PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचनमा मिडियाबारे प्रेस काउन्सिल : रेडियो दल विशेषका, अनलाइन एकपक्षीय, छापा र टिभी विज्ञापनका लोभी



रमेश वाग्ले

निर्वाचनमा मिडियाबारे प्रेस काउन्सिल : रेडियो दल विशेषका, अनलाइन एकपक्षीय, छापा र टिभी विज्ञापनका लोभी

काठमाडौँ : मिडिया अनुगमनको एक मात्र निकाय नेपाल प्रेस काउन्सिल यतिवेला निर्वाचनमा मिडियाको भूमिका अनुगमन गरिरहेको छ। निर्वाचन आयोगसँगको समन्वयमा काउन्सिलले निर्वाचन लक्षित अनुमगन तीव्र पारेको छ।

काउन्सिलले यस बीचमा मिडियाहरुबाट निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता समेत उल्लङ्घन गरेका ९८ घटना फेला पारिसकेको छ। त्यसरी आचारसंहिता उल्लङघन गर्नेमा ३४ वटा पत्रपत्रिकाका ६६ घटना छन्। भने, ५ वटा टेलिभिजन र ५ वटा रेडियोका १२/१२ घटना छन्। १२ अनलाइनलाई काउन्सिलले आचारसंहिता उल्लङ्घनका घटनामा स्पष्टीकरणका लागि पत्राचार गरेको छ।

निर्वाचनका क्रममा टेलिभिजनहरुले नियम विपरित दलका विज्ञापन प्रसारण गरेको, छापा माध्यमले ‘अमुक दलका नेतालाई काखी च्यापेर बाँकीको चरित्र हत्या गर्ने गरेको’ तथा दल विशेषका विज्ञापन मापदण्ड मिचेर छापेको काउन्सिलले पाएको छ। 

अनलाइनहरुले समाचारमा सन्तुलन नगरेको तथा कतिपयले दल विशेषको प्रचारकको भूमिका खेलेको काउन्सिलको निश्कर्ष छ। यस्तै, कतिपय अनलाइनले निर्वाचनका विषयमा दिएका तथ्य भ्रामक पाइएकाले काउन्सिलले त्यस्ता अनलाइनलाई तत्काल ध्यानाकर्षण गराउँदै तथ्य सच्याउन आग्रह गरेको छ। तथ्य नसच्याएको अवस्थामा काउन्सिलले कारवाही सिफारिस गरिरहेको छ।   

‘निर्वाचन आचार संहिता २०७२ ले रेडियो र टेलिभिजनलाई बढीमा ४५ सेकन्ड विज्ञापन बजाउन अनुमति दिएको छ। त्यसरी बजाउने विज्ञापन ’पेड’ हो भनेर देखिने र सुनिने गरी राख्नुपर्ने व्यवस्था छ’, काउन्सिलका उपसचिव रामशरण बजगाईँले भने, ‘तर धेरै छापाहरुले ‘जकेट एड’समेत छापेको पाइएको छ। रेडियो र टेलिभिजनले ४५ सेकन्डको मापदण्ड मिचेर विज्ञापन बजाएको पाइएको छ।’

४५ सेकेन्डको मापदण्ड मिच्नेमा प्रतिष्ठित टेलिभिजन समेत रहेको बजगाईँको भनाई छ।

बजगाईँले धेरै रेडियोहरु दल विशेषको प्रचारमा लागेको, कुनै नेता विशेषको प्रचारकका रुपमा काम गरेको पाइएको तथा साना लगानीका पत्र–पत्रिकाले समाचारको व्यालेन्स नगरेको बताए।

काउन्सिलका अनुसार निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने मिडियामा सबैभन्दा बढी छापामाध्यम रहेका छन्।

आचारसंहिता अनुगमनका लागि पत्रपत्रिकाको बिहान, टेलिभिनको साँझ तथा अनलाइनको चौविसै घण्टाको समय तोकिएको छ।  काउन्सिलले दुई दिनमा आचारसंहिता उल्लङ्घनका ९८ घटनामा कारवाही सिफारिस गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell