PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यही गतिमा मतगणना हुने हो भने काठमाडौँ महानगरपालिकाको परिणाम आउन दुई महिना लाग्ने



यही गतिमा मतगणना हुने हो भने काठमाडौँ महानगरपालिकाको परिणाम आउन दुई महिना लाग्ने

काठमाडौँ : स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएपछि अहिले देशको ध्यान मतगणनामा छ। देशका चार महानगरमध्ये एक ललितपुर महानगरपालिकामा मध्यरात १२ बजेदेखि नै मतगणना सुरु भएको थियो भने बाँकी तीन महानगर काठमाडौँ, भरतपुर र पोखरा लेखनाथमा आज सुरु भयो।

काठमाडौँको मतगणना सर्वदलीय बैठक बसेर बिहान सबेरै सुरु गर्ने भनिए पनि बैठक बस्न ढिलाइ भयो। वडा नम्बर १ बाट मतगणना सुरु गर्ने भनिएको थियो तर मुचुल्का नभेटिएपछि मतगणना फेरि केही समय ढिला भयो।

मध्याह्न १२ बजिसकेपछि बल्ल मतगणना सुरु भयो।

मतगणना स्थलमा रहेकाहरुले दिएको जानकारी अनुसार एउटा भोट गन्न साढे दुई मिनेटदेखि तीन मिनेटसम्म लागिरहेको छ।

मत गन्ने प्रक्रिया यस्तो छ- मतगणना सुरु गर्न ठीक छ भनिसकेपछि सबैभन्दा पहिला मतपेटिकाको सिल तोडिन्छ र मतपत्र खन्याइन्छ। सदर मत र बदर मत सबैभन्दा पहिला छुट्याइन्छ। मतगणनामा खटेका कर्मचारीले एउटा मतपत्र निकाले उपस्थित दलहरुका प्रतिनिधिलाई देखाउँछन् र मतगणना गर्छन्। उपस्थित प्रतिनिधिलाई मतपत्र छुन भने दिन नहुने प्रावधान छ।

काठमाडौँको मतपत्र सबैभन्दा बढी अर्थात् ६८ वटा लहर भएको मतपत्र हो। हरेक मतपत्रमा सात वटा पदका लागि मत गन्नुपर्ने भएकोले पनि समय लागिरहेको गणनामा रहेका दलहरुका प्रतिनिधिले बताएका छन्। निर्वाचन आयोगले सहसचिवहरु राखेर डेमो मतगणना गर्दासमेत १ देखि डेढ मिनेटसम्म लागेको थियो। काठमाडौँमा वडा नम्बर एकका दुई वटा मतपेटिका खोल्दा पनि एउटा मत गन्न साढे दुई मिनेटदेखि तीन मिनेटसम्म लागेको छ।

यही गतिमा मतगणना जारी रहने हो भने पूरा मतपरिणाम आउन कति समय लाग्ला ?

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकामा कूल मतदाता संख्या २ लाख ७९ हजार ३०५ हो। कूल खसेको मतको तथ्याङ्क भने आयोगले सार्वजनिक गरिसकेको छैन। काठमाडौँ जिल्लामा ‍औसत ७५ प्रतिशत मत खसेको आधारमा गणना गर्दा करिब २ लाख मत खसेको हुनुपर्छ।

यी दुई लाख मत गन्न एउटा मतपत्र गन्न दुई मिनेट लाग्ने हिसाब गर्दा पनि ४ लाख मिनेट लाग्छ। ४ लाख मिनेट भनेको ६ हजार ६ सय ६६ घण्टा हो। ६६६६ घण्टालाई दिनमा २४ घण्टाको हिसाबले कति दिन लाग्ला भनी हिसाब गर्दा निस्कन्छ २७७ दिन।

अर्थात् एउटा मत गन्न दुई मिनेट लाग्ने हो भने पूरै मत गन्न २ सय ७७ दिन लाग्नेछ।

केही गरी मत छिटो गन्न थालियो र एक मिनेट मै सकिने अनुमान गरियो भने पनि पूरै मत गन्न २ लाख मिनेट लाग्ने देखिन्छ। २ लाख मिनेटलाई घण्टामा परिणत गर्दा ३ हजार ३ सय ३३ घण्टा निस्कन्छ जुन १३८ दिन हो।

अर्थात् २४ सै घण्टा गन्ने हो र एउटा मत गन्न एक मिनेटमात्रै लाग्ने हो भने पनि साढे चार महिना अर्थात् असोज महिनामा बल्ल पूर्ण परिणाम आउँछ।

यो एक ठाउँमा मतगणना गर्दाको अवस्था हो। सोमबार काठमाडौँको मतगणनास्थलमा दुई ठाउँमा मतगणना भइरहेको छ।

दुई ठाउँमा मतगणना हुँदा समय आधा कम हुने भएकोले यही हिसाबले ६९ दिन लाग्ने अवस्था छ। अर्थात् दुई ठाउँमा २४ सै घण्टा लगाएर मत गन्ने हो भने पनि दुई महिनापछि अर्थात् साउनमा बल्ल परिणाम आउने अवस्था छ।

मतगणनाको सुस्त गति ललितपुर महानगरपालिकाको मतगणनाले पनि देखाउँछ। ललितपुर महानगरपालिकामा तीन ठाउँमा मतगणना भइरहेको छ।  मध्यरात १२ बजेदेखि मतगणना सुरु भएको थियो। आज मध्याह्न १२ बजेसम्म अर्थात् १२ घण्टामा करिब २ हजार मत मात्रै गणना भएको छ।

मतगणनालाई छिटो सकाउने हो भने जतिसक्दो धेरै ठाउँमा मत गन्नुको विकल्प छैन।

ललितपुरका निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले यही गतिमा मतगणना गर्ने हो भने समय धेरै लाग्ने भन्दै मतगणना गर्ने ठाउँ थप गर्नुपर्ने आज बताएका थिए। अहिले त्यहाँ मतगणना स्थल बढाउने तयारी भइरहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell