PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गोविन्द केसीको माग पूरा गर्न नसकेकोमा भट्टराईको आत्मालोचना



गोविन्द केसीको माग पूरा गर्न नसकेकोमा भट्टराईको आत्मालोचना

काठमाडौँ : एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा रहेका प्रा डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
 
डा भट्टराईले प्रा डा केसीको माग जायज भएको उल्लेख गर्दै आन्दोलनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाए। केसीको अनशनस्थल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान पुगेका भट्टराईले चिकित्सा क्षेत्रमा भित्रिएको माफियाकरण रोक्नका लागि सुरु भएको आन्दोलन एउटा निष्कर्षमा पुग्नुपर्ने बताए।
 
शिक्षा र स्वास्थ्यका विषयमा कुनै पनि सम्झौता नहुने उल्लेख गर्दै उनले भने, “विगतमा आफूले सरकारको नेतृत्व सम्हाल्दासमेत उहाँले उठाउनुभएको मागको उचित सम्वोधन गर्न सकिन, त्यसका लागि म लज्जित छु।”
 
उनले प्रा डा केसीले राखेको माग तत्काल पूरा गर्न सरकारसँग माग गरे। गत आइतबारदेखि विभिन्न दशबुँदे माग राखी अनशनमा बसेका प्रा डा केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको छ।
 
यसैबीच एमाओवादीका उपाध्यक्ष नारयाणकाजी श्रेष्ठले पनि प्रा डा केसीले उठाएको माग जायज रहेको भन्दै उनले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्ने राससलाई जानकारी दिए। “शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा हुनुपर्छ, राज्यले नै उचित व्यवस्थापन गर्नुपर्छ भन्ने प्रस्ट भएको छ”, श्रेष्ठले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell