PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डबाट श्रीलंका प्रस्थान



पहिलोपोस्ट

राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डबाट श्रीलंका प्रस्थान

थाइल्यान्ड : थाइल्यान्ड र श्रीलंकाको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेकी छन्। 

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन्। 

बुद्धजयन्तीका अवसरमा श्रीलंकाले लागेको संयुक्त राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। वैशाख २९ गते श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलंकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ। 

सन् २००० देखि राष्ट्र संघले बुद्धजयन्तीलाई राष्ट्रसंघीय दिवसका रुपमा मनाउन सुरु गरेको हो। सो दिनलाई थाइल्यान्ड, श्रीलंका, म्यानमारलगायतले दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलंकाले तीन दिनसम्म यससम्बन्धी विशेष सम्मेलन गर्दछ। 

औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नुका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ। 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलंकास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम छ। 

यसअघि राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बिदाइ गरेका थिए। रासस

तस्विर : फाइल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell