PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बागलुङमा निःशुल्क सीम बाँड्दै टेलिकम



रासस

बागलुङ : नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ। यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो। दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ।

आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए। ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर ५० रुपैयाँ ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन्।

‘बजार प्रवर्द्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’ कार्यालय प्रमुख शर्माले भने।

मेला हेर्न आएको बेला अघिपछि एक सय पर्ने सीमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहाक खुसी छन्। बागलुङ नगरपालिका– १२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहाकको मन जित्ने काम गरेको प्रतिक्रिया दिए। उनले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गरे।

सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन्। मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिए। टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको छ।

जिल्लाको तमानलगायतका ठाउँमा निःशुल्क सीमकार्ड वितरणको ‘क्याम्प’ राख्ने तयारी भएको टेलिकम कार्यालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell