PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बिसुराल : रिङमा अरुलाई पछार्छन् तर चुनावी मैदानमा अरुबाट पछारिन्छन्



सविन ढकाल

बिसुराल : रिङमा अरुलाई पछार्छन् तर चुनावी मैदानमा अरुबाट पछारिन्छन्

काठमाडौँ : हिमालयन टाइगर अर्थात् भरतबहादुर बिसुराल। रिङमा उनी अरुलाई पछार्छन्। तर चुनावी मैदानमा भने उनी पटक पटक अरुबाट पछारिएका छन्। 

२०४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना भयो। उनले पनि आम निर्वाचनमा पार्टी खोले, न्वारन गरे- कन्जर्भेटिभ पार्टी। 

लमजुङ क्षेत्र नम्बर १ र २, ललितपुर ३ र काठमाडौं ३ गरी चार ठाउँमा उम्मेद्वारी दिए उनले। त्यतिबेला उनी भरतबहादुर बिसुराल नामले मात्र चिनिन्थे। तर परिणाम आयो चारैतिर पराजय। 

राजनीतिदेखि नै दिक्क लागेपछि उनी उडे अमेरिकातिर। त्यहाँ उनले आफ्नो नयाँ परिचय बनाए- दि हिमालयन टाइगर। रेसलर खेलाडी। 
दोस्रो संविधानसभाको निर्वाचनमा उनी काठमाडौँ १० बाट स्वतन्त्र उम्मेदवार भए। परिणाम- उनी पनि पराजित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि पराजित। 

पराजयमा दुवै समान भए पनि फरक उनले ल्याएको भोट थियो। उनको गितार चिह्नमा भोट परेको थियो जम्मा २८। 

तर पनि उनले हरेश खाएका छैनन्। यस पटक काठमाडौँ महानगरपालिकाका अरु 'हेभिवेट' उम्मेदवारलाई पछार्दै मेयर बन्ने आशामा ठूला दल झैँ उनी पनि प्रचारप्रसारमा हिँडिरहेका छन्। उनको चुनाव चिह्न हो पानीको बोतल। एउटा गाडीमा बोतल झुन्ड्याएर केही कार्यकर्ताको साथ घर-घर पुग्ने गरेका छन् उनी। 

'ठूला भन्ने दलले जनताको भावना र सिद्धान्त अनुसार काम गरेनन्। तिनै पार्टीलाई दवाव दिन मेरो उम्मेद्वारी हो,' त्रिपुरेश्वरको जनक होटलमा चुनाव प्रचार सकाएर पहिलोपोस्टसँगको कुराकानीमा उनले भने। 

ठूला दलका उम्मेद्वारहरु देखाउन र जनता झुकाउन करकापमा हिँडेका छन्, आफू भने मनबाट नै लागेको उनी बताउँछन्। 

उनले भने 'उम्मेद्वारी दिएदेखि घरदैलोमा हिँड्दा खुट्दा नै दुखिसकेको छ। महानगरको कुना-कुना पुगेको छु।' 

खेल जीवनबाट सन्यास लिने मनस्थितिमा पुगेका भरतलाई अमेरिकाबाट फर्केपछि राजनिति गर्ने विचार जाग्यो। शुरुमा उनी नेपाली कांग्रेसको कार्यकर्ता भएर नै राजनीति गर्न चाहन्थे। 

तर पार्टीले वास्ता नगरेपछि उनी स्वतन्त्र उम्मेदवार भए। 

उनी भन्छन् 'मलाई कांग्रेसले नै पत्याएन। टीकासम्म लगाएर कार्यकर्ता बनाएन।' 

२०३३ देखि २०४४ सम्म नेपाली सेनामा काम गरेको बताउने टाइगर मेयर भए महानगरपालिको सडक, संस्कृति, खेलकुद र शिक्षा क्षेत्रमा काम गर्ने बताउँछन्। 'अरुले गर्न नसक्ने झुटा आश्वासन देखाएका छन् म पूरा गर्ने मात्र काम गर्छु,' उनले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell