PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपाधिका लागि जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण बज्राचार्यसँग खेल्ने



पहिलोपोस्ट

उपाधिका लागि जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण बज्राचार्यसँग खेल्ने

काठमाडौं : जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। अब फाइनलमा पूर्व विजेता जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यको सामना गर्नेछन्।

जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। बुधबारै सुरु भएको यि दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो। त्यसमा जितेन्द्रले पहिलो सेट ७–५ ले जितेका थिए भने दोश्रो सेटमा ३–६ ले पछि परेका थिए। 

जितेन्द्रले डबल्समा भने कुमार अधिकारीसंग मिलेर उपाधि नै जिते। उक्त जोडीले फाइनलमा सन्तोष खत्री र दावा शेर्पालाई ६–३ र ६–३ को सोझो सेटमा हरायो।

मिक्स डबल्समा श्रीराम मगर र इरा रावतको जोडीले गंगा शर्मा र शक्ति शर्माको जोडीलाई ६–३, ६–२ तथा संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले नवीन पुन र प्रेरणा कोइरालाको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै फाइनलमा पुगे। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठ च्याम्पियन बने। उनले फाइनलमा ज्ञानेन्द्र ताम्राकारलाई ४–२, ४–१ ले हराए।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले निरज थापालाई ६–२, ६–३ तथा कमल भण्डारीले राजु श्रेष्ठलाई ६–०, ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे। ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोज शाहले समिर शेरचनलाई ६–०, ६–२ तथा प्रदीप शाहले प्रताप मोक्तानलाई ६–२, ३–६, १०–५ ले निराश पार्दै फाइनल यात्रा तय गरे।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप तथा पृथ्वी गुरुङ र राजेन्द्र गैरेको जोडी उपाधिका लागि भिड्ने छन्।

सेमिफाइनलमा उक्त जोडीले क्रमशः कर्म घले र पृथ्वी थाकालीको जोडीलाई ६–३, ६–२ तथा सहदेव ढुंगाना र ध्रुव गुरुङको जोडीलाई ६–०, ६–४ को सीधा सेटमा हराए।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज लामाले दिलिप सिंहलाई ६–२, ६–१ तथा प्रदीप शाहले ध्रुव गुरुङलाई ६–४, ६–३ को सोझो सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell