PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राज्य जनतासँग लडिरहन सक्छ? मधेसकेन्द्रित ६ दलको एकतापछि महन्थको चुनौति 



राज्य जनतासँग लडिरहन सक्छ? मधेसकेन्द्रित ६ दलको एकतापछि महन्थको चुनौति 

काठमाडौँ : ६ वटा मधेसकेन्द्रित दलको एकताबाट गठन भएको राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेसलाई गोरखा राज्यकै सोचमा विभेद गरेको तर सुधार नगरेको भन्दै आक्रोश पोखेका छन्। 

पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यले गोरखा राज्यको चरित्र बदल्न नसक्दा मधेस विद्रोही बनेको बताए।

'गोरखा राज्यको संरचना र सोच दुबै अहिलेसम्म बदलिएन, थोत्रो भएको हुनाले यो राज्य मक्किएको र धराप बनेको छ,' अध्यक्ष ठाकुरले भने, 'यो राज्यले अहिलेसम्म प्रतिपक्ष विचारलाई सम्मान गर्न जानेन। त्यसैले लोकतन्त्र धरापमा छ, यो राज्य नै धरापमा छ।' 

उनले जो धरापमा छ, उसैले सबैभन्दा चर्को बोल्ने र जनता विभाजित गरेर राजनीति गर्ने सोच पालिरहेको बताए। 

'मधेस असुरक्षित भयो भने काठमाडौँले पनि सुरक्षित नसम्झे हुन्छ,' ठाकुरले जोस्सिँदै भने, 'भलै पानी उत्तरबाट दक्षिण बहन्छ। तर जीवन दक्षिणबाट उत्तर बहन्छ, मधेसलाई दबाएर काठमाडौंले सुरक्षित नसम्झे हुन्छ।' 

मधेसमा आन्दोलन हुने हल्ला चल्दा यहाँ पेट्रोलको लाइन देखिएको भन्दै अर्थतन्त्रको राजधानीलाई पैतालामुनि राखेर देश विकास कल्पना नगर्न चेतावनी दिए।   

शक्तिशाली पार्टी बनेको भन्दै जोस्सिएका ठाकुरले मधेसीलाई गोली ठोकेको विरोधमा पनि राज्यलाई चुनौति गरे। उनले सप्तरीमा गोली चलाउने अवस्थै नभएका बेला गोली चलाएको रिपोर्ट सरकारी अधिकारले नै गरेको भन्दै राज्यले गोलीबाट मधेसीलाई तर्साउन एमाले नेता फर्किएपछि गोली चलाएको बताए। 

'२ करोड जनतामा १० हजार मरे भने पनि जनता लडन छोड्दैनन् तर, के १० हजार सेना मरे भने राज्य जनतासँग लडिरहन सक्छ?,' ठाकुरले राज्यलाई चुनौति गरे, 'राज्य यही अवस्थामा लड्दै जाने हो भने आफै खतरामा पर्छ। शासकहरुले राज्य कमजोर बनाउँदैछन्।'

महन्थले राष्ट्रियताको नारा लगाउनेहरुले देश र प्रदेशको सीमा छुट्टाउन नसकेको भन्दै ४६ सालको नाकाबन्दीमा सबैभन्दा बढी लड्ने र सम्बन्धको सेतु बन्ने काम कसले गर्‍यो भन्दै प्रश्न गरे। 'राष्ट्रिय भनिएका पार्टीले देश र प्रदेशको सीमा चिन्दैनन् भने जनताले सीमा खोज्नु पर्योर कि परेन अनि सीमा कहाँ भेटिन्छ?' ठाकुरले प्रश्न गरे।
 
उनले मधेसमाथिको विभेदको उदाहरण दिँदै सात सय ४४ स्थानीय तह बनाउँदा मधेसलाई दुई सय ६४ र पहाडमा चार सय ८० तोकिएको भन्दै विभेदले हद नाघेको बताए। 

'अब मधेसमा स्थानीय तहको संख्या बढाउने रे,' ठाकुरले भने, 'बढाउन पर्दैन। जनसंख्याको अनुपातमा समान मात्र बनाए पुग्छ।' 

उनले स्थानीय तहको संख्याकै आधारमा बजेट जाने भन्दै त्यसकै आधारमा शिक्षा, स्वास्थ्य र रोजगारी हुने हुँदा त्यो जनतामाथिकै विभेद भएको बताए। 

'प्रतिनिधिसभाका लागि एक सय ६५ निर्वाचन क्षेत्रमा ६५ मात्र मधेसमा छन्,' उनले आक्रोश पोख्दै भने, 'जनताको प्रतिनिधि भएकैले जनप्रतिनिधि भनिएको हो नि।' 

उनले काठमाडौँलाई नेपाल र सिंहदरबार आसपासकालाई मात्र नेपाली देख्ने शासकका कारण देश समस्यामा रहेको बताए।  

संविधान सभाबाट प्रक्रिया मिचेर संविधान जारी गरेका दलहरुले अहिले त्यही संविधानमा सहभागिता जनाउन आफूहरुलाई बिन्ती गरिरहेको उनले बताए। 'हिजो संविधान जारी गर्दा हाम्रो सहभागिता चाहिएन, आज कार्यान्वयन गर्न र चुनाव गर्न हाम्रो सहभागिता चाहियो?', उनले गर्जँदै भने, 'गरेर देखाउनुस् हाम्रो सहभागिता बिना चुनाव।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell