PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्राचिन कपिलवस्तु, शाक्यमुनी बुद्ध र भारत 



प्राचिन कपिलवस्तु, शाक्यमुनी बुद्ध र भारत 

  • डा. लेखनाथ काफ्ले
शाक्यको उदय  
कोशालाका राजा इक्षवाकुले आफ्नी कान्छी पत्नी जयन्तीका छोरा जन्तुकुमारलाई राजा बनाउन आफ्ना चार छोराहरु र पाँच छोरीहरुलाई राजाधानी साकेताबाट निर्वासित गरिदिए । निर्वासनमा परेका नौजना उत्तर (हिमबत) तिर हिडे र हिड्दै जादा पहाडको फेदमा सालको घना जंगल आयो । त्यहाँ उनीहरुको कपिलमुनीसँग भेट भयो । कपिलमुनी कै सल्लाह र सहयोगमा त्यो क्षेत्रमा उनीहरुले एउटा बस्ती बसाले। साक (साल) को जंगलमा बस्ति बसालेकोले उनीहरुलाई शाक्य भनियो। कपिलमुनीको सहयोग, सल्लाह र हेरचाहमा बसेको बस्ती हुनाले उक्त बस्तीलाई कपिलवस्तु भनियो। पछि उक्त बस्ति फैलिदै गयो र एउटा गणराज्य बन्यो जुन धेरै परसम्म फैलिए पनि शक्तिशाली कोशालाकै एक अंग भै रह्यो।
  
प्राचिन कपिलवस्तु 
आजभन्दा २५६० वर्ष अगाडि राजकुमारका रुपमा सिद्धार्थ जन्मँदा अहिलेको नेपाल वा भारत थिएनन्। त्यसबेला  छिटोछिटो सीमा बदलिने धेरै देश / राज्यहरु थिए। त्यसैबेला कपिलवस्तु पनि शक्तिशाली देश कोशाला अन्तर्गतको एक गणराज्य थियो जसको राजधानी तिलौराकोट थियो भने त्यहाँका राजा शाक्य समुदायका शुद्धोधन थिए। कपिलवस्तु राज्य उत्तरमा हिमालय, दक्षिणमा पभ र कुशीनगर, पूर्वमा रोहिणी नदि र पश्चिममा राप्ती नदी बीच फैलिएको थियो।
 
पूर्वको सीमाना रोहिणी नदिपारि कोशाला अन्तर्गत देबदह राजधानी भएको कोलिय गणराज्य थियो र त्यसका राजा सुप्रबुद्ध थिए । सुप्रबुद्ध राजाका दुई छोरीहरु थिए मायादेवी र प्रजापति। कोलीय र कपिलवस्तुका राजाहरु दुवै सूर्यवंशी भएकोले उनीहरु बीच बिहेको सम्बन्ध थियो। त्यसैले राजा शुद्धोधनका दुवै पत्नी मायादेबी र प्रजापति कोलीय राजकुमारीहरु थिए। कपिलवस्तुका राजकुमार सिद्धार्थको बिहे पनि कोलीय राजकुमारी यसोधरासँग भएको थियो।

कपिलवस्तुको राजधानी तिलौराकोट जहाँ बुद्धले २९ बर्ष बिताएका थिए त्यहाँबाट कोलियको राजधानी देवदह जाने बाटोमा लुम्बिनी नामको एक सुन्दर शाही बगैँचा थियो।

तात्कालिक कपिलवस्तुको राजधानी तिलौराकोट लगायत उक्त राज्यका धेरै भूभाग, कोलियको राजधानी देबदह लगायत उक्त राज्यका धेरै भूभाग र लुम्बिनी आधुनिक नेपालको सीमा भित्र पर्दछन्।
 
राजकुमार सिद्धार्थको जन्म  
फागुन महिनाको पूर्णिमाको रात रानी मायादेवीले अचम्मका सपनाहरु देखिन्। सपनामा एउटा सेतो हात्ती आफ्नो सुँडमा सेतो कमलको फूल लिएर रानी मायादेवीको वरिपरी तीनपटक घुम्यो र दाहिने तिरबाट मायादेवीको शरीरमा पस्यो र विलिन भयो। यत्तिकैमा रानी मायादेवी निद्राबाट जागिन्।
 
भोलिपल्ट राजा सुद्धोधनलाइ आफ्नो सपनाको बारेमा रानी मायादेबीले बताएपछि राजाले सपनाको अर्थ बुझ्न एक विद्धानलाई दरबारमा बोलाए । उक्त विद्धानले भने “देवताले हाम्री रानीलाई एक महान व्यक्तिको जन्मको लागि छानेका छन् । महारानीको कोखबाट जन्मिने ती बालक एक महान व्यक्तिको रुपमा संसारभर चिनिनेछन” । यो खुशीको खबर तुरुन्तै राज्यभर फैलियो। राजा प्रजा सबैमा खुशियाली छायो । गर्भवती भएको १० मैनातिर माइतीमा बच्चा जन्माउनु पर्छ भन्ने त्यतिबेलाको संस्कार अनुसार रानी मायादेवी आफ्नो माइती देबदह जाने विचार गरिन र राजाले पनि सबैकुराको बन्दोबस्त गरि सिंगारिएको पालकीमा राखेर मायादेबीलाई माइती देवदह पठाए।

माइती देवदह जादै गर्दा सालैसालको जंगल, चरा चुरुंगीहरुको मधुर अवाज र सालका फूलहरुको सुगन्धले रानीलाई लुम्बिनी शाही बगैचामा केहि क्षण रोकिन मन लाग्यो । मायादेबी एउटा सालको रुखमुनी आराम गर्दै थिइन् अचानक उनलाई सुत्केरी व्यथा लाग्यो । बैशाख पुर्णिमाको त्यो दिन त्यहि शाही लुम्बिनी बगैचाको सालको रुखमुनि एक बालकको जन्म भयो।
 
बालक जन्मेपछि सात पाइला हिँडे र जहाँजहाँ उनले पाइला राखे त्यहाँत्यहाँ कमलको फूल फुल्यो भन्ने कथाहरु पनि  छन्। 

बालकको जन्म पश्चात रानी मायादेबी माइती देवदह नगएर घर तिलौराकोट फर्किन्। राजा शुद्धोधनलाई बुढेसकालमा सन्तान र राज्यलाई नयाँ राजकुमार प्राप्त भएकोमा राज्यभर खुशी मनाइयो। असितमुनी ऋषि पनि दरबार आएर बालकलाई हेर्दै भने “यो बालक राजाको पनि राजा हुनेछ र आफु यो संसारमा आउनुको उद्देश्य पूर्ण गर्ने छ । त्यसैले यो बालकको नाम सिद्धार्थ होस्” भन्दै नामकरण गरे । सिद्धार्थको अर्थ आफ्नो उद्देश्य पुरा भएको मान्छे (सिद्द = पूर्ण, अर्थ = उद्देश्य) हुन्छ । 

सम्राट अशोक र अशोक स्तम्भहरु 
आफ्नो गद्धिरोहणको आठौँ बर्ष (२६१ बि.सी.) मा कलिंगको महायुद्धको भयंकर नरसंहारमार्फत प्राप्त बिजय पश्चात मौर्य सम्राट अशोक बुद्धका अनुयायी बने । उनलाई कपिलवस्तु राज्यको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको र कपिलवस्तु र कोलिय राज्यहरुमा बुद्धका पबित्र स्थलहरु रहेको छन् भन्ने जानकारी प्राप्त भयो । तत्पश्चात् २४९ बि.सी.मा सम्राट अशोक आफ्ना गुरु उपगुप्त, छोरी चारुमती, भिक्षु र अन्य सहितको ठुलो दल लिएर लुम्बिनी आइपुगे । त्यतिबेला लुम्बिनी एक हराभरा र रमणीय गाउँ थियो । उनले त्यहाँ टुप्पोमा घोडाको आकृति सहितको पत्थरको एउटा स्तम्भ र चारवटा स्तुपाहरुको निर्माण गरे । अनि त्यो स्तम्भमा अशोकले एउटा अभिलेख पनि लेख्न लगाए । उक्त अभिलेख यसप्रकार छ “देबताहरुका प्रिय राजा पियादसी (अशोक) ले आफ्नो राज्यभिषेकको बिशौं वर्षमा बुद्ध जन्मेको यस स्थानको राजकीय भ्रमण गर्नु भै ढुंगाको पर्खाल निर्माण गरि एक पत्थरको स्तम्भ ठड्याउनु भयो जहाँ शक्यमुनी बुद्ध जन्मनुभएको थियो र लुम्बिनी गाउँको कर आठ भाग घटाउनु भयो” । स्तम्भको टुप्पोको घोडाको आकृति पछी चट्यागको कारणले टुट्यो ।

ब्राम्ही लिपिमा लेखिएको अभिलेखमा “हिदा बुद्धे जाते शाक्यमुनिती” अर्थात् “यहाँ शाक्यमुनी बुद्ध जन्मनु भएको थियो” भनेर स्पष्टसंग लेखी बुद्ध जन्मेको स्थानको ढुंगा (Marker stone) र बुद्धको जन्म हुँदा मायादेबी बसेको रुखको पुजा गरी सम्राट अशोकले बुद्ध सम्बन्धित ऐतिहासिक स्थानहरु कपिलवस्तु, रामग्राम र देवदहको समेत भ्रमण गरे । सम्राट अशोकले कपिलवस्तुको निग्लिहवामा कनकमुनी बुद्धको जन्मस्थलमा एक पत्थरको स्तम्भ र गोटीहवामा क्रकुचंद बुद्धको जन्म र र निर्वाण प्राप्त गरेको स्थलमा पनि एक पत्थरको स्तम्भ स्थापना गरे। ती दुवै स्तम्भहरु अहिले पनि एक ढलेको अबस्थामा र अर्को भाँचिएको अवस्थामा ती स्थानमा नै छन्।
          
चिनिया तिर्थयात्रीहरु र बुद्ध स्थलहरु    
चिनिया तिर्थयात्रीहरु शेंङ छाई (Tseng Tsai) (चौथो शताब्दी), फा शेयन ( Fa-Hsien) (पाँचौं शताब्दी) र हिउयन साङ (Hiuen Tsang) (सातौं शताब्दी) बुद्धसंग संबन्धित स्थानहरुको भ्रमण गर्ने क्रममा लुम्बिनीको पनि भ्रमण गरे । तिनीहरुमध्ये हिउयन साङले लुम्बिनीको बिस्तृत विवरण लेखेका छन् । उनीहरुको यात्रा बिबरणमा बुद्धको जन्म हुँदा मायादेबीले बसेको रुखको अंश, एक चैत्य, अशोक स्तम्भ, मायादेबीले स्थान गरेको पुष्करिणी पोखरी, तेलार नदि आदीको बर्णन गरेका छन् । त्यस्तै उनीहरुले लुम्बिनी, कपिलवस्तु, रामग्राम आदिको दुरी, बनोट, अवस्थितिको बारेमा विस्तृत विवरण लेखेका छन् जुन अहिलेको अवस्थासँग ठ्याक्कै मिल्दछ।   

रामग्राम र कोलिय राज्य 
बुद्धको महापरिनिर्वाण पश्चात बुद्धको अस्थिधातु आठ भागमा बाँडेर आठ राज्यले आ-आफ्नो राज्यमा लगेर उक्त अस्थिधातु सहित एक एक स्तुपा निर्माण गरेका थिए। ती आठ राज्यहरु मध्ये कोलियले पनि एक भाग प्राप्त गरेको थियो। उक्त अस्थिधातु कोलियको राजधानी देवदह नजिकै रामग्राममा स्तुपा बनाएर राखियो।
 
मौर्य सम्राट अशोकले आठवटै स्तुपाबाट बुद्धको अस्थिधातु झिकेर आफ्नो विशाल साम्राज्यभर बुद्ध अस्तिधातु सहितका ८४००० साना स्तुपाहरु बनाउने योजना अनुसार सातवटा स्तुपाहरुबाट अस्थिधातु झिकेर आफ्नो साम्राज्यभर स्तुपाहरु पनि बनाए । तर रामग्रामको स्तुपा खोलेर बुद्ध अस्थिधातु झिक्ने कुरा गर्दा त्यहाँका जनता (र नागराज) ले सम्राट अशोकलाई उक्त स्तुपालाई नखोल्न अनुरोध गरे  जसलाई सम्राटले स्वीकार गरे। त्यसै कारणले रामग्रामको स्तुपा संसारमै एक मात्र बुद्धको अस्थिधातु रहेका आठ मध्येको एकमात्र पूर्ण स्तुपा हो।
 
कोलिय राज्यको राजधानी देवदह र रामग्राम अहिलेको नेपालको नवलपरासी जिल्लामा पर्दछन । 

महामाया र प्रजापती गौतमी 
सिद्धार्थकी आमा मायादेवीलाई महामाया पनि भनिन्छ । महामानवको जन्म दिने महान आमालाई “माहा” भन्ने समानित अलंकार उनको सम्मानार्थ पछि थपिएको हो । त्यस्तै छोरा सिद्धार्थलाई जन्म दिएको सातै दिनमा असमायिक निधन भएकी मायादेवी पश्चात् मायादेवी कै बैनी तथा राजा शुद्धोधनकी अर्की पत्नी प्रजापतिले सिद्धार्थको पालनपोषण र रेखदेख गरिन्। उनलाई प्रजापती गौतमी समेत भनिन्छ। गौतमको अर्थ गौ अर्थात् प्रकाश र तम अर्थात् अंध्यारो हुन्छ। अज्ञानको अध्यारोबाट ज्ञानको प्रकाश प्राप्तिको लागि सबै कष्ट सहन तयार भएकी उनलाई “गौतमी” भनिएको हो। महिलाहरुलाई भिक्षुणी बन्न र बुद्धको संघमा प्रवेश गर्न अनुमति नभएको समयमा अनेकन कष्ट सहेर महिलालाई पनि ज्ञान प्राप्तिको बाटो खुलाई पहिलो भिक्षुणी बनेकी प्रजापतिलाई “गौतमी” भनिएको हो । गौतमी उनको थर होइन बरु शुद्धोधन र बुद्धलाई थारु जातीको भनी दाबी गरिएको छ।
 
राजकुमार सिद्धार्थ ज्ञान प्राप्त पश्चात बुद्धत्वको चरणमा पुगेपछि बुद्ध, गौतम बुद्ध. सिद्धार्थ गौतम वा शाक्यमुनी बुद्ध भनिएको हो । यहाँ मुनी पनि सम्मानार्थ राखिएको अलंकार हो, जसरी शास्त्रका ज्ञातालाई ऋषि भनिन्छ त्यसैगरी अन्तर्दर्शन मार्फत आफूलाई आफैले चिन्ने आध्यात्मिक चिन्तन र मनन गर्नेलाई मुनी भनिन्छ । शाक्य समुदायका महान चिन्तक भएकोले उनलाई मुनी भनिएको हो । त्यस्तै उनलाई तथागत पनि भनिन्छ । त्यसको अर्थ आफ्नो लक्ष्यमा पुगिसकेको व्यक्ति भन्ने हुन्छ । 

उनलाई सिद्धार्थ गौतम वा गौतम बुद्ध भन्नु चाही पालनपोषण गर्ने प्रजापती गौतमीको कारणले हो । प्राचिन भारतमा पालनपोषण गर्ने आमाको नाम जोडेर सन्तानको नाम उल्लेख गर्ने गरिन्थ्यो जस्तो कि राधाले पालनपोषण गरेकोले कर्णलाई राधेय कर्ण र यशोधाले पालनपोषण गरेकोले कृष्णलाई यशोदा नन्दन पनि भनिन्छ ।               

आधुनिक लुम्बिनी 
सन् १८९६ मा तात्कालिक पाल्पाका बडाहाकिम खड्ग शमसेर र ब्रिटिश इन्डियाका सर्भेयर डा. एलोइस फुहररले गरेको उत्खननबाट अशोक स्तम्भ र त्यसमा सम्राट अशोक को अभिलेख प्राप्त भएपछि लुम्बिनी आधुनिक विश्वमा चर्चामा आयो । सन् १८९९ मा ब्रिटिश इन्डियाका अर्का पूर्णचन्द्र मुखर्जीले गरेको उत्खननमा बुद्ध जन्मदाको अबस्थालाई देखाइको मुर्ति र बुद्धको जन्म भएको स्थान वरिपरिबाट थप धेरै सामाग्रीहरु प्राप्त भए । सन् १९३० मा केशर समसेरले गराएको व्यापक उत्खननबाट मायादेवी मन्दिर लगायत ठुलो मात्रामा लुम्बिनीका पुरातात्विक सामाग्रीहरु र स्थलहरु सतहमा आए ।        

तात्कालिक संयुक्त राष्ट्रसंघीय महासचिव उ थांतले सन् १९६७ मा लुम्बिनी भ्रमण गरि राजा महेन्द्रसँग लुम्बिनी विकास सम्बन्धि गहन सल्लाह गरे। त्यसै अनुसार सन् १९७० मा संयुक्त राष्ट्रसंघ मातहत १५ सदस्यीय अन्तरराष्ट्रिय लुम्बिनी बिकास समिति बन्यो । । उक्त समितिले बिश्व प्रशिद्ध आर्किटेक्ट जापानी प्रोफेसर केंजो टांगे लाई मास्टर प्लान बनाउन खटायो । अहिले पनि त्यहि मास्टर प्लानलाई नेपाल सरकारको पुरातात्विक बिभाग अन्तर्गत लुम्बिनी विकास कोषले आधार मानेर लुम्बिनीको विकास र योजना बनाउदै आएको छ ।    

लुम्बिनी अर्थात "अति प्रिय” गाउँको नामबाट नै त्यस क्षेत्रको नाम कुमिन्देही, रुमिन्देही हुदै हालको रुपन्देही भै अहिले पुरै जिल्लाको नाम नै रुपन्देही रहेको छ ।  

सम्राट अशोक र नेपाल   
शाक्य गणराज्यका राजा र शाक्यहरुले आफ्नो अत्यन्तै अपमान गरेको भनि कोशलाका राजाले कपिलवस्तुमाथि भिषण आक्रमण गरी शाक्यहरुको आम नरसंहार गरे। त्यसैबेला शाक्य राजा महानामले आत्महत्या गरे। त्यसैसाथ शाक्य राजको अन्त्य भयो। त्यो आक्रमणबाट बाँचेका शाक्य समुदाय तितरबितर भए। तिनै तितरबितर भएमा शाक्यहरु मध्ये कै एक शाक्य कन्या सम्राट अशोककी पहिली पत्नी वेसिदादेवी थिइन्। 
२४९ बि.सी.मा सम्राट अशोक आफ्ना गुरु उपपुप्त, छोरी चारुमती सहितको ठुलो दलबल लिएर लुम्बिनी, तिलौराकोट, निग्लिहवा, गोटिहवा, देबदह र रामग्रामको लगभग एकबर्ष लगाएर भ्रमण गरे । त्यहाँ उनीहरुले किराँत राज्य नेपालको अनेकन चर्चा सुने। ती चर्चाहरु विशेषतः प्राचिन चैत्यहरुको बारेमा थियो । ति चर्चाहरूले उनलाई पनि त्यहाँ जान मन लाग्यो । अनि उनि आफ्नो दलबल सहित २५० बि. सी. मा नेपालराज्य   आइपुगे । उनले स्वम्भु र बौद्धको भ्रमण गरि पुजा गरे । जहाँ गयो त्यहाँ बुद्ध स्तुपा बनाउने उनको रित अनुसार पाटनमा उनले  चारवटा स्तुपाहरु (१. लगन थुरा, दक्षिणी स्तुपा; २. तेता थुरा, पूर्वी स्तुपा; ३. पुचो थुरा, पश्चिमी स्तुपा र ४. इबाही थुरा, उत्तरी स्तुपा) को स्थापना गरे।
 
सम्राट अशोक पुत्री चारुमतीलाई त्यसबेलाको नेपाल उपत्यका एकदम मन परेकोले यतै बस्ने निधो गरिन । उनको क्षेत्रिय कुलका देवपालसंग बिहे भयो । तत्कालिक किराँती राजा स्थुन्कोले उनलाई पशुपती नजिकै ३६०० रोपनी जमिन र उनलाई चाहिने सबैकुराको बन्दोबस्त गरिदिए । चारुमतीले पनि अनेकन बुद्ध चैत्य र बिहारहरुको स्थापना गरिन । उनले आफ्ना पतिको निधन पश्चात एक बिहारको स्थापना गरि भिक्षुणी भै त्यहि बिहारमा बाँकि जीवन बिताइन । त्यो बिहार अहिले पनि चाबहिलमा रहेको चारुमती स्तुपाको नामले अहिले पनि चर्चित छ । चारुमतीले नै आफ्ना पति देबपालको सम्झनामा देवपाटन (अहिलेको चाबहिल) बस्ति पनि बसालिन्।         

बुद्ध र भारत 
बुद्ध भन्ने बित्तिकै भारतको नाम आइनै हाल्छ, बिशेष गरेर बुद्धको जीवनका घटनाहरुसंग जोडिएर ।  त्यो स्वाभाविक पनि हो । बुद्धको जन्मस्थल लुम्बिनी हो र त्यो अहिलेको नेपालमा पर्छ भन्नेमा बुद्ध धर्मका ज्ञाता सबैलाई थाहा छ । तर केहि जनसाधारणमा भने दुबिधा छ, त्यो दुबिधा कहिकतै बुद्धको जन्म प्राचिन भारतमा भएको हो भन्ने गरिएकोले उत्पन्न भएको हो । 

त्यसो हुनुको पछाडि केहि ऐतिहासिक तथ्यहरु छन् । हिन्दु पुराण र अन्य धर्मग्रन्थहरुमा भारत भनेर यसरी भनिएको छ “उत्तरं यत्समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्, वर्षं तद् भारतं नाम भारती यत्र संततिः” । अर्थात् समुद्रबाट उत्तर र हिमालय भन्दा दक्षिणको भूभाग जहाँ राजा भरतका पुस्ताहरुले राज गरे त्यो नै भारत देश (वर्ष) हो । 

त्यस्तै सम्राट अशोकको पालामा पनि कपिलवस्तु गणराज्य अखण्ड भारतबर्ष अर्थात् सम्राट अशोकको साम्राज्य भित्र पर्न गयो । त्यसैले लुम्बिनी गाउँको कर आठ भाग घटाउने आदेश अशोक स्तम्भमा लेखिदिए । मौर्य साम्राज्यको पतन पछि फेरी अखण्ड भारत खण्ड खण्ड भयो । प्राचिन भारतबर्ष टुक्रिने र जोडिने क्रम धेरै समयसम्म चलिरह्यो र अहिलेको सीमामा आइपुग्यो । तर भारतका केहि मान्छेहरु अहिले पनि चलाखीका साथ बुद्ध प्राचिन भारतमा जन्मेका हुन् भनिदिन्छन्। 

लुम्बिनी र भारतको पिप्रहवा 
भारतले नेपालको लुम्बिनी नजिकै अर्को लुम्बिनी बनाउन थाल्यो भनेर पनि चर्चा चल्यो । जतिखेर लुम्बिनीमा बुद्ध जन्मे त्यसबेला प्राचिन भारत अखण्ड थिएन खण्डखण्डमा टुक्रिएको थियो । त्यस्तै धेरै खण्डहरु मध्ये कोशाला देश अन्तर्गतको कपिलवस्तु गणराज्यमा लुम्बिनी बगैचा थियो । कपिलबस्तु राज्यको सीमाना धेरै पर कुशीनगरसम्म फैलिएकोले राज्यका सरकारी भवन, बौद्ध संघहरु र सरकारी संरचना आफ्नो राज्यका बिभिन्न भागमा रहनु स्वाभाविक नै थियो । 

भारतले प्राचिन कपिलवस्तुको एक स्थान पिप्रहवामा उत्खनन गरेर केहि प्राचिन स्तुपाका संरचनाहरु र केहि तथ्य हात पारेको छ । त्यहाँ राजदरबारका संरचनाहरूका कुनै अवशेषहरु भने फेला परेका छैनन् । तर त्यहाँ महत्वपूर्ण दुइवटा ब्राह्मी लिपिका लेखोटहरु फेला परेका छन्, एउटा “ओम देवपुत्र बिहारे कपिलवस्तु भिक्षु संघस” भन्ने र अर्को “महाकपिलवस्तु भिक्षु संघस” लेखिएको । ति दुवै लेखोटहरुमा “कपिलवस्तु” लेखिएकोले पिप्रहवा नै बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोट हो भन्ने भारतीय दाबी छ । तर नेपालमा अशोकले स्थापना गरेका तीनवटा स्तम्भहरु मध्ये निग्लीहवाको स्तम्भमा कपिलवस्तु यहि हो भनेर भनिएको र चिनिया तीर्थयात्रीको बर्णन अनुसार पनि तिलौराकोट नजिकै नदि रहेको र त्यहाँबाट हिमाल देखिन्छ भन्ने उल्लेख भएको तर भारतको प्रिपहवामा नजिकै कुनै नदि नरहेको र हिमाल पनि नदेखिने भएकोले उक्त स्थान कपिलवस्तु राज्यकै एउटा भाग रहेको तर तिलौराकोट चै नरहेको स्वत सिद्ध भएको छ । त्यस्तै कपिलवस्तु शाक्यहरुको आम नरसंहार भएको स्थान अरौराकोट पनि तिलौराकोट कै नजिक पर्दछ जुन पिप्रहवामा छैन ।   

भारतले उत्खनन गरेर प्राचिन स्तुपा र केहि प्राचिन संरचनाहरुको अबशेषहरु प्राप्त गरेको सत्य हो तर त्यो नक्कली लुम्बिनी नभएर प्राचिन कपिलवस्तु राज्यको एक स्थानमा रहेका बुद्ध संघ, त्यहाँ स्थापना गरिएको स्तुपा र भिक्षु-भिक्षुणीहरुसंग सम्बन्धित संरचनाहरु हुन । अहिलेको भारतमा बुद्धले लगभग ५१ बर्ष बिताएकोले र सम्राट अशोकले आफ्नो साम्राज्य भर ८४००० बिहार, स्तुपाहरु निर्माण गरेकाले यस्ता अवशेष र संरचना भविष्यमा भारतको अन्य भागमा पनि पाइने छन् । सम्राट अशोक पछिका राजाहरुले पनि असंख्य बुद्ध बिहार र स्तुपाहरु निर्माण गरेकोले भारतको एउटा ठुलो भूभाग अहिले पनि बिहार प्रदेशको नामले चिनिन्छ ।      

अन्तमा, बुद्ध आफ्नो ज्ञानको लागि चर्चित छन्, त्यहि नै  मूल कुरा हो । वर्तमान सीमारेखाहरुलाई हेर्दा भने उनको जन्म नेपालमा भयो, ज्ञान प्राप्त हुँदा भारतमा थिए । तर नेपाल र भारतमा भन्दा अन्य देशमा उनका अनुयायीहरु अत्यन्तै धेरै छन् । बुद्धलाई कुनै देशको सीमा र बन्धन भित्र राखेर मात्रै सोच्नु उचित हुदैन तरपनि बुद्ध भन्ने बित्तिकै नेपाल र भारतको चर्चा भने सदैब रहने नै छ ।  

सन्दर्भ सामाग्रीहरु
Swoyambhu D. Tuladhar. The Ancient City of Kapilvastu-Revisited
S. N. Goenka. Why was the Sakyan Republic Destroyed?
Hari D. Rai. Ancient Kapilavastu: The Sakya Territory and Sakya Capital City Proper Where Siddhartha Trod. 
G. P. Singh, Research into the History and Civilization of Kirata.  
Daniel Wright. History of Nepal.
Captain Eden Vansittart. Notes on Nepal 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell