PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

श्रीमतीको हत्या गर्न भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’



राधेश्याम पटेल

श्रीमतीको हत्या गर्न भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’

वीरगञ्ज : सर्लाही घर भई पर्सामा कार्यरत अहेब बबिता पण्डितको हत्याका लागि उनकै पतिले  काकाको छोरा पर्ने भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’ दिएको रहस्य अभियुक्तहरुलाई सार्वजनिक गर्दै बारा प्रहरीले खोलेको छ। 

जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार पति अमरेन्द्र पण्डितले हत्याका लागि भाइ ज्ञानेन्द्रलाई एक लाख रुपैयाँ पेश्की दिएका थिए। 

 प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद उपाध्यायका अनुसार सेन्चुरी बैंकको खातामा एक लाख रुपैयाँ पेश्की दाजुले हालिदिएपछि भाइ ज्ञानेन्द्रले चैत १२ गते शनिबारको दिन जन्मदिन भएको भन्दै दिदी बबितालाई वीरगन्जस्थित कोठमा बोलाएका थिए। त्यहीँ उनको हत्या गरिएको थियो। 

हत्या हुनुभन्दा चार दिन अघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आफू असुरक्षित रहेको भन्दै बबिताले शान्ति सुरक्षा गरी पाऊँ भनी निवेदन दिएकी थिइन्। 

चैत १३ गते बारा प्रहरीले बारा प्रसौनी–८ नौतनको सरेहमा पर्ने सिङ्याही खोला किनारमा घाँटीमा डोरीले थिचेर हत्या गरी बोरामा पोको पारेर फालिएको अवस्थामा एउटा लाश फेला पारेको थियो। 

फेला परेको दुई दिनपछि शव बबिताको भएको सनाखत भएलगत्तै मृतकका श्रीमान अमरेन्द्र र भाइ ज्ञानेन्द्रलाई बारा प्रहरीले चैत २६ गते सर्लाही जिल्लाको सिसौटिया स्थित घरैबाट पक्राउ गरी केरकार गरी रहस्य खुलाएको थियो।

घरायसी झगडा चुलिँदै गएपछि मृतकका श्रीमानले मृतकका भाइलाई नै आर्थिक प्रलोभन देखाई हत्या गर्न लगाएको प्रहरी समक्ष बयान दिएको प्रहरी नायव उपरीक्षक उपाध्यायले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell