PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक मियो : पवित्र बज्राचार्य



अमर बडुवाल

डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक मियो : पवित्र बज्राचार्य

काठमाडौं : पवित्र बज्राचार्य यतिखेर बहुपहिचनावाला उम्मेद्वार बनेका छन्। लामो समय नेकपा एमालेको राजनीतिमा खारिएका उनी अहिले काठमाडौं महानगरपालिकामा एमालेविरुद्ध उभिएका छन् – नयाँ शक्ति र संघीय समाजवादी पार्टीका तर्फबाट।
 
पवित्र बज्राचार्य २०५४ सालमा एमालेका तर्फबाट महानगरको वडा अध्यक्ष थिए। संयोग उनीजस्तै वडा अध्यक्ष रहेर विकास साझेदार बनेका एमालेका विद्यासुन्दर शाक्यसँग प्रतिस्पर्धमा उत्रिएका छन् उनी यसपाला। स्थानीयबीच घुलमिल भइरहने र भलाद्मीमपनका कारण यिनी लोकप्रिय पनि छन्। कोर काठमाडौंका उम्मेदवार र नेवार समुदायका विभिन्न संगठनमा पनि उत्तिकै सक्रिय।
 
पेशाले खुद्रा व्यवसायी बज्राचार्यले शंकरदेव क्याम्पसबाट एमबिएस गरेका छन्। वडा अध्यक्षबाहेक उनको ठूलो पहिचान खुद्रा व्यापार संघ पनि हो।
 
बज्राचार्य २०३३ सालबाटै राजनीतिमा छन्। २०४३, २०४९ र २०५४ मा वडा अध्यक्ष भइसकेका उनी यसपाला महानगरको उपल्लो पदमा भिड्दैछन्।
 
वडा अध्यक्ष भएको बेला विकासका काममा यिनी निकै सक्रिय रहे। त्यसैले विकासप्रेमीका रुपमा चिनिन्छन् पनि। खानेपानी, ढलनिकास, स्वास्थ्य र शिक्षाका क्षेत्रमा उनले गरेका कामको प्रशंसा गर्नेहरु धेरै छन्। निशुल्क क्लिनिक होस् या पर्यटकका लागि गल्ली गल्लीमा सडक बत्ती, यिनको राम्रो योगदान छ। विकासमा भ्रष्टाचारको इस्यु यिनको समयमा निस्केन।

व्यापारिक घरबाट भोटको आशा छ यिनलाई। खुद्रा व्यापार संघमा आवद्ध व्यावसायी र उपभोक्ता सबैले भोट दिनेमा विश्वस्त पनि छन्।

भूकम्पले भयावह अवस्था ल्याउँदा कालोबजारी हुन यिनले जसरी सक्रियता देखाए, मूल्यबृद्धि नियन्त्रणमै रह्यो। उपभोक्ताले यिनको सक्रियता देखेका छन्। 'म यसो गर्नेछु भनेर भन्नु भन्दा मैले गरेका कामहरुको नतिजा सबैको अगाडि छ,' उनी भन्छन्, 'यो हेरेर सबैले विश्वास गर्नेमा आशावादी छु।'

काठमाडौंको मेयर बनेको खण्डमा उनले गर्ने कामको सूची पनि लामै छ। प्राथामिकताका आधारमा तीन चरणमा काम गर्ने उनको योजना छ।

सबैभन्दा पहिले काठमाडौंको धुलो धुँवा, प्रदुषण, ट्रफिक जाम, अव्यवस्थित यातायात, पार्किङ, शहरीकरण, र सडक विस्तार लगायतका कुरालाई पहिलो चरणमा सम्बोधन गर्ने उनको योजना छ। त्यसका लागि व्यवस्थित शहर विकास गर्ने, आधुनिक ट्रफिक व्यवस्थापन गर्ने, फ्लाइओभरको निर्माण गर्ने, क्रसिङ ब्रिज निर्माण गर्ने, आवश्यकता अनुसार वैकल्पिक बाटोको निर्माण गर्ने, मेट्रो रेल, ट्रलीबस लगायतका संरचना बनाएर जाने हो भने काठमाडौंलाई केही हदसम्म व्यवस्थित गर्न सकिने उनको सोच छ।

दोस्रो चरणमा काठमाडौंलाई देशकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र बनाउने, उपभोक्ता केन्द्रित महानगर बनाउने, उत्पादनदेखि बजारिकरणसम्म उपभोक्ता केन्द्रित बनाउने, काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने, ऐतिहासिक मठमन्दिरलाई पुनर्निर्माण गर्ने आदि आदि। विकास निर्माणको काम गर्दा युवा पुस्तालाई सक्रिय बनाउने उनको प्लान छ।
 
तेस्रो फेजमा आफूले अघिसारेका सबै योजनाको सुरुवात गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको योजना छ। '५ वर्षको अवधिमा सबै काम गर्न सकिँदैन,' उनी स्वीकार्छन्, 'प्राथामिकताका आधारमा काम गर्दै जाने र कामको सुरुवात गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो।'
 
पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति खोलेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र मधेश मुद्दाका मसिहा उपेन्द्र यादव दुवैको दाउ हुन् पवित्र। पहिलोपटक चुनावी मैदानमा उत्रिएका डाक्टर बाबुराम र नेता यादवका लागि पवित्र राजनीतिका मियो बन्छन् कि बन्दैनन् ३१ गतेपछिको परिणामले देखाउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell