PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपति भारत भ्रमण तेस्रो दिन : धार्मिक यात्रामा व्यस्त

राष्ट्रपति भारत भ्रमण तेस्रो दिन : धार्मिक यात्रामा व्यस्त

रासस/पहिलोपोस्ट


राजकोट (गुजरात, भारत) : भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरिन्। 

गुजरातको राजकोटमा अपराह्न आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई गुजरातका गृह, शिष्टाचार तथा संसदीय मामिला मन्त्री प्रदीप जडेजा लगायतका गुजरात सरकारका उच्च पदाधिकारीले राजकोट विमानस्थलमा स्वागत गरेका थिए। 

राजकोट विमानस्थलबाट सिधै राष्ट्रपति भण्डारी भारतीय वायुसेनाको हेलिकप्टरबाट भारतको प्रसिद्ध तीर्थस्थल सोमनाथ तथा द्वारिकाधाम पुगी त्यहाँ भ्रमण तथा पूजाआजा गरिन्। सोमनाथलाई भगवान् शिवजीका १२ ज्योतिर्लिङ्गमध्ये पहिलो ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गरिन्छ । राष्ट्रपति सोमनाथ मन्दिर क्षेत्रमा पुग्दा स्थानीय तथा मन्दिर व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए। 

राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डललाई भारतीय वायुसेनाको हेलिकप्टरबाट सोमनाथ तथा द्वारिका भ्रमण गराइएको थियो। 

यसलगत्तै राष्ट्रपति सोही हेलिकप्टरबाटै द्वारिकानाथ धाम पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गरिन्। साथै, राष्ट्रपति भण्डारीले चढाएको तथा पूजा गरेको ध्वजा मन्दिरमा फहराइएको थियो । 

सोमनाथ तथा द्वारिकाधाम भ्रमण सम्पन्न गरेर राष्ट्रपति भण्डारी आज साँझ ७ः३० बजे राजकोट फर्किन्। राष्ट्रपतिको आजको भ्रमणदलमा शान्ति मन्त्री सीतादेवी यादव, सांसदहरु, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारी, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलगायत रहेका थिए। 

राष्ट्रपति भण्डारीको सम्मानमा आजै साँझ गुजरात राज्यका मुख्यमन्त्री विजयभाइ रुपनीले रात्रिभोजको आयोजना पनि गरेका थिए। रासस 


ट्रेन्डिङ पोस्ट

Ncell