भारतीय कमेडी स्टार कपिल शर्मालाई ठूलै दशा लागेको जस्तो देखिएको छ। मेलबर्नबाट मुम्बई फर्कँदै गर्दा फ्लाइटमा आफ्ना सहकलाकार सुनील ग्रोभरसँग भएको भनिएको दुर्व्यवहारपछि सबै कुरा उनी अनुकूल हुन सकिरहेको छैन।
कपिलले ध्यान मोड्न आफ्नी पत्नी गिन्नी चतरथलाई इन्ट्रोड्युस गरे। त्यसले काम नगरेपछि फेसबुकमा सुनीलसितको आफ्नो झगडा फेमिली म्याटर भएको बताए। ट्विटरमा पनि उनले सुनीलसँग माफी मागे तर त्यसको जवाफ जनावरलाई मात्र हैन मान्छेको पनि सम्मान गर्न सिक भन्ने आयो।
सुनीलसँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिलको शो छाडे। नवजोत सिंह सिद्धुले पनि राजनीतिक कारणले शो छाड्दै छन्।
कपिलसित बाँकी भएको एक मात्र साथी कीकु शारदा थिए। तर सुनीलले डा मसहुर गुलाटी क्लिनिकका रुपमा अर्को शोको घोषणा गर्दा त्यसमा कीकु शारदा पनि रहेको बताइएको छ।
यसैबीच सोनी च्यानलनजिकको सूत्रलाई उद्धृत गर्दै समाचार एजेन्सी डिएनएले कपिलसित च्यानलको कन्ट्रयाक्ट अप्रिल महिनामा समाप्त हुने बताएको छ। कन्ट्रयाक्ट रिन्युका लागि सोनीले कपिललाई १०७ करोड रुपैयाँ दिन लागेको थियो। तर अब त्यो सम्भावना टर्दैछ।
कपिल र सुनीलको झगडापछि शोको टिआरपी अझै घट्न सक्ने डर च्यानललाई भएको छ। बलिउड स्टारहरुले समेत शोमा आउन नमानेपछि निर्माताहरु के गर्ने के नगर्ने भइरहेका छन्।
