PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्थानीय चुनाव : पर्दा पछाडिका पात्र



पहिलोपोस्ट

स्थानीय चुनाव : पर्दा पछाडिका पात्र

  • आकाश क्षेत्री 
मिर्मिरे बिहानी, मन्द उज्यालो वातावरणमा फैलिँदै छ। महानगरपालिकाका कर्मचारीहरुले सडक सफा गर्दै गर्दा पेटीमा एक अधबैँसे मानिस प्लास्टिक मुखमा जोडेर लामो श्वास लिँदै त्यसभित्रको हावा भित्र तान्छन्। उनी हुन् सिन्धुपाल्चोकका प्रेम भण्डारी। उनलार्इ नेताहरु फिटिक्कै मन पर्दैनन्। 

देश चुनावमा होमिएको छ। उम्मेदवारी दिएका नेताहरु आफ्ना कार्यकर्तासँगै चुनावको प्रचार-प्रसारमा लागेका छन् भने पार्टीका सर्मथकहरु आ-आफ्नो पार्टीका विशेषताबारे अनेकन धारणा व्यक्त गरिरहेका छन्। मतदाताहरु मत हाल्नका लागि तयार भएर बसेका छन्। 

भण्डारी नेपाली नागरिक हुनुका नाताले एक मतदाता पनि हुन् तर उनलार्इ चुनावको कुनै मतलव  छैन। यहाँसम्म कि उनलार्इ चुनावको मितिसमेत थाहा छैन। 

चुनाव आयो नि ! भोट हाल्न सिन्धुपाल्चोक जानुहुन्न? 

'चुनाव आयो त,आयो हामीलार्इ बालै फररर' उनको उत्तर हुन्छ। 

पाँच वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा प्रेम कतार उड्दा श्रीमतीलार्इ सुखले पाल्ने उनको एउटा सपना थियो। 

कतार उडेको एक वर्षपछि प्रेमकी श्रीमतीले छापाखानामा काम पाएको भन्दै काठमाडौँमा बस्न थालिन्। कतारबाट फर्किँदा उनले थाहा पाए श्रीमती आफ्नी रहिनन्। छापाखानामा काम पाएर श्रीमती काठमाडौँ आएकी थिइनन्, उनी बिहे गरेर आएकी रहिछिन्, प्रेम विगत सम्झिन चाहँदैनन्। 

गुमाएको पैसा फिर्ता गराइदिन प्रेमले चिनेजानेका नेतालार्इ पनि सहयोग मागेका थिए तर, कसैले सहयोग गरेनन्। प्रेम भन्छन् 'अब त म फकिर भए। किन भोट हाल्नु?' 

मेरा श्रीमानभन्दा फटाहा नेतालार्इ भोट? 
सिन्धुलीकी सरस्वती केसी एनएसी अगाडि एक वर्षे छोरीलार्इ पाल्नका लागि भिख माग्छिन्। मान्छे आउँछन् एक दुर्इका सिक्का खसालेर हिँड्छन्। सरस्वती र उनकी छोरीको पेट बाटोमा हिँड्ने मान्छेले खसालेका सिक्काले पालिएको छ। ढुङगा-माटोको काम गर्ने सरस्वतीका श्रीमानको ठेगान हुँदैन। उनी मागेकै पैसाको भर पर्छिन। भन्छिन्,श्रीमानभन्दा बटुवाको आशा लाग्छ। 

देशमा स्थानीय चुनावको रौनक चलिरहँदा सरस्वतीलार्इ के चुनाव? उनलार्इ बिहान बेलुकाको खाना मात्र जोड्नु छ। हो,सरस्वतीलार्इ फिटिक्कै चुनाव लागेको छैन। 

सरस्वतीले चुनाव आइरहेको त हल्ला सुनेकी छन् तर भोट हाल्ने मनस्थिति भने फिटिक्कै बनाएकी छैनन्। 

'आजकालका नेताले गरिब जनतालार्इ हेर्दैनन्। श्रीमानले श्रीमती हेर्दैनन्' भन्दै उनी मुस्कुराउन खोज्छिन्। 
उनी पत्रिका पढ्दिनन्, रेडियो पनि सुन्दिनन्, नेतालार्इ पनि मन पराउँदिनन्। बाटोमा हिँड्दा मान्छेले नेतालार्इ गाली गर्छन्। चिया पसलमा पनि नेतालार्इ नै गाली गरेको सुन्छिन्। त्यसैले उनी नेतालार्इ मन पराउँदिनन्। यो पटक भोट पनि हाल्दिनन्। 

कुनै बेला आफ्नै ठाउँ सिन्धुलीबाट मतदान गरेकी उनी भन्छिन् 'एमालेको रुख चित्रमै छाप लगाएकी थिएँ।' उनले मुस्कुराउन छुटाइनन्। 

पार्टीका गीत गाएँ गाउँबाटै निकालिएँ,आज पार्टीले निकाल्यो 
गोर्खाका सिमर परियार हारमुनियम बजाउँदै गीत गाउँछन्। रामेछापका मीनबहादुर तामाङ मादलको तालमा ताल मिलाउँछन्। दुवैको आँखामा कालो चस्मा छ।


हसिला मीनबहादुर सानो छँदा एक्कासी आँखा कम देख्न थाले। समय अगाडि बढ्यो तर उनका आँखाको ज्योती अगाडि बढेन। मीनबहादुरले आँखा देख्नै छाडे। समाजले उनलार्इ एउटा अर्को नाम थपिदियो,'अन्धो'।

जन्मजात आँखा नदेख्ने समीर परियारले संसार देख्नै पाएका छैनन्। उनले सानैदेखि गीत गाइरहेका छन्। उनी भन्छन्,'सधैँ अरुकै गीत अरुकै लागि गाएँ, आफ्नो गीत अरुका लागि गाउन मन छ।' आफ्ना गीत रेकर्डिङ गर्ने ठूलो सपना छ समीरको।

माओवादी जनयुद्धका बेला एक जना कार्यकर्ताले समीरलार्इ नजिकैको विद्यालयमा लगेर गए।  गीत गाउन लगाएपछि समीरले पनि दिल खोलेर गीत गाए। तर,त्यही गीत गाएका कारण उनले गाँउ छोडेर जानुपर्यो। समीर पार्टीकै कार्यकर्तासँग हिँडे। उनको काम गीत गाउने मात्र थियो तर,युद्धविरामपछि भने उनी अलपत्र परे। 

देश चनावको तयारीमा जुटेको छ। चुनाव नजिकिँदैछ कसलार्इ भोट हाल्नुहुन्छ? समीर भन्छन्,'चुनावमा कसको मुख हेरेर भोट दिनु?' उनी राजनीतिक दलका कुरा गर्न मन पराउँदैनन्। 

'मानिसले हावाको अनुभूति गरेजस्तै मैले संसारलार्इ अनुभूत गरिरहेको छु।' समीरका गाउने गीतजस्तै उनका कुरा पनि मीठा छन्। 

रामेछापका मीनबहादुर तामाङले अधिल्लो चुनावमा कांग्रेसलार्इ मतदान गरेका थिए। तर यो पटक उनको सोच परिर्वतन भएको छ। भन्छन्,'गीत गाएर दुई-चार पैसा कमाउँछु, भोट हाल्न जान्नँ।' 

बटुवा जोख्छु, नेता जोख्न जान्दिनँ 
न्यूरोड छिर्ने बाटोको एक कुनामा मान्छे जोख्ने तराजु अगाडि राखेर बस्छन् ८५ वर्षीय नारायण। उनी आँखा राम्ररी देख्दैनन्। कान पनि उति सुन्दैनन्। तर,पाँच रुपैयाँ लिन्छन् एउटा मान्छे जोखेको। 

भन्छन्,'मैले मान्छेको चरित्र जोख्न सक्ने भए नेताको चरित्र सित्तैमा जोख्न जाने थिएँ।'  


उनका आँखा दिनमा पनि मधूरो देखिन्छन्। रातमा त पटक्कै देखिँदैनन्। उनी सम्झिन्छन्,कुनै बेला आँखा तेज थिए,कान स्पष्ट सुनिन्थे जोडजोडले पार्टीका नारा उनले पनि लगाएका थिए। 

समयको परिर्वतनसँगै नारायण पनि परिवर्तित भए। देशको राजनीति पनि परिर्वतन भयो। नेताहरु झनै झुटा भए। समाजमा उनीहरुको इज्जत घट्दै गयो। नारायण राजनीतिक टिप्पणीमा माहिर छन्। 

मान्छे जोख्ने तराजुसहित केही गुटका र चुरोटमा प्याकेट उनका अगाडि राखिएका छन्। काठमाडौंमा उनका आफन्त छन् तर उनी आफन्तसँग बसेर बोझिलो बन्न चाहँदैनन्। 

आफ्नै अगाडि कयौं चुनाव भोगिसकेका नारायण अब भोट हाल्दाहाल्दै थाकिसके। उनी स्थानीय तहको चुनावमा जानै नसक्ने बताउँछन्। लोकतन्त्रका लागि नारा लगाउँदै बाटोमा दौडेका नारायण आफ्ना खुट्टा पनि बुढो हुँदै गएको महसुस गर्छन्।

चुनावका प्रचार प्रसारका लागि गाडी कुदिरहेका छन्। उनको मनमा पहिलेजस्तो उत्साह छैन। पहिले त चुनाव हो कि दशैँ छुट्टिदैनथ्यो। नारायण पुराना दिन सम्झिन्छन्। 
 
मायादेवीका छोरा-बुहारी,नाती-नतिना त्रिपुरेश्वरमा बस्छन् तर, उनी बिहानै एनएसी अगाडि मन्दिरमा हात थाप्न पुग्छिन्। उनलार्इ छोराको घरभन्दा मन्दिर नै प्यारो लाग्छ। श्रीमानको मृत्युपछि मायादेवी छोराकोमा बस्न थालेकी हुन्। 


उनलार्इ चुनाव भन्ने वित्तिकै गार्इ चिन्हमा छाप लगाएको याद आँउछ। यो चुनावमा कुन चिन्हमा छाप लगाउने? 'घर न घाटको मान्छे कहाँ भोट हाल्न जानु'उनी मुस्कुराउन खोज्छिन्। 

वीर अस्पताल अगाडि सुतिरहेका हुन्छन् रोल्पाका परशुराम खड्का। उनको एउटा खुट्टा शरीरभन्दा ठूलो भएको छ। 

उपचारका लागि काठमाडौं छिरेका परशुरामको खुट्टाको उपचार नहुने भएपछि उनलार्इ रोल्पा जाने आँट नै आउन छोड्यो।  

अघिल्लो चुनावमा माओवादीलार्इ मतदान गरेका उनले यस पटक बाध्यताले मतदान गर्न नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell