PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’



पहिलोपोस्ट

स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’

काठमाडौं : कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेको आरोप खेपिरहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी हेडक्वार्टरले सोधेको स्पष्टिकरणबारे बुझ्न कानुन व्यवसायीसहित प्रहरी हेडक्वार्टर पुगेका छन्। 

सिलवाल काठमाडौं प्रहरी प्रमुखको गाडीमा स्पष्टिकरण पत्र लिएर हेडक्वार्टर पुगेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर स्पष्टिकरणको कानुनी प्रक्रिया लगायतबारे बुझ्न उनी सोमबार बिहान प्रहरी हेडक्वार्टर पुगेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। 

खनालले भने ‘सिलवाललाई पक्राउ गरिएको हैन। स्पष्टिकरणको प्रक्रियाका लागि कानुनी व्यवसायीसँग हेडक्वार्टर आउनुभएको हो।’

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पिसिसी) बैठक बहिस्कार गरेपछि सिलवाललाई हेडक्वार्टरले स्पष्टिकरण सोधेको थियो। यस्तै सिलवालले कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेको आरोप छानविनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानविन टोली समेत गठन गरेको थियो।

डिआइजी सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्याङकन फाइल छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो। छानबिन टोलीको संयोजनको जिम्मा  डिआइजी विजयकुमार भट्टलाई दिइएको छ। 

टोलीका सदस्यहरुमा एसएसपी पवन खरेल, एसपी राजुबाबु श्रेष्ठ, डिएसपी मोहन थापा र एकजना प्रहरी निरीक्षक छन्। समितिलाई कासमु फाइलको छानबिन गर्नु भने पनि विवरण कहिलेसम्म बुझाइसक्नु पर्ने भन्ने उल्लेख गरिएको छैन। 

‘हामीलाई फाइलको छानबिन गर्न भनिएको छ’, समितिका एक सदस्य एसएसपी पवन खरेलले भने, ‘गृह मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो।‘ 

यसअघि गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहितको बैठकमा डिआइजी सिलवालले नक्कल प्रतिसमेत राख्न नमिल्ने कार्य सम्पादन मूल्यांकन विवरणलाई तोडमोड गरेर अदालतमा बुझाएको देखिएको भन्दै सरकारी कागजात कीर्ते आरोपमा कारबाही गर्न छलफल भएको थियो।

कार्यसम्पादन मूल्यांकन फाइल कसैले पनि राख्न नपाउने व्यवस्था हुँदाहुँदै सिलवालले आफ्नोसहित अर्यालको पनि विवरण आफ्नो रिटसँगै अदालतमा पठाएकाले आवश्यक अनुसन्धान हुने महान्यायाधिवक्ता श्रेष्ठले पहिलोपोस्टलाई बताएका थिए। 'अनुसन्धानबाट कस्तो रिपोर्ट आउँछ त्यसै अनुसार कारबाही हुने नहुने टुङ्गो लाग्छु उनले भनेका थिए।'

गत चैत २८ गते सरकारले डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजी नियुक्त गरेपछि भोलिपल्ट अदालत खुल्ने बित्तिकै डिआइजी नवराज सिलवाल कार्यसम्पादन मूल्याङकनमा अर्यालभन्दा आफू अगाडि रहेको दावी गर्दै अदालत पुगेका थिए।

उनले आफ्नो र अर्यालको कार्यसम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए। सिलवालले अदालतमा बुझाएको फाइल सरकारी रेकर्डमा भएको भन्दा फरक परेपछि प्रधानमन्त्री, महान्यायाधिवक्तालगायतको बैठकमा छलफल भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell