PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

महानगरका 'सर्वोत्तम' मेयर जसलाई पार्टीले झण्डै 'शहीद' बनाउन खोज्यो, तर भएनन्



महानगरका 'सर्वोत्तम' मेयर जसलाई पार्टीले झण्डै 'शहीद' बनाउन खोज्यो, तर भएनन्

  • अरुण सापकोटा
काठमाडौं : 'तपाईँले सम्पर्क खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।'

पटक पटक उही उत्तर आउन थालेपछि हामी पुगेको एउटै निचोड – भूमिगत भयो फोन। भूमिगत भए उम्मेदवार।

भूमिगत राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा उत्रिएका सर्बोत्तम डङ्गोलको मोबाइल 'स्वीच अफ'ले उनको मनस्थिति बयान गरिरहेको थियो। 

उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरको मेयर बन्ने उनको सपनामाथि सुरुमै निषेधको राजनीति हुन लागेको थियो। चुनाव जित्ने हिम्मत नभएपछि राजनीतिक दलहरुबीच सुरु भएको अराजनीतिक गठबन्धनको सिकार हुन लागेका थिए उनी। र, पटक-पटक निर्वाचनमा असफल भएका सर्बोत्तम यसपाला प्रतिस्पर्धी बन्नै नसक्ने पो हो कि भन्ने अवस्थामासमेत पुगे। उनको मोबाइल बन्द हुनु एउटा गजबको 'मेटाफोर' बन्यो काठमाडौंको महानगरपालिका निर्वाचनमा। 


तर अन्ततः उनले जिते, मेयरको चुनावमा हैन, चुनावमा प्रतिस्पर्धा कायम राख्न। चुनाव नहुँदै मैदान छाड्न नपर्ने गरी उम्मेदवारी फिर्ता नगराउन। 

बिहीबार दिउँसो एकाएक काठमाडौँ, ललितपुर, भरतपुर र पोखरामा माओवादी र कांग्रेसबीच तालमेल हुने खबर आयो। तर रातिसम्ममा उनको उम्मेदवारी कायमै रहेको पुष्टि भयो।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले बिहीबार राति पहिलोपोस्टलाई भनिन्, 'कुरा भएको हो। तर तालमेल भरतपुर र पोखरा मात्रै भयो। काठमाडौँ र ललितपुरमा भएन। हुने भन्ने थियो। अन्त्यमा दुईवटामा मिल्यो, त्यति हो।'

हुन् त नेपालको राजनीति धेरै धमिलो छ। अप्राकृतिक धमिलो – राजधानीको हावाजस्तै। यहाँको हावामा अक्सिजन कम धुलो ज्यादा छ। काकाकुल शहरको पानीको सपना पूरा गर्न फोक्सोमा धुलो भर्छन् यहाँका जनता। काठमाडौं राजधानीका कारणमात्र परिचित छैन। न त यो मुलुककै पहिलो महानगरका रुपमामात्र चिनिन्छ। धुलो, अव्यवस्था, ट्राफिक जाम र अभावहरुको सूचीकृति केन्द्रका रुपमा पनि पहिचान छ यसको। त्यही मुद्दा बनिरहेको छ अहिलेको निर्वाचनमा। त्यही मुद्दाहरुको भेलमा तैरिँदै अरुलाई पनि तार्ने ताकमा उम्मेदवार बनेका हुन् सर्वोत्तम डङ्गोल।

वाम राजनीतिमा सर्वोत्तम डंगोल नयाँ नाम होइन। तर, विशिष्ट पहिचान पनि छैन उनको। चुनाव पटक-पटक लडेका छन्, जितेका छैनन्। इतिहासको लगाम जित्नेको हातमा हुन्छ, हार्नेको होइन। यसपाला उनी लगाम आफ्नो हातमा पार्न चाहन्छन् – इतिहास बदल्ने उनको रहर पूरा गर्न। तर, उनलाई झण्डै काठमाडौँ महानगरपालिकाको 'पहिलो शहीद उम्मेदवार' बनाउन खोजियो, चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालको जित सुनिश्चित गर्न र काठमाडौं र ललितपुरमा कांग्रेसका उम्मेदवारलाई जिताउन। 

धुलोमुक्त काठमाडौँ उनको चुनावी अभियान हो। धरातललाई चुल्याउने केही महत्वकांक्षी योजनाका पोकाहरु तयार छन्। २० तलेभन्दा भीमकाय भवनमा आवासीय व्यवस्था बनाउने उनको आकांक्षा छ।  काठमाडौंमा खुला ठाउँ छैनन्। खुला ठाउँ बढाउन उनी आकास 'अकुपाइ' गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएका हुन्। जितेमा अव्यवस्थित शहरीकरण रोक्नु दायित्व ठानेका छन्। त्यसैले चुनावमा मनोनयन सुरु भएलगत्तै उनी जित सुनिश्चित पार्न मतदाताका घरदैलोमा पुग्न थालिसकेका थिए।

राजधानीमा हुने बेतालका विकासे गतिविधिले दिक्क छन् उनी। एउटाले सडक बनाउने, अर्कोले त्यही बनाएको सडक खनेर ढल हाल्ने, अर्कोले तार तान्ने र फेरि विकासलाई प्रारम्भिक विन्दुमै पुर्‍याउने। उनलाई चित्त बुझेको थिएन। 

'एक विभाग र अर्को विभागको काममा तालमेल नभएर सबै बिग्रिएको छ,' उनी भन्छन्, 'म रोक्छु यसलाई।'

  

उमेरले पाका नै उम्मेदवार हुन् उनी। २०१२ साल भदौमा जन्मेका। काठमाडौंका घरबेटी हुन् डेराबाट कमाउँछन्। पत्नीको आम्दानी छ- ढुक्कको। छोरो पिएचडी गर्न विदेश, छोरी मास्टर्स गर्दै। पेट पाल्न राजनीति गर्नेहरुबीच उनी अलग थिए। आफै राम्रो पढ्नेमा पनि पर्छन्। अस्कलबाट आइएस्सी र त्रिचन्द्रबाट बीएस्सी। अनि ब्यवस्थापनमा मास्टर्स। रहर भने राजनीति। त्यसको कथा बेग्लै छ। 

उनका बाबु बाम राजनीतिमा सक्रिए। घरमा मार्क्र्स, लेनिन स्टालिन र माओका फोटा हुन्थे। उनलाई बामपन्थी बन्न अरु के नै चाहियो र यति पृष्ठभूमि भएपछि। घरमा कम्युनिष्ट नेताको आउजाउ चलिरहन्थ्यो। आउनेमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल देखि मनमोहन अधिकारी र विश्वकान्त मैनालीसम्म। नारायणमान बिजुच्छे पनि उत्तिकै आउजाउ गर्ने। घर नै कम्युनिष्टको केन्द्र। 

बीएस्सी गर्दै गर्दा स्वयम्भूको प्राकृतिक विज्ञान संग्रालयमा १८ महिने जागिरे पनि भए। त्यस्तै काभ्रेको नालामा पढाउन पनि पुगे। पछि आफ्नै थलोमा प्रधानाध्यापक भएर अध्यापन पनि गराए। तर यो भन्दा कठोर जीवन भोगे यिनले। नेपाल कम्युनिष्ट पार्टी चौथोका कार्यकर्ता थिए यिनी। लगातार ८४ दिन बेपत्ता पारियो यिनलाई। 'प्रहरीले मर्‍यो भनेर फालेको थियो,' विगत सुनाए। बम काण्डमा समातिए र २ वर्ष जेल परे।

जेलबाट निस्किएपछि २०४३ को नगर पञ्चायत निर्वचनमा काठमाडौंबाट प्रधानपञ्चमा चुनाब लडेका थिए। तर उनले चुनाब जितेनन्। २०४७ सालपछि संयुक्त बाम मोर्चामा सक्रिय रहे। २०४८ को स्थानीय निकायको निर्वाचनमा संयुक्त बाममोर्चाको तर्फबाट मेयरमा उमेद्वार पनि थिए। त्यहाँ पनि हारे।

२०६२ मा माओवादी बने। एकता केन्द्रसहित उनी छिरेका हुन् पार्टीमा। पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट उठे। माओवादीहरुले देशभर लहर ल्याउँदा आफ्नो क्षेत्रमा तेस्रो बने यिनी।

महानगरको योजना तथा विकासमा यिनी १० वर्षदेखि सक्रिय छन्। महानगरको बजेट तर्जुमा गर्ने, महानगरको योजना बनाउन पार्टीको प्रतिनिधि भएर काम गरेका छन्। 'यो नै मेरो जित्ने सुत्र हो,' उनले भने।

काठमाडौंलार्इ एक वर्षभित्र धुलोमुक्त बनाउने उनको दावी छ। अनि थप योजना पनि। 
 
  • एक वर्षमा मुल सडक जति सबैमा पिच
  • ३ वर्ष भित्र प्रत्येक गल्लीगल्ली पिच 
  • कर्मचारीलार्इ चुस्त 
  • सुविधा सम्पन्न बसको ब्यबस्था 
  • साना सार्वजनिक सवारी पूर्ण रुपमा हटाउने
यस्तै यस्तै योजनाहरु छन् उनीसँग।

काठमाडौंका पुरातात्विक सम्पदाको पुन:निर्माण हुन नसकेकोमा उनलाई झोक चलेको छ। पुन:निर्माण प्राधिकरणबाट अधिकार खोसेर महानगरको अधिनमा ल्याइ काम गर्ने रहर थियो। त्यो पनि रहरमै रह्यो। 

दलीय एकतासहित चुनावी मैदानमा उत्रिएका एमाले-राप्रपा र कांग्रेसका उम्मेदवार उनको प्रतिस्पर्धी छन्। 'यसरी मिल्नु भनेको संविधानमाथि नै खतरा हुनु हो,' उनले हामीलाई सुनाएका थिए। तर उनै सर्वोत्तम कांग्रेससँग पार्टीको तालमेल बिग्रिएसँगै प्रतिष्पर्धामा टिकेका छन्। अन्यथा उनको 'उम्मेद्वारी शहीद' हुने अवस्थामा थियो। 

तर, 'यसरी मिल्न' उनकै दल अघि सर्‍यो। उनैलाई झण्डै शहीद बनाइयो।

त्यसो त उनका पहिलेका रेकर्डहरु सबै 'हार'मै सकिएका थिए। तर हारे पनि जनताले नै हराउने हो। चुनाव अघि कै हारबाट भने जोगिएका छन् सर्वोत्तम। 

(*यसअघि काठमाडौँमा माओवादी केन्द्रको मेयरको उम्मेदवारी फिर्ता लिने सहमति भएको खबरका आधारमा यो फिचर तयार पारिएको भए पनि उनको उम्मेदवारी फिर्ता नभएको पुष्टि भएपछि शीर्षकसहित सामाग्रीमा पनि सम्पादन गरिएको छ- सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell