PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ललितपुरको उपमेयरमा गीता सत्याल निश्चित, भन्छिन् - 'महिलाले राजनीति गर्नु हुँदैन भन्नेलाई जवाफ दिन्छु'



उमेश पौडेल

ललितपुरको उपमेयरमा गीता सत्याल निश्चित, भन्छिन् - 'महिलाले राजनीति गर्नु हुँदैन भन्नेलाई जवाफ दिन्छु'

ललितपुर : ललितपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल विजयी हुने निश्चित भएकी छिन्। घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन्।

उनकी प्रतिस्पर्धी साझा पार्टीकी शोभा महर्जन हुन्। सत्याल र महर्जनबीच धेरै मतअन्तर भएपछि मतगणनास्थलमा नै उनलाई बधाई दिनेको ओइरो लागेको छ। मोबाइलमा र प्रत्यक्ष कुराकानीमा उनी ठट्टामा भन्दैथिइन् 'अहिले आधामात्रै बधाई थापेँ है, बाँकी घोषणा गरेपछिमात्र।'

मंगलबार मतगणनास्थल बाहिर भेटिएकी सत्यालले मन्द मुस्कानका साथ भनिन् 'घोषणा भएको छैन यति चाँडै अन्तरवार्ता दिनु र !'

हैन दिदी कुराकानीमात्र गर्न खोजेको अन्तरवार्ता तपाई उपमेयरको कुर्सिमा बसेपछि पछि लिन आउँला भनेपछि उनी कुरा गर्न राजी भइन्।


काभ्रेको खोपासीदेखी ललितपुरको उपमेयरसम्म

गीता सत्यालको माइति काभ्रे जिल्लाको खोपासीमा हो। पाँच दिदीबहिनी र चार दाजुभाइ मध्येकी माहिली छोरी। बुवाले भारतबाट वीपीको फोटो नेपाल ल्याउने क्रममा २०३२ सालमा तत्कालीन सरकारले महेन्द्रनगरमा पक्रिएर जेलमा राखेपछि उनका बुवा अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर नेपाली कंग्रेसको राजनीतिमा लागे।

उनैको प्रेरणाबाट गीताले २०४६* सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएकी थिइन्। पद्मकन्या क्याम्पसबाट राजनीति सुरु गरेकी उनले इकाइमा बसेर विद्यार्थी संगठनलाई अगाडि बढाएकी हुन्।

२०५१ सालमा उनको विवाह भयो। ललितपुरको नख्खिपोट १४ नम्बर वडामा बस्ने पुरुषोत्तम नेपालसँग विवाह भयो। श्रीमान र उनी दुवैले एमएसम्मको अध्ययन गरेका छन्। श्रीमान् सरकारी स्कूलमा शिक्षण पेशाबाट रिटायर्ड भएर निजी कलेजमा पढाउँछन् भने उनी पनि प्लस टुलाई पढाउने काम गर्छिन्। उनी स्टाफ नर्स पनि हुन्। 

उनले उज्याली महिला सहकारी संस्था पनि सञ्चालन गरेकी छिन् जहाँबाट उनले सशक्तिकरण गर्नका लागि विभिन्न वडाहरुमा तालिम पनि दिने गरेकी छिन्। महिलालाई सिप सिकाउने, तालिम दिने र आय आर्जन तथा बचतको काम सिकाउँछिन्।

सम्पदाको सहर बनाउँछु 

उनले परिवर्तन गर्ने समय आएको भन्दै अब ललितपुरलाई सम्पदाको सहरका रुपमा अगाडि लैजाने बताइन्। ऐतिहासिक महत्व रहेको यो सहरलाई थप व्यवस्थित गर्दै हरेक घरमा सांस्कृतिक कुरा झल्किने कुनै पनि सामाग्री वा घरको डिजाइनमा परिवर्तन गरी सम्पदा सहरका रुपमा विकास गर्ने बताइन्।

त्यस्तै प्रशासन र कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त पार्नका लागि काम गर्ने बताइन्। 

अन्यायका विरुद्ध काम गर्ने र महिला हिंसाको अन्यका लागि जति कठोर कदम चाल्नुपरे पनि निरन्तर काम गर्ने उनको योजना रहेको छ। बेरोजगार महिला दिदीबहिनीहरुलाई साक्षर वा अन्य कुनै पनि सिप विकासका कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि लैजाने उनको योजना रहेको छ।

परिवारसहित राजनीतिमा जान समस्या

उनले विगत सम्झँदै थपिन् 'एक त महिला, त्यहाँमाथि विवाह गरिसकेपछि राजनीति गर्न गाह्रो त भइहाल्छ नि।' परिवार र राजनीतिलाई सँगसँगै लैजानका लागि परिवारको साथ सबैभन्दा महत्वपूर्ण रहेको भन्दै उनले श्रीमान र अन्य परिवारका सदस्यलाई धन्यवाद समेत दिइन्। 
यो समाजले राम्रोसँग एनालाइसिस गरोस् कि एउटा महिलाले घर परिवार र समाजलाई चुनौति दिँदै राजनीतिमा लाग्न कति गाह्रो हुन्छ भनेर। राजनीतिमा लागेर धेरै बाधा अड्चन र चुनौतिहरु आइपरेको भन्दै अब त्यसलाई चिर्नका लागि सही स्थानमा पुगेको र त्यसलाई पूरा गर्ने बताइन्।

अब भोलिका दिनमा हिजो हामीले राजनीतिमा लाग्दै गर्दा भोगेका दिनजस्ता कुनै समस्या र व्यवधानहरु आइ नपरुन् र राजनीतिमा महिलाहरुको पनि उत्तिकै हक र क्षमता हुन्छ भनेर प्रमाणित गर्न आफू यो स्थानसम्म आइपुगेको उनले बताइन्।

हिजो महिलाहरुले राजनीति गर्दा नाक खुम्चाउनेहरुलाई नै जवाफ दिनका लागि उपमेयरमा उम्मेदवारी दिएको र त्यो भ्रमलाई चिर्न सक्षम हुने उनको विश्वास छ।

(*सच्याइएको : गीताले २०४६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएकी थिइन्, २०१६ भएकोमा सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell