PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनतालाई अँध्यारोमा राखेपछि क्षेत्रीय प्रमुखलाई कुलमानले लगाए २४ घण्टे



पहिलोपोस्ट

जनतालाई अँध्यारोमा राखेपछि क्षेत्रीय प्रमुखलाई कुलमानले लगाए २४ घण्टे

बिराटनगर : बिराटनगरमा लोडसेडिङ हटाउन पहल नगरेपछि नेपाल विद्युत प्राधिकरणले पूर्वाञ्चल क्षेत्रीय निर्देशक ओमप्रकाश राठीलाई हेडक्वार्टर फिर्ता बोलाएको छ। 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राठीलाई आइतबार २४ घण्टा भित्र केन्द्रीय कार्यालय हाजिर हुन निर्देशन दिएका थिए। राठीको ठाउँमा बज्रभुषण चौधरीलाई पठाइएको छ।
 
सोमबार बिहानै काठमाडौं पुगेका राठीको ठाउँमा आजै चौधरीलाई पठाइएको हो। तीन हप्ताअघि विराटनगरस्थित रानी सब स्टेसनको ट्रान्सफरमर बिग्रिए पछि पुर्वाञ्चलमा लोडसेडिङ अन्त्यको पहल नगरे पछि राठीलाई फिर्ता बोलाइएको प्राधिकरणले स्रोतले जानकारी दियो। 

बिग्रिएको ट्रान्सफरमर मरम्मत गर्न हेटौँडास्थित केन्द्रीय वर्कसप पठाइएको थियो। उक्त ट्रान्सफरमर नआउन्जेल बाँसबारीस्थित मल्टिफ्युल पावर प्लान्टमा रहेको जगेडा ट्रान्सफरमर ल्याएर विद्युत् आपूर्ति सुचारु गर्न केन्द्रीय कार्यालयले तत्काल निर्देशन दिएको थियो।
 
तर, क्षेत्रीय प्रमुख राठीले त्यसलाई वास्ता गरेनन्। पुर्वको समस्या समाधान भयो भनेर ढुक्क परेका घिसङले तीन दिन अघि मात्र बिराटनगरमा लोडसेडिङ भइ रहेको जानकारी पाएका थिए।
 
आफ्नो निर्देशन पनि अटेर गरेको, आफुलाई रिपोर्टिङ पनि नगरेको र जनतालाई अँध्यारोमा राखेको भन्दै रुष्ट बनेका घिसिङले आइतबारै राठी सहित प्राधिकरणको बिराटनगर कार्यालय प्रमुखलाई समेत २४ घण्टे पत्र पठाएका थिए। 
 
राठीले सरुवाका बारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए। आफू सोमबार समयमै केन्द्रीय कार्यालय पुगेको भए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट हुन नसकेको कारण स्पष्टीकरण दिन नसकेको उल्लेख गरे।
 
प्राविधिक जटिलताका कारण मल्टिफ्युलबाट ट्रान्सफरमर ल्याउन नसकिएको उनको दावी छ। 
 
‘बाँसबारीमा धेरै वर्ष थन्किएको त्यो ट्रान्सफरमर खोल्दा, ल्याउँदा र फेरि जडान गर्दा धेरै जटिलता उत्पन्न हुन्थ्यो’ उनले भने- ‘हेटौँडा पुर्याइएको ट्रान्सफरमरमा थोरैमात्र ड्यामेज थियो, त्यसैले यो बनेर आइहाल्छ भन्ने विश्वासमा हामी पर्यौ । हुनत, अहिले मरम्मत भइसकेको छ तर नयाँ तेल भर्न र इन्सुलेसन पिक अप दिन समय लाग्यो।’
 
ट्रान्सफर बिग्रिएका कारण विराटनगर क्षेत्रमा दैनिक चार घण्टा लोडसेडिङ भइ रहेको छ। 
 
ट्रान्सफरमर बिग्रिएपछि १० देखि १२ मेगावाट विद्युत् कम भए पनि टङ्कीसिनवारी र रानीमा भएको सब स्टेसनबाट आपूर्ति सहज बनाइएको राठीले दावी गरे। 
 
प्राधिकरण केन्द्रीय कार्यालयमा विराटनगरका स्थानीय ग्राहकले राठीका बारेमा कैयन् उजुरी समेत पठाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell