PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कम्युनिस्ट किल्लामा राजुराजको सत्ता सपना



रमेश वाग्ले

कम्युनिस्ट किल्लामा राजुराजको सत्ता सपना

काठमाडौं : एउटा पाको उमेरका कांग्रेसी। धेरैको नजरबाट गुमनाम। न कहिल्यै मन्त्री न कुनै लाभको पद नै। दुई बीसा उमेर त राजनीतिमा पुग्नै लागिसक्यो। कुनै पेशा/कर्ममा हुन्थे भने – पेन्सन थाप्दै रिटायर्ड हुने समय। यिनी भने बडो 'बेजोड'का साथ प्रचारप्रसारमा उत्रिएका छन् यतिखेर। यिनलाई भेट्ने समय पाउनसमेत हम्मेहम्मे पर्छ। नेपाली कांग्रेसको चर्को राजनीतिक ज्योतिभन्दा मुन्तिर अध्यारोमा रहेका राजुराज जोशी – महानगरको कमान सम्हाल्ने लक्ष्यका साथ मैदानमा छन्।

सैद्धान्तिक आधार र मान्यताका विषय गौण भएको नेपालको राजनीतिमा 'त्याग' शब्द सधैं संकटमा पर्नेगर्छ। लोपोन्मुख यो शब्द कसैसँग मिल्छ भने त्यो – राजुराज जोशीसँग। संगत आखिर लौहपुरुष गणेशमान सिंहसँगको न रह्यो। त्यसैले अरुले झै पद वा प्रतिष्ठामा यिनले राजनीतिको लिलामी गरेनन् वा त्यो अवसरबाट टाढै रहे। यतिखेर भने उनी पहिलोपटक काठमाडौं महानगरपालिकाको सिंहासनका लागि उत्रिएका छन् जहाँ कम्युनिस्टहरु सधैं बलियो छन्।
  
राजधानी भए पनि काठमाडौं कम्युनिस्टहरुको गढ नै रह्यो प्रजातन्त्रपछिका निर्वाचनहरुमा। संसदीय निर्वाचनमा नेकपा एमालेको लाल झन्डा लगातार लहरिरह्यो। काठमाडौं नगरमा पहिलो पटक कांग्रेसका पिएल सिंह मेयर त भए। तर, प्रजातन्त्रपछिको दोस्रो स्थानीय निर्वाचनमा फेरि केशव स्थापितले महानगरको सिंहासन कब्जा गरे। त्यसपछि स्थानीय निर्वाचन एकादेशको कथा बन्यो। यतिखेर भने फेरि चुनावी भिडन्त संघारमै छ। र पिएल सिंहपछि महानगरको दोस्रो कांग्रेसी मेयर बन्ने लक्ष्यका साथ भिडिरहेका छन् –जोशी।

पुरानाबीच परिचित र नयाँबीच अन्जान परिचय छ – उनको। स्थानीय निकायमा वडाबाट प्रतिनिधित्व गरिसकेका र अनुभवले खारिएका एमालेका उम्मेद्‍वार उनका सबैभन्दा नजिकका प्रतिस्पर्धी। त्यसो त महानगरको सत्ता हत्याउन अरु दल र स्वतन्त्रतर्फबाट बलिया उम्मेद्वाार नभएका होइनन्। तर, तिनीहरुकोभन्दा बलियो दावेदारीका साथ मैदानमा छन् राजुराज। त्यसैले व्यस्त छन् यतिखेर। पत्रकार भेट्नुभन्दा भोटर कन्भिन्स गर्नु उनको प्राथमिकता बनेको छ। चुनाव जित्न सामाजिक सञ्जाल र मोडलिङ गराएर गाना/बजाना गरिरहेका प्रतिस्पर्धीसँग परम्परागत पारामै व्यस्त छन् यिनी।

ठूलो दलका गुमनाम नेता तर बहालवाला मन्त्रीका दाजु। प्रचारमा कसरी समय जुटाउँदै हुनुहुन्छ?
 
'मेरो प्रचार नै यही व्यस्तताबाट भइरहेको छ। हरेक मिडियाले 'फ्रि'मा मेरो प्रचार गरिदएका छन्,' उनी मुस्का्ए। 

गणेशमान सिंहबाट प्रभावित भएर राजनीतिमा छिरे जोशी। २०३४ सालमा पकनाजोलको पव्लिक युथ क्याम्पसका विद्यार्थी। २०३५ साल देखि राजनीतिमा होमिएका उनले शंकरदेव क्याम्पस पुगेर विद्यार्थी राजनीतिमा हात हाले। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उपसभापति पदमा उम्मेदवारी दिए। हारे। 


२०४१ सालदेखि पार्टीको राजनीतिमा क्रियाशील उनी त्यही वर्ष काठमाडौं कांग्रेसको जिल्ला सदस्य बने। गणेशमानका छोरा प्रकाशमान सिंहको नेतृत्वमा २०४७ सालमा कांग्रेस काठमाडौं गठन हुँदा जोशी सचिव भए। प्रकाशमानको राजनीतिक करिअर 'बुलिस ट्रेन्ड'मा अकासिँदा यिनको राजनीतिक करिअर ग्राफ भने जहीको तही रह्यो।
 
त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन् यिनले। राजनीतिकै शिलशिलामा युरोपको यात्रा गरे। ती देशको यात्रा विकासको नमुना हेर्ने उद्देश्यका साथ भएको सुनाए। त्यसैले महानगर निर्माणका लागि पर्याप्त योजना लिएको दावी पनि गर्छन्। काठमाडौं आफैँमा समस्याको महानगर पनि हो। त्यसैले उनले के गर्छन् त?

१ धुलो मुक्त काठमाडौं 
२ मोट्रो र फ्लाइ ओभरको शहर
३ महानगरपालिका भरि पाँच वर्षभित्र निशुल्क इन्टर्नेट 
४ सरकारी स्कुलको हैसियत निजी सरह 
५ हरेक वडामा पर्ती जग्गा खोजी गरी खुल्ला पार्क 
६ बाटोघाटोदेखि नदी किनारासम्म विरुवा रोपेर हरियाली 
७ पुरातत्व विभागको महानगर शाखा खोल्दै भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदा निर्माण 
८ स्वास्थ्य सम्बन्धि सुविधका लागि सबैलाई स्वास्थ्य बीमा र स्वास्थ्यमा सबैको पहुँच 

धुलो यतिखेर काठमाडौंको सबैभन्दा चर्को 'अजेन्डा'। सबैका नारामा धुलो काठमाडौंको हावामा उड्छ, त्यसरी नै घुसेको छ। भन्न सजिलो तर गर्न गाह्रो।
 
केही महिनाभित्र काठमाडौंको धुलो कसरी नियन्त्रण हुन्छ? 

'म सपथ गरेको भोलिपल्टदेखि धुलो नियन्त्रणमा लाग्नेछु,' रेडिमेड जवाफजस्तै लाग्नेगरी जोशीले भने, 'अहिले मेलम्ची खानेपानीको काम नसकिएकाले स्थायी समाधान हुँदैन। त्यसैले अस्थायी समाधानको उपाय सोचेको छु।'

व्याख्या थाले - 'हरेक दिन भत्काएको ठाउँमा पिच सम्भव हुँदैन। तर, भत्काएको ठाउँमा प्याचवर्क गर्न सकिन्छ। प्याच मात्र गर्यो भने धेरै धुलो नियन्त्रण हुन्छ।'
 
सिनेमाका हिरोका डायलग झै लाग्यो उनको भनाइ।

एक्कासी दावी नै ठोके - 'म सपथ ग्रहणको भोलिपल्ट देखि धुलो नियन्त्रणमा लाग्ने छु। हेर्नुहोला कति समय लाग्ने रहेछ।'
 
सबै उम्मेदवारले भन्ने गरेको तर विकास विज्ञले तत्काल असम्भव ठानेको मेट्रो रेल उनको पनि योजनाको सूचीमा पर्छ। मेट्रो नारा नेताहरुका योजना पानीका फोका झै लाग्छ पनि। अलिकति 'हावा' पनि लाग्छ।

जोशी हावामा गरिने तर्क र योजनासहितको सपनामा फरक हुने दलिल गरे।
 
'हावामा उम्मेद्‍वारले बोल्नै हुँदैन। मसँग त्यसको योजना समेत छ। र, त्यही योजनामा म भनिरहेको छु,' जोशीले व्यङ्ग्यात्मक शैलीमा भने, 'काठमाडौंमा पानी जहाज सम्भव छैन। सम्भव भनेकै मेट्रो हो। खर्चकै कारण म त्यसलाई असम्भव मान्दिन।'
 
राष्ट्रिय योजना आयोगले मेट्रो रेल सम्बन्धि दुईवटा अध्ययन उनले पढेका रहेछन्। 'एउटा महानगरभित्र छ, अर्को रिङरोडसम्मको छ,' उनले थपे, 'त्यसमा असम्भव लाग्ने विषय भनेको बजेटको होला। तर मेहनत गरेर लागेमा त्यो पनि सम्भव छ।'
 
असम्भव लाग्ने विषय कसरी सम्भव त?

'मेरो योजना छ। म ४९ प्रतिशत शेयर बेच्छु जनतालाई। मेट्रोको मालिक जनतालाई बनाउँछु। एउटा बैकको सेयर निस्कासन हुँदा त अर्बौ अर्ब जनताले हाल्छन्। म तीन देखि पाँचसय अर्ब रुपैयाँ जनताबाट ल्याउँछु। बाँकी पैसा सरकार र महानगरले लगानी गर्छ। अन्तर्राष्ट्रिय संघ संस्थाबाट पनि ऋण लिने योजना छ। मेरो कार्यकाल पाँच वर्षभित्र मेट्रो चढ्ने अवस्था हुन्छ। निर्माणमा हुने ढिलाइले पाँच वर्षभित्र सम्भव भएन भने पनि ग्यारेन्टीको अवस्थामा पुग्छ। त्यसले जनतामा ठूलो आशाको सञ्चार गराउँछ।'
 
अर्बौको मेट्रोको सपना देख्ने उम्मेदवारलाई चुनाव जित्न कति खर्च लाग्ला?

राजनीतिक भाषामा उनको बोली फुटिहाल्यो – 'निर्वाचन आयोगले तोकेको सात लाखको सीमाभित्रै समेटिन्छ।' 

कसरी पत्याउने?

'मेरो अफिस संचालन र माइकिङ तथा झण्डा र पर्चामा सामान्य खर्च हुन्छ। त्यसबाहेक केमा नै खर्च हुन्छ र?' उल्टै प्रश्न पो तेर्स्यालए।

फेरि थपे, 'दुई लाख ७४ हजार भोटर छन्। घरदैलो सम्भव छैन। वडाहरुलाई नै सबै जिम्मा लगाएको छु। 'खर्चको जोहो पनि वडा तहमै हुने भएकाले सात लाखको सीमा भित्रै खर्च पुग्छ।' 

उनी नेकपा एमाले र राप्रपाले तालमेल गरेको चुनावी क्षेत्रमा छन्। हार्ने डर त यिनमा कसो नहोला?
तर, यिनले त फाइदा भएको सुनाए।

'उहाँहरु तालमेल नगरेको भए बरु गाह्रो हुन सक्थ्यो तर अब सजिलो भएको छ। उहाँहरुले संविधान र कानुनले तोकेको मेयर र उपमेयर मध्ये एक महिला हुने प्रावधान मिलिभगतमा तोड्नुभएको छ। महिला भोटर मात्र हैन हरेक विवेक प्रयोग गर्नेले त्यसको मूल्यांकन गर्छन्।'
 
कन्फिडेन्ट देखिएका जोशी कतै ओभर कन्फडेन्ट त छैनन्? कहिलेकाँही ओभरकन्फिडेन्स डरलाग्दो हुनसक्छ। 

हाम्रो यो शंकाको निवारण वैशाख ३१ गते महानगरवासीले छिनोफानो गर्ने नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell