PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महासंघ नेतृत्वको दौडधूप : ह्यारिसन होटलमा पशुपति मुरारका र किशोर प्रधानबीच डेढ घन्टा गोप्य बैठक



पहिलोपोस्ट

महासंघ नेतृत्वको दौडधूप : ह्यारिसन होटलमा पशुपति मुरारका र किशोर प्रधानबीच डेढ घन्टा गोप्य बैठक

  • अनन्तराज न्यौपाने

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व सहमतिबाटै चयन गर्न अन्तिम कसरत भइरहेको छ।

शेखर गोल्छा समूहको प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पशुपति मुरारकाले सहमतिको 'तुरुप' फालेपछि एकाएक नयाँ तरङ ल्याएको छ।मुरारको 'तुरुप'ले निर्वाचनको अन्तिम दिनसम्म पनि सहमति हुनसक्ने आशा जगाएको छ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा सहमतिका लागि अहिले द्विपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ तर टुंगो भने लागेको छैन। मोरङ व्यापार संघको ६२औं साधारणसभामा मुरारकाले चैत २९ गते बिहान ८ बजेसम्म सहमतिको प्रयास जारी राख्ने बताएका थिए।

स्रोतका अनुसार साधारण सभाको उद्घाटन समारोह सकिनेबित्तिकै सहमतिका लागि साढे एक घण्टा बैठक गरिएको थियो। होटल ह्यारिसनमा भएको बैठकमा अध्यक्ष मुरारका, पूर्व अध्यक्ष चण्डीराज ढकाल र उम्मेदवार किशोरकुमार प्रधान गरी तीन जना सहभागी थिए। बैठकमा भएको छलफलको विषय भने बाहिर आएको छैन।

‘सहमतिका लागि ह्यारिसनमा बैठक भएको हो’, अध्यक्ष मुरारकाले भने, ‘हामी त्यसै दिन काठमाडौं आयौँ र हिजो शनिबार पनि राति अबेरसम्म सहमतिकै लागि बैठक भएको छ।’ बैठकमा विराटनगरमा उद्योगी सुशील धनावत समेत थिए। स्रोतका अनुसार धनावतको पहलमा ह्यारिसन होटलमा बैठक भएको हो।

स्रोतका अनुसार सहमतिमा अघि बढ्न प्रधानलार्इ मुरारकाले आग्रह गरेका थिए। तर प्रतिउत्तरमा प्रधानले सहमतिका लागि समय घर्किसकेको बताएका थिए। त्यसपछि मध्यस्थ गरिरहेका धनावतले निर्वाचनबाट पछि नहट्ने नभए गोलाप्रथा गर्न सुझाब दिएका थिए। डेढ घण्टा लामो बैठकमा सहमतिका लागि नयाँ पद समेत सिर्जना गर्न सकिने बताएका थिए।

तर दुर्इ वरिष्ठ उपाध्यक्षमध्ये कसलार्इ नयाँ पदमा लैजाने भन्ने बारेमा केही खुलाइएको छैन। विराटनगरको गोप्य बैठकपछि प्रधानले आफ्ना निकटलार्इ छलफलमा उठेको विषय जानकारी गराएका थिए। सहमतिका लागि मुरारकाले राखेको प्रस्तावका बारेमा प्रधान समूहबीच समेत छलफल भएको स्रोतले बतायो।

अध्यक्ष मुरारकाले सहमतिका बैठकहरू जारी राख्दै गर्दा वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारले आफ्नो बटम लाइन वरिष्ठ उपाध्यक्षमा आफू नै हुनुपर्ने दाबी गरेका छन्। ‘व्यक्तिगत रूपमा मेरो निजी विचार सोध्नु हुन्छ भने म सहमतिको पक्षमा छैन, सहमतिले संगठन कमजोर बनाउँछ भन्ने मेरो मान्यता छ’, उम्मेदवार गोल्छाले भने, ‘मैले त निर्वाचनको पूरा तयारी गरिसकेको छु। म निर्वाचन नै हुनुपर्छ भन्ने पक्षमा छु। तर पनि सबै साथीहरूले सहमतिमा आउनुपर्छ भन्नुहुन्छ भने त्यो बेलाको बटम लाइन वरिष्ठ उपाध्यक्षमा मै हुनुपर्छ।’

अर्का उम्मेदवार किशोर प्रधानले आफू सहमतिमा बाधक नबत्रे तर सहमतिका नाममा आत्मसम्मान र स्वाभिमानको सम्झौता नगर्ने दृढता व्यक्त गरे।

‘म जित्ने उम्मेदवार हुँ, महासङ्घमा शेखरजी भन्दा सिनियर पनि हुँ’, प्रधानले भने, ‘त्यसैले यो कार्यकाल गोल्छाजीले मलाई छोड्नु उत्तम निर्णय हुनेछ र यसो भयो भने सार्थक सहमति पनि बन्नेछ। मलाई यो निर्वाचनमा शेखरजीले समर्थन गर्नुभयो भने आगामी निर्वाचनमा म उहाँलाई समर्थन गर्नेछु।’

ढिला पहल

मुरारकाले ढिला प्रयास गरेकोले सहमतिका लागि केही कठिनार्इ देखिएको छ। उम्मेदवारी दर्ताअघि मुरारकाले सहमतिको प्रयास गरेको भए सहज बन्ने अवस्था थियो।

उम्मेदवारी दिइसकेपछि सहमति गर्दा पदमा मिलाउन अप्ठेरो अवस्था परेको छ। प्यानल नै घोषणा गरेर उम्मेदवारी दिएकोले कुनै वरिष्ठ उपाध्यक्षले छोड्दा प्यानलमा रहेका अरु उम्मेदवार समेत कमजोर बन्छन्। आफ्नो प्यानलमा रहेका उम्मेदवारले सहमतिमा छोड्ने व्यक्तिलार्इ कहिल्यैपनि विश्वास नगर्ने अवस्था आउन सक्छ।

स्रोतका अनुसार उम्मेदवारीकै कारण दुबै समूहमा रहेका जिल्ला तथा नगर र वस्तुगतका उपाध्यक्षलार्इ सहमतिमा मिलाउन सजिलो छैन। वरिष्ठ उपाध्यक्षलार्इ सल्लाहाकार बनाएर मनोनित गर्न सकिएपनि अरु उपाध्यक्षलार्इ बाटोमा छोड्न सकिने अवस्था छैन।

तर स्वतन्त्र 'जुरी' बनाएर वरिष्ठ उपाध्यक्ष र अन्य दुर्इ उपाध्यक्षमा सहमति गर्न सकिने अवस्था भने रहने स्रोतले बतायो। स्वतन्त्र निर्णायक बनाएर दुवै उपाध्यक्ष राखेर छलफल गरेर टुंगोमा पुग्न सकिने अवस्था पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell