PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिआइपीको सुरक्षाका लागि अमेरिकाबाट ल्याइयो विशेष तालिमप्राप्त कुकुर



सविन ढकाल

भिआइपीको सुरक्षाका लागि अमेरिकाबाट ल्याइयो विशेष तालिमप्राप्त कुकुर
बेल्जियन सेफर्ड कुकुर।

काठमाडौः नेपाल प्रहरीले विशिष्ट व्यक्ति (भिआइपी)को सुरक्षाका लागि अमेरिकाबाट विशेष तालिमप्राप्त कुकुर ल्याएको छ। 

अमेरिकी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बेल्जियम सेफर्डका दुई वटा र डच सेफर्ड प्रजातिको दुई वटा कुकुर दिएको हो।
यी कुकुर गएको फागुन ७ गते नेपाल आइसकेका छन्।   

बेल्जियम सेफर्डका प्रजातिको कुकुर नेपालमा नै पहिलो पटक ल्याइएको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी डा. प्रमोदराज भट्टले बताए। 

उनले भने, 'यो विशेष प्रजातिको कुकुर हो। यसलाई विस्फोटक पदार्थ विस्फोटन हुन अगाडि र पछाडिको अवस्था प्रयोग गर्न सकिन्छ ।' 
केही समय अगाडि फ्रान्समा आतङ्ककारी हमला हुँदा यही प्रजातिको कुकुर अनुसन्धानका लागि प्रयोग गरिएको थियो। 

नेपाल प्रहरीले पाएको बेल्जियम सेफर्ड भाले कुकुरको नाम क्लिफ र पोथीको नाम सोल रहेको छ। बाँकी दुई कुकुर सशस्त्र प्रहरीले पाएको छ। 
अहिले नेपाल प्रहरीसँग ट्रयाकर डग, लागू औषध पत्ता लगाउने,  विस्फोटक तथा हातहतियार पत्ता लगाउने,  गस्ती,  सुरक्षा,  खोजी एवम् उद्दार गरी  विभिन्न ६ विधामा काम गर्ने कुकुरहरु रहेका छन्। 

नेपाल प्रहरीसँग देशभर ७१ वटा तालिमप्राप्त कुकुर छन्। ती मध्ये काठमाडौँको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा ४१ वटा छन्। 
सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छन्। 

डच सेफर्ड कुकुर। 

त्यस्तै ११ वटा ल्याब्राडोर जातका कुकुर हातहतियार र लागू औषध पत्ता लगाउन मात्र प्रयोग हुन्छन्। प्रहरीसँग दुई वटा ककर स्पानियल जातका कुकुर पनि छन्। 

एक वर्षभित्र प्रहरीसँग भएको तथ्याङ्क हेर्ने हो भने लागू औषध र विस्फोटक पदार्थ छानबिनको लागि झन्डै १ सय ६० प्रतिशतले तालिमप्राप्त कुकरको माग बढेको छ। 
डिएसपी भट्ट भन्छन्, 'अहिले धेरै घटनामा प्रहरीलाई भन्दा पनि तालिमप्राप्त कुकुरलाई नै विश्वास गर्ने गरिन्छ।' 

चार दिनसम्म पुरानो घटनाको अनुसन्धान गर्ने कुकुर आउँदै 

नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्ने कुकुर ल्याउने तयारी पूरा भएको छ। 
अहिले नेपाल प्रहरीसँग भएका कुकुरले २४ घण्टाभित्र भएका घटनाको मात्र अनुसन्धान गर्छ। 

अमेरिकाबाट ल्याउन लागेको ब्लड हाउन्ड कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्ने डिएसपी भट्टले बताए। 

ब्लडहाउन्ड कुकुर। 

उनले भने, 'यो कुकुर आएपछि नेपाल नै दक्षिण एसियामा पहिलो प्रहरी संगठन हुन्छ, जहाँ एकदम तीक्ष्ण र सुँघ्ने क्षमता बढी भएको  कुकुरबाट अनुसन्धान हुन्छ।' 

नेपाल प्रहरीले कुकुर खरिद प्रकृया अगाडि बढाइसकेको र गृह मन्त्रालयले स्वीकृति दिएको केही दिनमा नै कुकुर आउने उनले बताए। (कुकुरका फोटोहरु : पिक्साबे)

सम्बन्धित समाचार 
अनुसन्धानमा कुकुर : 'प्रहरीलाई भन्दा बढी विश्वास कुकुरलाई'
काठमाडौँमै किन्न पाइन्छ डेढ लाख रुपैयाँ पर्ने कुकुर
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell