काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा टेबल भएको छ। एमालेसहित विपक्षीहरुले सुरुमा उठेर र त्यसपछि नाराबाजीसहित वेल घेराउ गर्दागर्दै जम्मा २ मिनेट चानचुन समयको बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव संसद्मा टेबल भएको घोषणा गरिन्।
त्यसलगत्तै उनले महाभियोग प्रस्तावमा छलफलका लागि आजै दिउँसो १ बजे अर्को बैठकको समय तोकेर बैठक स्थगित गरिदिइन्।
आजको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित थिए। उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका सांसदहरु प्रतिपक्षी बेञ्चमा थिए।
सभामुखले प्रस्ताव टेबल भएको जानकारी दिइरहँदा पूर्व सभामुख सुवास नेम्वाङ, वामदेव गौतमसहितका एमाले सांसदहरु नाराबाजीका साथ वेल घेराउ गर्न गएका थिए।
हेर्नुस् भिडियो-
प्रस्ताव संसदको बैठकमा टेबल गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच दुरी बढेपछि घर्तीले बिहीबारको संसद बैठक सूचना टाँस गरेर स्थगित गरेकी थिइन्।
सभामुख घर्तीले दलहरुबीच महाभियोग अगाडि बढाउने र फिर्ता लिने विवाद बढेपछि प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार बिहान छलफलका लागि डाकेकी थिइन्। तर त्यहाँ पनि सहमति जुट्न सकेन।
महाभियोग दर्ता भएपछि सात दिन भित्र संसदमा सभामुखले छलफलको मिति तोक्नुपर्ने प्रावधान छ।
तर एमालेले सात दिन संसदको मिति कटाएर प्रश्न खडा गर्न खोजेको छ। महाभियोग दर्ता भएको शुक्रबार छैठौँ दिन पुगेको छ।
संसदको कार्यसूचीमा संविधान संशोधनको विषय हटेको छ भने महाभियोगको विषयले स्थान पाएको छ।
