PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​महरा र सिटौला भन्छन् – सैनिक मञ्चमा कार्यक्रम गर्ने कुरै भएको थिएन



​महरा र सिटौला भन्छन् – सैनिक मञ्चमा कार्यक्रम गर्ने कुरै भएको थिएन

काठमाडौं : काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा कार्यक्रम गर्न माओवादीले कहिले पनि अनुमति नमागेको तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले बताएका छन्।

‘माओवादीले कहिले पनि कार्यक्रम गर्न सैनिक मञ्च मागेन’, सिटौलाले पहिलोपोस्टसँग कुरा गर्दै भने,  ‘त्यस्तो कुनै कुरै भएको छैन।'

सैनिक मञ्चमा कार्यक्रम गर्न माओवादीलाई अनुमति दिएकोबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग असन्तुष्टि जनाएको रुक्माङ्गद कटवालले हालै प्रकाशित आत्मकथामा उल्लेख गरेपनि एमाओवादी महासचिव महराले सैनिक मञ्चमा कार्यक्रम गर्न माओवादीले कहिल्यै पहल नगरेको बताए।

‘हामीले सैनिक मञ्चमा कार्यक्रम गर्ने सोच कहिल्यै बनाएनौँ'’, पहिलोपटक माओवादीले २०६३ जेठ १९ गते काठमाडौंमा गरेको आमसभा सम्झँदै महराले भने, ‘म त्यो कार्यक्रमको प्रमुख वक्ता थिएँ। त्यतिबेला जनसागर ठूलो भएर सैनिक मञ्चमा प्रवेश गर्‍यो। हाम्रा स्वयंसेवक र कार्यकर्ताले व्यवस्थापन मिलाए।‘

‘२०६३ फागुन १ गते प्रचण्ड उपस्थित खुलामञ्चको कार्यक्रम गर्न महानगरपालिकासँग हामीले धेरैदिन अघि नै अनुमति लिएका थियौँ'’, महराले भने, ‘सैनिक मञ्चमा कार्यक्रम गर्ने हाम्रो कुनै योजना थिएन।‘

आत्मकथामा गिरिजाप्रसाद कोइरालासँग कटवालले सैनिक मञ्चमा कार्यक्रम गर्न अनुमति दिएपछि आपत्ति जनाएको प्रसंग स्मरण गराउँदा सिटौलाले आश्चर्य प्रकट गर्दै भने, ‘त्यस्तो त कुरै भएको छैन।‘

सोमबार ‘जनरल रुक्माङ्गद् कटवाल’ फेसबुक पेजमार्फत् आफू प्रधानसेनापति भैसकेपछि माओवादीले सैनिक मञ्चमा आमसभा गर्न खोज्दा रोकेको घटनालाई ‘सामाजिक सञ्जालमा २०६३ जेठ १९ को घटना’ भनेर प्रचार भैरहेको उल्लेख गरेका छन्।

तर कटवालले ‘माओवादी निशानामा सेना’ (पृष्ठ ४१९, एघारौं खण्ड) शीर्षकको लेखको पहिलो वाक्यमा नै लेखेका छन्- ‘माओवादी काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा।‘ काठमाडौंमा माओवादीले पहिलो आमसभा २०६३ जेठ १९ मा गरेको थियो।


माओवादीले २०६३ जेठ १९ गते काठमाडौँमा पहिलो आमसभा गर्नुअघि प्रचारका लागि गरिएको पम्प्लेटिङको तस्बिर।

हेर्नुहोस् पुस्तक अंशः
 

माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ। प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ। प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र!

शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण व्यवहार कायमै थियो। सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ। यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो।

हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ। ‘प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ?’ मैले भनें। ‘मैले चिफसापको कुरा बुझिनँ’, उहाँले मसिनो स्वरमा भन्नुभयो। ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दलविशेषको आमसभा भएको छ?’ म झोक्किएँ।

उहाँले बुझिहाल्नुभयो। ‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो। ‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आफ्नो निर्णय सुनाइदिएँ।

‘शान्ति र संविधानको कुरा छ। राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नुहुँदैन’, उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सफ्ट भइदिनुपर्छ।’ ‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’ ‘ल त ल, आर्मीको नियम अनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो। 




फेसबुकमा लेखिएको छ, ‘यो त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो।‘ 

सोही कार्यक्रममा ‘माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै ‘को हो त्यो कटवाल भनेको?’भन्ने पुस्तकमा उल्लेख छ। तर प्रचण्डले माओवादीको आमसभामा नभई २०६४ पुस ३० गते संविधान सभा निर्वाचनको वातावरण बनाउन आयोजित  सात दलको आमसभामा यसो भनेका थिए। सुन्नुस् अडियो -


प्रचण्ड उपस्थित भएको माओवादीको काठमाडौँमा भएको आमसभा २०६३ फागुन १ गते जनयुद्ध दिवसमा भएको थियो।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell