचमा म एक्लै रातिराति चुनाव प्रचारमा हिड्थेँ,' भनिन्, 'कोही केटी साथीले पनि मेरो साथ दिएनन् त्यतिखेर।' 

उल्टै विदेशमा भएका साथीले मेरो घर सम्पति छ त के गर्छेस् भन्दै चिढ्याए। तर, चुनाव जितेपछि सबैले फोन गरेर शुभकामना दिएका छन्। उपाध्यक्ष बनेपछि उनको पहिलो योजना अहिलेसम्म सञ्चार नपुगेको गाउँको नेतृत्व गर्ने भएकाले सञ्चार पुर्या्उने छ। उनी भन्छिन्, 'भोलि नै फोनको टावर लग्ने योजना बनाउँदै छु।' 

उमेर जस्तै उनका योजना ठूला छैनन्। गाउँमा शिक्षाको अवसर बढाउने, जलविद्युत आयोजनामा एक घर एक रोजगार बनाउने, सडक बनाउने आदि-आदि। कान्छी गाउँ उपाध्यक्षको योजना कति सृजनात्मक रुपले अघि बढ्छ त्यो सृजना तामाङको कार्यकालले नै मूल्याङ्कन गर्ला।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell