PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भौतिक संरचना अभावमा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त



रासस

भौतिक संरचना अभावमा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

  • सिबी अधिकारी

काठमाडौँः मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिंदा अस्तव्यस्त बन्दै गएको छ।

विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउँछन्। विमानस्थलको पूर्वाधार संरचना बढाउन नसकिएको र यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या आएको उनले बताए। महाप्रबन्धक उपाध्यायले पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको बताए।

आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हुँदा थप चाप बढेको छ। विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन्। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ। सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ।

विसं २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ। भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ। विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ। विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन्।

उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ०ले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ। साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको सङ्ख्या र यात्रु आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ। हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपालको करिब ९० प्रतिशत यात्रुको आवागमन हुने गर्छ।

विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक ९हेलिकोप्टरसहित० तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन्। अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ। आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै बाह्रबुँदे निर्देशन दिएका थिए।
 

 

विमानस्थल सुधार हुँदै 

टर्मिनल भवन र आकाशमा होल्ड हुने अवस्थाले विमानस्थलको सेवा प्रभावित बनिरहेका सन्दर्भमा विमानस्थत क्षमता वृद्धि आयोजनाले विमानस्थल सुधारका कामलाई गति दिएको छ।

प्रवक्ता ठाकुरका अनुसार विमानस्थलको पूर्व क्षेत्रमा एक वर्षभित्र निर्माण सकिने गरी तीन र दक्षिणतर्फ दुई वर्षभित्र सकिने गरी अन्तर्राष्ट्रियस्तरका दुई पार्किङ क्षेत्र बन्दैछ, जहाँ ठूला जहाज पार्किङ गरिनेछ । टर्मिनल बढाइने नयाँ प्रक्रिया सुरु भएको छ भने पाँच सय ट्रली दश दिनभित्र आउँदैछन् । एक महिनाभित्र चार नयाँ ‘कन्भेयर बेल्ट’ राखिने पनि प्रवक्ता ठाकुरले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालस्थित अध्यागमन कार्यालयका अनुसार सन् २००९ देखि २०१४ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रतिवर्ष करिब १० प्रतिशतको दरले यात्रुको आवागमनमा वृद्धि हुने गरेको छ । विमानस्थलको उपयोग गरेर दैनिक औसत आठ हजार मानिसको आवगमन भइरहेको छ। यो विमानस्थलले दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell