PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भाइ 'जिग्री'को नजरमा दाइ 'धुर्मुस' 



भाइ 'जिग्री'को नजरमा दाइ 'धुर्मुस' 

काठमाडौँ : चार महिनाअघि हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सप्तरीको गम्हरिया प्रवाहाका दृष्टिविहीन परिवारको लागि घर निर्माण गर्ने घोषणा गरेका थिए।  

घोषणा गरिएको त्यो घर निर्माण अभियान वैशाख २ गतेबाट सुरु भयो। वैशाख एक गते महोत्तरीको मुसहर बस्ती घोषणा गरेसँगै जिग्री पाँडे फाउन्डेसनको घर निर्माण शिलान्यासका लागि सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' सप्तरी पुगेका हुन्।

बाल मैत्री, अपाङ्ग मैत्री र स्वच्छ वातावरणमा निर्माण गर्न लागिएको घर दृष्टिविहीन परिवारको लागि हो। परिवारमा १७ जनाको सङ्ख्या रहेको छ। 
सो अभियान सुरु गर्न दाइ सीताराम कट्टेलबाट प्रेरणा मिलेको बताउँछन् जिग्री। भने,'राष्ट्रले सम्मान गरेको दाजुको भाइ हुनुले गर्व महसुस त गराउँछ नै। साथै जिम्मेवारी बोध पनि गराउने रहेछ। चुप लागेर बस्नै सकिनँ।' 

यी दुई हास्य कलाकार झापा गौरादहका आमा कमला कट्टेल र बुवा बोगराजका सन्तान हुन्।

सामाजिक कार्य एवं कलाकारितामा पनि धुर्मुसको निकै साथ र सहयोग मिल्ने गरेको बताउँछन् उनी। दाइको कलाकारिता प्रभावका कारण कुमार पनि कलाकारितामा सक्रिय रहेर काम गर्दै आएका छन्। उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृङ्खला 'भद्रगोल'का लेखक तथा कलाकार पनि हुन्। 

अब उनले सीताराम कट्टेलले देखाएको कलाकारिता मात्र नभएर सामाजिक कार्यको बाटो पनि हिँड्न सुरु गरेका छन्। छोटो समयमा लोकप्रिय बनेका जिग्री धुर्मुसलाई नै प्रेरणाको स्रोत मान्दै आएका छन्। 

कुमारले पहिलोपोस्टसँग आफ्नो नजरबाट धुर्मुसको यसरी बखान गरे: 

भर्सटायल कलाकार 

धुर्मुसको कलाकारितामा भर्सटालिटीको फ्यान हुन् जिग्री। उनले धेरै पात्रको भूमिका फरक स्वर र फरक रुपमा गर्न सक्ने कला देखेर निकै प्रभावित भएको सुनाउँछन्। 'मेरी बास्सै' छोटो समयमा लोकप्रिय बन्नुमा पनि धुर्मुसले दिने प्रस्तुतिले धेरै असर गरेको उनले बुझेका छन्। भन्छन्, 'उहाँ जस्ता कुशल र ट्यालेन्टेड कलाकार निकै कम छन्।' 

राष्ट्रको आइडल 

कुमार कट्टेल दाजु सीताराम कट्टेललाई राष्ट्रको आइडल मान्छन्। धुर्मुसले कलाकार बनेर होस् वा समाजसेवी वा परिवारको सदस्य मात्र रहेर पनि आफ्ना जिम्मेवारीहरुबाट पछि कहिले पनि हटेनन्। कुमार भन्छन्,'कर्तव्य र दायित्वलाई कहिले नकार नगर्नाले आज उनले तीन बस्ती स्थापना गरे। उनको कार्यबाट प्रभावित धेरैको लागि उनी आइडल हुन्।'  भने, 'उनी राष्ट्रको आइडल हुन्।'

सफा मन 

मान्छेको मन जस्तो छ ऊ बाहिर पनि त्यस्तै प्रस्तुत हुन्छन् भन्ने कुमारलाई लाग्छ। र, धुर्मुसको सफलता र लोकप्रियता उनको सफा मनको उपज भएको उनी सुनाउँछन्। भने, 'मन सफा र इमानदार नभएको भए उनले आज पाएको माया सम्मान कहाँ पाउँथे र?' 

दृढ इच्छाशक्ति 

नाम र दामले मान्छेलाई कहिले पनि पुग्दैन। तर कमाइ रहेको नाम, दाम सबै त्यागेर धुर्मुस, धुर्मुस सुन्तली फाउन्डेसनमार्फत् समाजमा सक्रिय रहे। उनले काभ्रेमा पहरी बस्ती, सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती र महोत्तरीमा मुसहर बस्ती स्थापना गरे। यदि धुर्मुस सुन्तलीमा इच्छाशक्ति नभएको भए न आज बस्ती हुन्थ्यो न धुर्मुस सुन्तली उदाहरण नै बन्थे। पहिलो बस्ती निर्माणमै विभिन्न संकट, आरोप, दोषको सामना गरेका धुर्मुस अलिकति पनि विचलित भएनन्। 

'राष्ट्र निर्माणमा योगदान पुर्याकउँछु भन्ने इच्छाशक्तिले आज धेरैले छत पाए,' उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell