PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बितेको वर्षका चर्चित १० अपराधका घटना



सविन ढकाल

 बितेको वर्षका चर्चित १० अपराधका घटना

काठमाडौँ : विक्रम संवत् २०७३ मा विविध अपराधका घटना देशमा भए। ती मध्ये चर्चित १० घटनालाई यहाँ समेटेका छौँ। 

१. मनिषा हत्याकाण्ड


जेठ १३ गते एउटा समाचारले सबैको ध्यान तान्यो। नेपाली फुटबल स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मनीषाको रहस्यमय मृत्यु। प्रहरी घटनास्थल पुग्दा मनिषाको टाउकोदेखि कम्मरसम्म पलङमा थियो भने नजिकै राखिएको टि टेवलमा उनको खुट्टा थियो। कोठामा रहेको पङ्खाको तार चुँडिएको अवस्थामा थियो।

अर्को कोठामा रहेको सीसाको सोकेस फुटेको थियो। मनीषाको घाँटीमा नीलो डाम र रगत थियो। त्यसपछि प्रहरीले त्यहाँ भएका सवुत प्रमाण बटुल्यो र मुचुकल्का उठायो। 

छिमेकीसँगको सोधपुछपछि प्रहरीले मनीषाका प्रेमी आशिष भनिने २२ वर्षीय रुद्रनारायण चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लियो। उनको घरबाट प्रहरीले खरानी रंगको टिसर्ट र नजिकै रहेको पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रंग सल पनि बरामद गर्‍यो।

मनीषाको आत्महत्या नभएर हत्या भएको शंकामा आशिष चौधरीविरुद्ध त्यसै दिन मनिषाका काकाले  ज्यान मुद्दामा जाहेरी दर्ता गराए। त्यसपछि प्रहरीले चौधरीसँग प्रारम्भिक अनुसन्धान थाल्यो। 

अनुसन्धानका क्रममा मनीषा र आशिषबीच प्रेम सम्बन्ध रहेको र विवाद पछि रहस्यमय मृत्यु भएको खुल्यो। वैशाख १२ गते आशिषले पटकपटक मनिषालाई फोन सम्पर्क गरे। तर, मनिषा सम्पर्कमा आइनन्। दिनभरजसो मनिषाले फोन नउठाएपछि आजित बनेका आशिषले मनिषाकी साथी शिलुलाई फोन गरे। शिलुलाई आशिषले फोनमा    ‘मनिषालाई फोन उठाउ भन, नत्र जे पनि हुनसक्छ’ भन्ने धम्की दिए।

मनिषा र अशिषको प्रेम विवादले अझै उग्ररुप लिँदै थियो। शिलुले मनीषालाई दिएको धम्की सुनाएपछि उनले आशिषलाई फोन गरिन्। मनिषाले रातको साढे ७ बजे आफ्नै घरमा बोलाइन्। मनिषाका दाजु विमल घर्तीमगर उपचारका लागि बेल्जियम गएका थिए। आमा बुटवलमा, मनिषा एक्लै थिइन् घरमा। मनिषाले नै फोन गरेपछि आशिष नशाको सुरमा उनको घर पुगे। चौधरी प्रेमको विवाद र रक्सी दुवैमा सम्हालिने अवस्थामा थिएनन्। भेट हुनेबित्तिकै दुईबीच कुटाकुट भयो। प्रहरीको अनुसन्धान पछि उनका प्रेमी चौधरीलाई हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। अदालतको फैसला भने अझै आइसकेको छैन।

२. ३३ केजी सुन काण्ड, एसएसपी नै मुछिए

पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गर्‍यो। दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको ३३ केजी सुनसहित मोरङका दीनबन्धु थापा, बाँके नेपालगञ्जका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका थिए ।

३३ केजी सुन काण्डले देशभर नै चर्चा पायो। मन्त्रीदेखि व्यापारी समेत  तस्करीमा सामेल भएको शंका गरियो। प्रहरीले मन्त्री र ठूला व्यापारीलाई कानुनको कठघरामा उभ्याउन नसके पनि संगठनकै एसएसपी श्याम खत्री भने पक्राउ परे। विमानस्थलमा कार्यरत खत्रीले सुन तस्करसित मिलेर सुन छिराएको प्रहरीको अनुसन्धानमा देखियो। त्यस्तै भन्सार विभागका राजकुमार ढकाल, श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठको समेत सुन तस्करमा संलग्नता देखिएको भन्दै मुद्दा दायर भयो। दुई महिनाको लामो अनुसन्धानपछि ब्यूरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको निश्कर्ष निकाल्दै ३२ जनाको नाम सार्वजनिक गरियो जसमध्ये १२ जना पक्राउ परे।  ३३ केजी सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन्। 

चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। त्यसैगरी यो मुद्दामा पक्राउ परेका अन्य चार जना मनोज श्रेष्ठ, सपन श्रेष्ठ, राजेश शाक्य र सुनील श्रेष्ठ एक-एक लाख धरौटीमा छुटेका छन्। उनीहरु विरुद्ध संगठित अपराधको मुद्दा दायर गरिएको थियो। 

गोपाल शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले र राजकुमार कार्कीलाई भने थुनामा पठाइएको छ। त्यसैगरी भन्सार कर्मचारीहरु राजकुमार ढकाल, श्रीनारायण यादब र श्यामकृष्ण श्रेष्ठलाई पनि अदालतले थुनामा पठाएको छ। 

३. नेपाली मूलका मोस्ट वान्टेड समसुल होदा 

पाकिस्तानी आतंकवादी समूहसँग मिलेर भारतविरोधी गतिविधि संलग्न रहेको आरोप समसुल होदा पक्राउ परे। बारामा भएको दुई भारतीय नागरिकको हत्याको अनुसन्धानको क्रममा होदासम्मको जालो खुल्यो। ब्युरोको अनुसन्धानकै आधारमा भारतमा तीन जना पक्राउ परे। नेपालमा बृजकिशोर गिरीसहित ४ जना।

अनुसन्धानका क्रममा होदाको सम्पर्क पाकिस्तानमा देखिएपछि गम्भीर भएको ब्युरोले ‘ट्रिक’ लगाएर दुबईमा रहेका होदालाई नेपाल ल्याउन सफल भयो। 

पुस २४ मा पर्सा प्रहरीले हत्याको आरोप लागेका बृजकिशोर गिरीलार्इ ६ राउण्ड हवार्इ फायर गरी पक्राउ गरेको थियो। बाराको जंगलमा भारतीय नागरिक दीपक राम र अरुण रामको शव फेला परेको थियो। यही घटनाको अनुसन्धानकाक्रममा गिरीको संलग्नता खुलेपछि विशेष ब्युरो र बारा प्रहरी उनलाई पक्राउ गर्न जाँदा भगाउने प्रयास भएपछि गोली नै हानेर समात्नु परेको थियो। 

अनुसन्धानमा होदाले दुबईमा रहेका अर्का एक व्यक्तिको निर्देशनमा नेपाली र भारतीय नागरिक परिचालन गरी उनले आतंकवादी समूह चलाएको खुल्यो।  बाराको जङ्गलमा फेला परेको भारतीय नागरिक दीपक राम र अरुण रामको हत्याको कारण भारतीय रेल्वे ट्रयाकमा विष्फोट गर्न नमान्नु देखियो। ब्युरोको अनुसन्धानमा होदाको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग रहेको खुल्यो। सफीले होदालाई पैसा पठाएको र उनले त्यही पैसा गिरी समूहलाई दिएर भारत बिहारको घोडासनमा रहेको रेल्वे ट्रयाकमा विष्फोट गराउने प्रयास गरेको देखियो।

४. युवा नेताहरुको हत्या

एमालेको भ्रातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई पुस ४ गते रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा अज्ञात समूहले गोली प्रहार गर्‍यो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। तिवारीको हत्याको विरोधमा एमालले सडकदेखि सदनमम्म ततायो। तिवारीको हत्यारा पत्ता लगाउन गृहमन्त्रालयले तत्कालीन एआइजी  विज्ञानराज शर्माको संयोजकत्वमा ५ सदस्य छानविन समिति नै बनायो। घटना भएको दिनबाट नै तिवारीको हत्या स्थानीय युवा मनोज पुनले गरेको भन्दै प्रहरी खोजी कार्यमा जुट्यो। पुनले फोन गरेर नै हत्या जिम्मेवारी लिएको प्रहरीले दावी गर्‍यो।

लामो समयको अनुसन्धानपछि पुनको योजनामा विकास भनिने सोमबहादुर आले र श्याम गुरुङले नेपालमा बसेर तिवारी हत्याको योजना बनाएका अनुसन्धानमा देखिएको भन्दै पत्रकार सम्मेलन गरेर  हत्यामा संलग्न बाबु भनिने तुलबहादुर सिंजाली, बसन्तबहादुर चापागाईं, बुद्धिसागर यादव, राजेश यादव, प्रयास भनिने खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिकुमार कुमाल तिवारीलाई सार्वजनिक गरियो। मुख्य योजनाकार पुनलाई भने अझै प्रहरीले पक्राउ गर्न सकेको छैन। 

चैत १५ गते  नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको अज्ञात समूहले ढुङगाले हानेर हत्या गरियो। त्यसको केही दिनमा नै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला कार्यसमितिका सदस्य ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई हत्यामा संलग्न भन्दै सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार पार्टीको निर्देशन नभई व्यक्तिगत रिसइबी र ठेकेदारी विवादको कारण उनीहरुले शाहको हत्या गरेको खुलेको छ।

हत्यामा संलग्न प्रेम ‌ओली, मोहित शाही र दीर्घ नेपाली भने फरार छन्। उनीहरुको खोजी भइरहेको अवस्थीले बताए। हत्या हुनुभन्दा केही समयअघि उनीहरुले चन्दा माग्दै मार्ने धम्की दिएको अनुसन्धानमा खुलेको थियो।

६. बढ्दो ठगी, फेमिना जस्ता नटवरलालको उपस्थिति 

प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ तरिका देखिए। यस वर्ष भर्चुअल अपराध पनि धेरै भए। नक्कली जग्गा देखाएर ठगी, चिठ्ठा पर्‍यो भन्दै फेसबुकबाट ठगी, विदेश पठाइदिने भन्दै गरिने ठगी बढी देखिए। 

य वर्ष विवाह गरेर युवकलाई फँसाउने फेमिना चर्चामा आइन्। रोजगारीको सपना देखाएर ठगी गर्ने श्रृंखला नयाँ हैन। वैदेशिक रोजगारीका नाममा ठगिनेको संख्या उच्च देखिन्छ।  ८ वर्षको अन्तरालमा उजुरी दिनेको सङ्ख्या झन्डै ४ गुणाले बढेको विभागको तथ्यांकले यो थप बढ्दो क्रममा रहेको देखाउँछ।

विभागको तथ्यांक अनुसार हरेक वर्ष ८ सय हाराहारी ठगीको उजुरी दर्ता हुने गरेको छ। उजुरीमा दाबी गरिएको रकम जोड्दा वार्षिक २ अर्ब हाराहारी पुग्छ। उजुरीको संख्या अनुसारको कारवाहीको तथ्यांक हेर्ने हो भने विभाग निरीह देखिन्छ।

तथ्यांक अनुसार आर्थिक बर्ष २०६५/०६६ मा विदेश पठाउँछु भनेर ठगी गरेको भन्दै ८ सय ६५ जनाले उजुरी दिएका थिए । आर्थिक वर्ष ०७२/०७३ पुग्दा उजुरीको संख्या ३ हजार हाराहारी टेकिसकेको छ। आर्थिक jर्ष २०६६/६७ मा ६ सय ५५ वटा उजुरी दर्ता भएको थियो। 

७. विद्युत मिटर बिगार्नेहरु फन्दामा

माघ ९ गते महानगरीय अपराध अनुसन्धान महाशाखाले विद्युत चोरी र मिटरमा छेडछाड गरेर राज्यको राजस्व चुहावट गर्न संलग्न १६ जना पक्राउ गरी सार्वजिक गर्‍यो।  

नेपाल विद्युत प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठ, भक्तपुरका पूर्व सुपरभाइजर भगवान पाण्डे, मिटर रिडर टहलबहादुर कार्की, हेटौँडाका मिटररिडर महादेव प्रधान, इलेक्ट्रिसियन अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुङ्गाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन पहिलो चरणमा नै पक्राउ परे। 

अहिलेसम्म २३ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। उनीहरुले काठमाडौँ, भक्तपुर, हेटौँडा लगायतका स्थानमा रहेका कारखाना तथा निजी घरमा जडित मिटरको सिल तोडी कम महसुल देखाएर ५० हजारदेखि १० लाखसम्म लिने गरेको खुल्न आएको छ। यसरी प्रहरी भटाभट कर्मचारीलाई पक्राउ गर्न थालेपछि कुकार्यमा संलग्न कर्मचारीको भागभाग नै भयो। 

८. एटिएम ठगी, १३ विदेशी र १२ भन्दा बढी नेपाली पक्राउ


यस वर्ष अरुको एटिएम कार्डको डाटा चोरी गरी  पैसा झिक्ने घटनाले नेपाली एटिएम प्रयोगकर्तालाई नराम्ररी झस्कायो। केन्द्रीय अनुसन्धान व्युरोले एक वर्षमा अवैध रुपमा एटिएम मेसिनबाट पैसा झिक्ने १३ जनालाई पक्राउ गर्‍यो। उनीहरुको साथबाट सयौ एटिएम कार्ड र लाखौँ रुपैयाँ बरामद भयो। साउन १७ गते रोमानियाली नागरिक नेपाली रुपैयाँ २ लाख ६४ हजार र ६० थान एटिएम सहित लाजिम्पाटको शंकर होटेलबाट पक्राउ परे। उनी विदेशबाट नै एटिएमबाट अवैध तरिकाले पैसा झिक्ने योजना नेपाल बनाएर आएका थिए। कातिक ११ गते दुई बुल्गेरियन  नागरिक  ठमेलबाट अमेरिकी डलर १७ हजार २ सय ५० र ६ सय  यूरोसहित पक्राउ परे। उनीहरुले एटिएम मेसिनमा हिडेन क्यामरा फिट गरेर पिनकोड र डाटा चोरी गरी पैसा झिक्ने गरेको अनुसन्धानमा खुलेको थियो। 

त्यसको केही सातामा नै  ३ जना रोमानियनलाई ३ सय ५३ थान एटिएमसहित ठमेलबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको ठगीको शैली पनि यसअघि पक्राउ गरिएका बुल्गेरियन नागरिकको झैँ थियो। 

त्यसैगरी दुई टर्किस नागरिक पक्राउ परे भने वर्षको अन्तिममा पनि ४ मोल्दोभियन नागरिक पक्राउ परे। चैत ८ गते राजधानीका विभिन्न स्थानबाट अरुको एटिएमको डाटा चोरी गरी स्वाइप मेसिन प्रयोग गरेर पैसा झिक्ने ८ जना नेपालीसमेत पक्राउ परे।

पक्राउ पर्नेहरुमा ललितपुरका ३१ वर्षीय केवलबहादुर जबरा, ३१ वर्षीय अभिषेक पाण्डे, काठमाडौंका ३४ वर्षीय सुरेश केसी, ३० वर्षीय अनुज नकर्मी, २३ वर्षीय रोशन महर्जन, २३ वर्षीय रोमन मर्जन, ललितपुरका ३२ वर्षीय विजय लामा दोङ र २९ वर्षीय नदिम खान रहेका छन्।
उनीहरुले व्यापारीहरुसँग मिलेर स्वाइप मेसिन भएका पसलबाट दैनिक ५ देखि १० लाखसम्म झिक्ने गरेका थिए। यसरी झिकेको रकम मध्ये ६० प्रतिशत आफू र बाँकी व्यापारीलाई दिने गरेको खुलेको छ। उनीहरुले अनलाइनको चोर बजारबाट पैसा तिरेर एटिएमको डाटा चोरी गरी अर्को कार्डमा सारेर स्वाइप मेसिनबाट पैसा झिक्ने गरेका थिए। 

९. नक्कली डाक्टर र पाइलटको भागाभाग


यस वर्ष केन्द्रीय अनुसन्धान व्युरोले चलाएको अपरेसन क्वाक र हकले निकै चर्चा कमायो। नक्कली पाइलट र चिकित्सकको भागभाग नै मच्चायो यो अपरेसनले। 

देशभरका विभिन्न अस्पताल र मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्र लिएर काम गरिरहेका ५९ जना नक्कली चिकित्सक जालमा परे। त्यस्तै २ जना विमान चालकले पनि नक्कली प्रमाण पत्र लिएर चलाएको भेटियो। पहिलो लटमा ३० नक्कली प्रमाणपत्रको छानबिन भएकोमा १८ जना समातिएका थिए। दोस्रो पटक भने एक सय ९ नक्कली प्रमाणपत्रधारीमध्ये ४० जना पक्राउ परेका थिए। त्यसपछि छानविन गर्दै पक्राउ गर्दै आएपछि अहिलेसम्म ५९ जना डाक्टर सिआईबीले नक्कली फेला पारिसकेको थियो । 

१०. लागूऔषध कारोवारमा व्यापारिक घराना


लामो समयदेखि औषधी र ग्यास व्यवसायीका रुपमा परिचित रतन संघाईलाई प्रहरीले साउनको १५ गते पक्राउ गर्‍यो। लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागू औषधको कारोबारीलाई बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 
प्रहरीले संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम सिउडोइफेड्रिक समेत बरामद गरेको थियो। संघाईले लागू औषधमा प्रयोग हुने सिउडोइफेड्रिनको चीन तथा वर्मा आयात गर्ने गरेको अनुसन्धानमा देखिएको थियो । संघाई धरौटीमा छुटे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell