PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जब सिन्दूरले पूरै क्षेत्र रङ्गियो, सिन्दूर जात्राका १३ फोटो

जब सिन्दूरले पूरै क्षेत्र रङ्गियो, सिन्दूर जात्राका १३ फोटो


मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज बिहान हर्षोल्लासका साथ सिन्दूरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये  सिन्दूर जात्रा पनि अति प्रसिद्ध जात्रा हो। 

थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो। 

जात्रा सुरु भएपछि पमाहरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ। 
थिमिमा २६ वटा खट सहभागी रथ बोकेर जात्रा परम्परागत रुपमा मनाएका छन्। यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ। 

विगतमा ३२ वटा खट जात्रा हुने गरेपनि पछिल्लो केही वर्षदेखि नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराहीको खट बालकुमारीमा नल्याई आ–आफ्नै ठाउँमा जात्रा गर्ने भएपछि २६ खटको मात्रै जात्रा गरिएको हो। 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा रहेको छ। जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ। 

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो। 

एकअर्कामा सौहाद्पूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवार बाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ। जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटककोसमेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो। राससको सहयोगमा 


ट्रेन्डिङ पोस्ट

Ncell