PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हिजोसम्म टिकटकै टेन्सन आजबाट जितको : एमाले उम्मेदवार विद्यासुन्दरको डायरी



सविन ढकाल

हिजोसम्म टिकटकै टेन्सन आजबाट जितको : एमाले उम्मेदवार विद्यासुन्दरको डायरी

काठमाडौं : 'तपाईँले सम्पर्क गरेको मोबाइल व्यस्त छ।'

लगातार १५ मिनेट दिक्दार लाग्दो यस्तै आवाज रिपिटपछि उनको मोबाइलमा घन्टी लाग्यो। फोन उठ्यो पनि।
तपाईँसित कुराकानी गर्नुछ, भेट्नु पर्यो।

'आज म एकदमै व्यस्त छु। एक बजे तिर जिल्ला पार्टी कार्यालय आउनुभयो भने भेट हुन्छ।'

टेलिफोनको नेटवर्कमार्फत् जोडिए नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य। 

स्थान पुतलीसडक। एमाले जिल्ला पार्टी कार्यालय।

चुनावी सरगर्मी हप्पै बढेको देखियो। पोस्टर छाप्नेदेखि चुनावी कार्य योजना बनाउनेसम्मका काममा नेता/कार्यकर्ताको भ्याइनभ्याइ। एक घन्टा बित्यो, दुई बज्यो। अझै उनको पत्तो छैन। 

फेरि फोन आयो। 

'एकछिन कार्यकर्ता भेट्नु पर्यो। केही समय कुर्नुस् है।' 
नपर्खिने कुरै भएन– कोलाहलपूर्ण काठमाडौंको रुप फेर्ने योजनासहितका उम्मेदवार भेट्ने योजना। पहिलो 'हन्ट'मा परे विद्यासुन्दर। 

कार्यकर्तासँगै उनी भित्रिए कार्यालय परिसरमा। उनी फोनमा हुन् कि फोन उनमा हो – झुन्डिएको झुन्डियै। एउटासँग कुरा सकियो। अर्को आइहाल्ने। फोनमा उनको कुराकानीले धपेडीको बखान गरिरहेको थियो। 

मेयरको उम्मेदवार बनेदेखि उनको मोबाइलले विश्राम पाएको छैन। 'कमरेड म यति नम्बर वडाको, एकछिन कुरा छ' यस्तै यस्तै। तानातान। कमरेड यता कमरेड उता! बिचरा कमरेड।

बल्ल उनले गफिन समय चोरे। २०२० जेठमा लगनमा जन्मिएका उनको ठूलो सपना छैन। काठमाडौं न सिंगापुर न अमेरिका। काठमाडौं नै बनाउने उनको चाहना– त्यो काठमाडौं जहाँ सुन्दरता, शान्ति र हराभरा होस्। उनले त्यस्तै सुनाए।

'विद्या ददाति विनयम' भने झैँ देखिए विद्यासुन्दर। सरल र शान्त स्वभावका। तर थकित। 

'निदाउनु भएन कि के हो?'  

हो रहेछ। मेयरको उम्मेदवार बनेपछि उनी बिहान २ बजेसम्म साथीभाइसँग बधाई लिन नै व्यस्त रहेछन्। 

'दुई बजे सुतेँ। साढे ५ मा निन्द्राले छोड्यो।' अपेक्षित उत्तरसहितको प्रश्नमा यसै भने।

त्यसपछि कार्यकर्ता र समाजसेवी भेट्दैमा समय गएछ। ११ बजे हल्का खाजा खाएका उनले ३ बज्दासमेत खाना भ्याएका रहेनछन्। 
भने, 'हिजोसम्म टिकट पाउने/नपाउने चिन्ता थियो। आजबाट कसरी जित्ने भन्ने चिन्ता छ।'

२०४७ सालबाट नेकपा एमालेबाट सक्रिय राजनिति शुरु गरेका शाक्यले २०४२ सालमा शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक पूरा गरेका थिए। स्नातक सकेपछि उनले सरकारी जागिरका लागि शिक्षकमा आवेदन दिए। नाम पनि निकाले। तर, जागिर खान भने गएनन्। 

'राजनीतिको भूत चढिसकेको रहेछ। जागिर खान मन नै लागेन,' मुस्काउँदै सुनाए। 

काठमाडौंको मेयर भए विद्यार्थीलाई घण्टाको हिसाबमा रोगजारीको व्यवस्था गर्ने योजना छ उनको। 

'दुई/चार घण्टा काम गर्न चाहने विद्यार्थीले काम पाउने अवस्था बनाउछु,' उनले भने।

उनी २०४९ र ०५४ सालमा काठमाडौं वडा नम्बर २१ बाट वडा अध्यक्ष रहे। त्यसैले उनलाई राजधानीको समस्या थाहा नहुने कुरै रहेन। 

'ट्राफिक जामले ग्रस्त छ, यसमा सुधार गर्छु।' 

'निजी होइन सार्वजनिक सवारी प्रयोगमा प्राथमिकता दिन्छु।' 

'तीन वर्षभित्र काठमाडौंमा मोनो रेल संचालन गर्छु।' 

'मोनो रेल संचालन गरेर आफैँ सार्वजनिक सवारी चढ्छु।' 

'क्लिन सिटी अभियान शुरु गर्छु।' 

'काठमाडौंलाई इ-गर्भनेन्स प्रणालीमा आवद्ध गरी पारर्दशी प्रशासन प्रणाली बनाउँछु।'

'काठमाडौंलाई २४ घन्टा जागा राख्छु'

उनले सुनाएका योजनाहरु यिनै हुन्। पूरा गर्न सक्लान्/नसक्लान चुनाव जितेपछिमात्रै मूल्याङ्कन गरौँला। सोधौंला पनि त्यतिखेर।

चुनाव प्रचारका लागि एक साता मात्र बाँकी छ। कति मतदाताको घरदैलोमा पुग्न नसक्नेबारे चिन्तित पनि देखिए। 'जनताको विश्वास छ। विजय सुनिश्चित छ,' भने, 'नेवार समुदायमात्र होइन सबै मेरा लागि एक हुन्।'  

चुनाव महँगो भइसकेको छ। यिनी कति खर्चन सक्छन् त? 

दावी उनको - फजुल खर्च नगर्ने। 

भने, '५ देखि ७ लाख भन्दा बढी रुपैयाँ मेयरको लागि खर्च गर्दिन।' 

कताकता उनको चुनावी बजेट आकार भने अपत्यारिलो सुनियो। यो उनको दावी हो। पत्याउने/नपत्याउने जिम्मा तपाईँको।

(*असावधानीवश नाममा विद्यासुन्दरको ठाउँमा विद्यासागर भएकोमा सच्याइएको छ।) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell