PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पूर्व सचिवको राजनीतिक डेब्यू, एसएलसी बोर्ड टपरको के होला हाल?



पूर्व सचिवको राजनीतिक डेब्यू, एसएलसी बोर्ड टपरको के होला हाल?

  • दिनेश खड्का -
धेरैले यिनलाई वाग्मतीमा फोहर निकाल्दै गरेको अवस्थामा फेला पार्छन्। शनिबार वाग्मती सफा गर्ने अभियानमा जुटिरहेका हुन्छन् यिनी। तर, यतिखेर चुनावी चटारोले उनलाई अझबढी सक्रिय बनाएको छ। ढिलो नगरी भन्दा यिनी हुन् पूर्व सचिव किशोर थापा।

राजनीतिक दलहरुबीच नै सिन्डिकेट सुरु भएको अहिलेको यसपटकको स्थानीय तहको निर्वाचनमा केही फरक छ भने त्यो हो किशोर थापाजस्ता उम्मेदवारी। दक्ष, सक्षम र सफल। बलियो संगठनविना यी तीन तत्वले मुलुकको पुरानो महानगरमा कति अर्थ राख्छ निर्वाचनले देखाउने छ।

दक्षिण पश्चिम काठमाडौंका किशोर थापा काठमाडौंका लागि  नयाँ नाम होइन। सचिवबाट रिटायर्ड थापा दोस्रो इनिङ्ग्स राजनीतिबाट डेब्यु गर्दैछन् – साझा पार्टी मार्फत्। काठमाडौं महानगरपालिकाको उम्मेदवार उनी। 

लामो समय शहरी विकासमा सक्रिय किशोर थापाको परिवार आधुनिक विकासको चपेटामा परेर थातथलोबाट केही बाहिर निस्केको  परिवार हो। हिमाल सिमेन्ट कारखाना चोभारमा स्थापना भएपछि उनको परिवार हालको कीर्तिपुर नगरपालिकाबाट बल्खुतिर सर्यो र भए महानगरको नागरिक। अहिले त्यही निकायको मेयर बन्ने लक्ष्यसहित समाजमा फरक पहिचान बनाएका 'इलिट्स'को 'क्लब' झै लाग्ने साझा पार्टीबाट उम्मेदवार छन् थापा।

त्यसो त महानगरको मेयरमा आकांक्षी बन्नुअघि नै सिंहदरबारका मुख्यमुख्य मन्त्रालयमा यिनी निर्णायक तहमा रहेर काम गरिसके। शहरी विकास,शिक्षा,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव रहेर काम गरेका उनी सरकारी सेवाबाट अहिले रिटार्यड छन्। 

फोहोर र प्रदुषणले मृत वाग्मती बचाउने अभियानमा यिनी सुरुदेखि नै सक्रिय छन्। 

कलकत्ता विश्वविद्यालयबाट थापा आर्किटेक्ट इन्जिनियर बने। दिल्ली स्कुल अफ ल्यानिङ एण्ड आर्किटेक्चरबाट अर्बन प्लानिङमा मास्टर्स पनि भ्याएका छन्। अर्बन प्लानिङको अध्ययनका लागि उनी एक वर्ष त अमेरिका नै बसेका थिए। विभिन्न ४/५ वटा देशबाट व्यवस्थापन र प्रशासन सम्बन्धी तालिम लिएका थापा एक अनुभवी इन्जिनियर हुन्।२०३१ सालमा घर नजिकैकोल्याबोरोटेरी स्कुलबाट एसएलसी बोर्ड टपर हुन् यिनी। शैक्षिक र अनुभव दुवैको तालमेललाई हेर्ने हो भने यिनको कुनै प्रतिस्पर्धा छैन। तर, राजनीति शैक्षिक प्रमाणपत्र र प्रशासनिक दक्षताको खेल होइन। शिक्षमा अब्बल र पेशामा दक्ष थापा राजनीतिमा भने पहिलो पटक इन्ट्री गर्दैछन्। उनको क्षमता र योग्यताको राजनीतिक परीक्षण हुनेछ यसपालाको निर्वाचनमा।

साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य थापाको बहुमुखि पहिचान छ। वाग्मती सफाइ अभियन्ता,इन्जिनियर,पूर्व प्रशासक आदि आदि। 

अव्यवस्थित शहरलाई सुधार गर्दै उनले साच्चै सुन्दर बनाउने सपना देखेका छन्। भन्छन्, 'धनी र सम्भ्रान्तलाई मात्र नभएर सबैका लागि सुन्दर काठमाडौंको सपना देखेको छु,' उम्मेदवारीको कारण खुलाउँदै सुनाए। काठमाडौंलाई एसियाकै उत्कृष्ट शहर बनाउने खाका छ उनको।

उनी शहरी विकास सचिव र भवन निर्माण विभागको महानिर्देशकका रुपमा काठमाडौं लगायत देशभरि शहरी विकास योजनामा लामै समय सक्रिय रहे। गैर राजनीतिक पृष्ठभूमिका भएकाले हुनुपर्छ उनी राजनीतिक दलले शासनमात्र गरेको आरोप लगाउँछन्। 'अहिलेसम्म दलहरुले के गरे मैले भनिराख्नु पर्दैन,' उनले भने, 'त्यो आम नगरबासीलाई थाहा छ।'

एक किसिमले कन्फिडेन्स देखिन्छन् उनी। भन्छन्, 'जसले नगरवासीका लागि केही गर्न सक्छ उसैले भोट पाउँछ र जित्छ।'

इलिट समाजको बलिया प्रतिनिधि उनी चुनावी प्रचार प्रसारमा पनि सामाजिक सञ्जालतिरै बढी भेटिन्छन्। उनको प्रचार पनि सामाजिक सञ्जालमै बढी हुने गर्छ। उनका अन्तर्वार्ताहरु फेसबुकबाट लाइभ भइरहेको हुनसक्छ कुनै पनि समय।

हरेक ठाउँमा सफल बनेका थापा अहिले ५८ वर्षका भए। सरकारी सेवामा रहँदा राजनीतिमा नरहेका उनी दिल्लीमा पढ्दा भनेनेपाली छात्र संघको सचिव र कोषाध्यक्ष भए तीन वर्ष।पञ्चायत विरुद्ध आन्दोलनमा भने उनी लाखौं नेपालीजस्तै सहभागी रहेका थिए।

हाइ प्रोफाइल पहिचान बनाएका थापा ठूला राजनीतिक दलभित्र नअटाउने व्यक्ति थिएनन्। तर किन साझा पार्टीमा त?

'अरुभन्दा फरक मत राख्ने व्यक्तिहुँ। युवाहरुको जोश जाँगरले पार्टी बनेकाले साझालाई रोजेँ,' उनले सुनाए। उनले अरु दलबाट प्रस्ताव आएको दावी गर्न भने भुलेनन्।

त्यसो त थापा मुलुकको महत्वकांक्षी योजनाहरु नजोडिएका होइनन्। काठमाडौंको सडक विस्तार, समय लम्बिँदै लम्बिँदै तन्किएको मेलम्ची खानेपानी आयोजना, उर्जा विकास योजना र बाहिरी चक्रपथ लगायतका योजनामा उनको सक्रियता रह्यो। उनका अनुभवले काठमाडौंको मुहार फेर्न धेरै नै हदसम्म सहयोग गर्न सक्छ।   

उनको योजनाहरु लोभलाग्दा छन्। अन्य नेताले झै उनको पनि धुलोरहित काठमाडौं प्रमुख अजेन्डा हो। काठमाडौंलाई एसियाकै उत्कृष्ट शहर बनाउने उनकोयोजना। चरणवद्ध कार्ययोजना छ उनको शहर सुन्दर बनाउन।

पहिलो चरणमा सरसफाइ उनको योजना।महानगरभित्र सास फेर्न सकस भएको अवस्थालाई व्यङ्ग्य गर्दै भन्छन्,'राजधानीभित्रएक घण्टा डुल्ने हो भने बाबुले छोरो नचिन्ने अवस्था छ।'काठमाडौंका सडमा रहेका खाल्डाखुल्डी पुरेर धुलोरहित सडक उनको कल्पनामा छ।

नदीनाला सरसफाइका लागि पनि योजना बनाएका छन्। सार्वजनिक यातायातमा सुधार, पर्यटकीय क्षेत्रको विकास गर्ने पनि उनको योजना छ।
दोस्रो चरणमा उपत्यकाका ऐतिहासिक सम्पदाको संरक्षण गरीपर्यटकीय नगरीका रुपमा विकास गर्न चाहान्छन्।काठमाडौंको मुटुलाई नेवा कला तथा वास्तु संस्कृतिको अनुपम केन्द्र बनाउन चाहान्छन् उनी। हरियाली बढाउनहरेक वडामा एक आकर्षक पार्क उनको योजनामा छ। 

रोजगारीको सिर्जनाका लागि प्रावधिक शिक्षा बढाउने रहर पनि छ उनलाई। गएका २० वर्षमा गर्न नसकिएका काम ५ वर्षमा सक्ने दावी छ उनको। 

सडक पीडितहरुलाई संघर्ष समिति बनाएर आन्दोलन गर्नुपर्ने युगको अन्त्य गर्ने समेत घोषणा गरेका छन्।

ट्राफिक जाम कम गर्ने,ठाँउ ठाँउमा जेब्रा क्रसिङ र आकाशे पुलहरु बनाउने,सार्वजनिक यातायातलाई सरल बनाउनेयोजना छ उनको। 

सचिव भएर पनि गर्न नसकेका काम पूरा गर्ने अभिलाशा छ उनमा। 'शिक्षा मन्त्रालयमा सचिव हुँदा समुदाय अनुसार स्कुल पोशाक त्यहाँका विद्यालयहरुमा लगाउनुपर्ने योजना पूरा गर्न सकिन्,' स्वीकारे। त्यसका लागि सम्भाव्यता अध्ययन गरिसकेका थिए। चुनाव जितेमा त्यो अपूरो योजनाले पार पाउला भन्ने आशा छ उनको।

युवाको मतलाई जितको आधार मानेका छन् उनले। दलीय भागबण्डा र संगठित र बलिया पार्टीहरुको चुनावी हतकण्डाका बीच सामाजिक सञ्जालमा 'लोकप्रियता' कमाइरहेका थापा चुनावी परीक्षामा बोर्ड फस्ट हुन सक्छन् या सक्दैनन् त्यो ३१ गतेको निर्वाचनपछि तय हुने नै छ। र त्यसैले तय गर्ने छ उनको दोस्रो इनिङ्ग्स कुन रुपमा अघि बढ्छ। 






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell