PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

झापाको मतदाता नामावलीमा छैन केपी ओलीको नाम



झापाको मतदाता नामावलीमा छैन केपी ओलीको नाम

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली हालको व्यवस्थापिका संसदमा झापा क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्छन्। यसअघि शरणामती-६ झापाबाट मतदान गर्दै आएका ओलीको नाम यस पटक भने त्यहाँको मतदाता नामावलीमा छैन। 

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७४ का लागि फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएकाको अन्तिम मतदाता नामावली निर्वाचन आयोगले यसै साता सार्वजनिक गरेको छ। 

झापाको मतदाता नामावलीमा नाम नभए पनि ओलीको नाम भक्तपुरमा भने छ। यसअघि झापाको मतदाता रहँदै आए पनि यस पटक भने उनले आफ्नो नाम भक्तपुरमा सारेका हुन्। 

भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। 

उनले सूर्यविनायक नगरपालिकाको मेयर, उपमेयर र वडा नम्बर २ का अध्यक्ष र सदस्यहरुलाई चुन्न मतदान गर्ने छन्। यदि उम्मेदवार बन्नुपर्ने स्थिति थियो भने जुन नगर वा गाउँपालिकाको मतदाता नामावलीमा नाम छ, त्यही नगर वा गाउँपालिकामा मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ। 

ओली २०४८, २०५१ र २०५६ गरी लगातार तीन वटा आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनले शरणामती-६ झापाबाट मतदान गरेका थिए। 

पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए पनि  दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नम्बर ७ बाट नै विजयी भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell