PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

म सफल त हुन्छु नै : डाक्टर गोविन्द केसी



म सफल त हुन्छु नै : डाक्टर गोविन्द केसी

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : डाक्टर गोविन्द केसी अनसन बसेको त्रिवि शिक्षण अस्पताल पुग्दा उनका विद्यार्थीहरु उनी सुतिरहेको बेडको भित्तामा 'केसीका दश माग' लेखिएको फ्लेक्स टाँस्दै थिए।

फ्लेक्स टाँसेर बाहिरने क्रममा विद्यार्थीहरुले डाक्टर केसीको मागमा आफूहरुको समर्थन रहेको सुनाए। सुतिरहेका केसीले विद्यार्थीहरुलाई भने पढाई भए नभए बारे सोधे।

'क्लास ह्याम्पर नहोस्,' केसीले विद्यार्थीहरुलाई निर्देशन दिए।

'तपाईँको मागमा हाम्रो सपोर्ट छ,' विद्यार्थीहरुले डाक्टर केसीलाई भने, 'फर्दर के गर्ने भन्ने योजना बनाउँदै छौँ।'

टिचिङ अस्पतालमा डाक्टर केसी अनसन बसेको कोठा उनको आफ्नै कक्ष हो।

पहिलोपोस्ट पुग्दा उनले सुतेको बेडबाटै खाली कुर्सी देखाए।

तीन दिनदेखि अनसनमा बसेका केसीलाई भेट्न अहिलेसम्म कोही नेता, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारवादी र सरकारका प्रतिनिधि पुगेका छैनन्।

डाक्टर केसीको स्वास्थ्य रेजिडेन्ट डाक्टरहरुले नियमित चेक गरिराखेका छन्।

उनको छाती दुख्‍न थालेको छ।

'छाती दुख्छ, ब्लडप्रेसर घटेको छ, पिसाब हुन थालेको छ,' चिकित्सकका गुरुले आफ्नै स्वास्थ्यबारे सुनाए।

हेर्नुस् भिडियो:-  



'सफल त हुन्छु नै'

आफ्नो दश बुदेँ मागबारे कुराकानीमा डाक्टर केसी अविचलित देखिन्छन्। 'म सफल त हुन्छु नै,' दृढ देखिएका केसीले भने, 'जुन मुद्दा मैले उठाइरहेको छु यो त सरकारले गर्नुपर्ने काम हो। जनताले स्वच्छतापूर्वक र ज्यून पाउने, बाँच्न पाउने त हक हो नि।'

सरकारले सार्वजनिक संस्थानहरुलाई धरासायी बनाएको उनले बताए। मेडिकल कलेजहरु छोटो समयमै करोडौँ, अरबौँ कमाउने उद्योग बनेकोमा उनी चिन्तित देखिन्थे।

'सबै मिलेर गुणस्तरीय शिक्षाको विरोधमा लागेका छन्,'  केसीले भने, 'नेताहरु उपचार गर्न विदेशमा जान्छन्, गरिबले उपचार गर्ने अस्पताललाई छोटो समयमै करोडौँ, अर्बौँ कमाउने उद्योग बनाउन लागेका छन्।'


नीति नै नबन्दै सम्बन्धनको दबाब किन ?

डाक्टर केसीले पहिलोपोस्टसितको कुराकानीमा मेडिकल नीति नआइकन सरकारले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्दै आफूसँग गरेको सम्झौता सरकारले पालना नगरेको बताए।

'डाक्टर केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षा नीति निर्माण कार्यदलले प्रतिवेदन बुझाएको छैन, नीति बनेकै छैन तर सरकारले कसरी आइओएमलाई सम्बन्धन दिन भन्दै दबाब दिन सक्छ,' केसीले भने।

'यहाँ त आइओएमलाई बाइपास गरेर सिधै विश्वविद्यालबाट मेडिकल कलेजहरुमा सम्बन्धन दिने तयारी भइरहेको छ, प्रत्येक दुई हप्तामा किन सम्बन्धनको दबाद आउँछ ?' केसीले प्रश्न गरे, ' जबकि नीति बनेपछि मात्र सम्बन्धन दिने सहमति भएको थियो, यहाँ माफियाको चलखेल छ, विश्वविद्यालयमा पनि उनीहरुले भर्ती गरेका मतियारहरु छन्।'

उनले अहिलेको आफ्नो अनशन संवैधानिक अंगका पदाधिकारी, अदालतदेखि सबै विरुद्ध लड्नुपर्ने अवस्थामा रहेको बताए।

नेताहरुले राजनीतिक दलले उद्योग खोल्न लागेको आरोप लगाए। 'आईओएम पनि डुबाउन खोजियो, कसैलाई मतलब छैन, राजनीति गर्ने दलका नेताहरु चप्पलपतिबाट करोडपति भएका छन्,'  केसी केही आक्रोशित देखिए, 'संविधान बनाउन नसक्ने सभासद्हर संसदबाट उद्योग खोल्न अनुमति दिइरहेका छन्।'


'मेरो कर्मभूमि यही हो'


अनशन अस्पतालमा भन्दा बाहिर कतै बसेको भए हुने थियो भन्ने पत्रकारको प्रश्नमा केसीले आफ्नो कर्मभूमि नै अस्पताल भएको बताए।

'मेरो कर्मभूमि नै यही हो, मेरो बस्ने कुर्सी यहीँ छ, मैले भनेको छु मेरो अनशनले अस्पतालको कुनै सेवामा असर पर्न हुन्न, पठन पाठनमा अवरोध हुन हुँदैन,' केसीले भने। 












@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell