PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गैँडा मारिएपछि चितवन निकुञ्जमा सुरक्षा सतर्कता बढ्यो, थप ५ गाडीमार्फत सुरक्षा गस्ती



रासस

गैँडा मारिएपछि चितवन निकुञ्जमा सुरक्षा सतर्कता बढ्यो, थप ५ गाडीमार्फत सुरक्षा गस्ती

चितवन : शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ।

विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गते राति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए।

आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो। २०७१ वैशाख १९ गते अहिले गैँडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमापर्ने ध्रुव घाटमा गैंडा मारिएको थियो। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार रात्रिकालीन गस्तीमा जोड दिइएको छ। यसअघि चारवटा गाडीले रात्रिकालीन गस्ती गर्दै आएकोमा पाँच वटा थप गरी नौ वटा गाडी परिचालन गरिएको छ।

यहाँ तीन वटा सुरक्षा बेसक्याम्प थप गरिएको छ। अर्यालका अनुसार ५७ वटा स्थायी पोस्टबाट सुरक्षा वेसक्याम्प परिचालन हुने गर्दछ। निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाकाअनुसार अरु थप तीन वेसक्याम्पका लागि अन्य गणबाट थप सेनाको जनशक्ति झिकाइएको छ।

रात्रिकालीन रुपमा मात्रै रहने ३५ वटा वेसक्याम्पलाई बढाएर ४१ पुर्‍याइएको बताउँदै उनले गैंडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको जानकारी दिए।

निकुञ्जका सबै सेक्टरहरुमा मध्यवर्तीका उपभोक्ता, समुदायमा आधारित चोरी सिकार युवाजागरण लगायतसँग निरन्तर छलफल कार्यक्रम सुरु गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई यो समयमा सम्वेदनशिल क्षेत्रको रुपमा लिईने गरिन्छ। यतिवेला गैंडा चर्नका लागि जाने ठाउँहरु उजाड हुने हुँदा टाढैबाट गैंडा देखिन्छ।

विगतको तथ्याङ्कलाई हेर्नेहो भने चैत्र १ गतेबाट जेठ मसान्त सम्ममा तस्करले ६० प्रतिशत गैंडा मारेको देखिन्छ। तस्करले गैंडा मारेपछि सिआइबीको टोलीले अहिले पनि अनुसन्धान जारी राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell